इमान्दार संवाददाता
५५ पटक

वासिंटन । अमेरिकी विमान निर्माता कम्पनी बोइङले आफ्ना ७३७ म्याक्स मोडलका सम्पूर्ण विमान उडाउन रोक लगाएको छ । अर्को निर्णय नभएसम्म ती मोडलका सबै विमान नउडाउन उसले वायुसेवा कम्पनीहरुलाई निर्देशन दिएको हो ।

अमेरिकी उड्डयन नियामक निकायले इथियोपियामा उक्त मोडलको विमान दुर्घटनासम्बन्धी नयाँ तथ्य प्राप्त गरेपछि यस्तो निर्णय गरिएको निर्माण कम्पनीको भनाइ छ । करिब ६ महिना अघि लायन एयरको सोही मोडलको विमान दुर्घटना भएको थियो । ६ महिनाकै अन्तरालमा एउटै मोडलका विमान उस्तै प्रकृतिबाट दुर्घटना भएपछि उक्त मोडलमा सुरक्षासम्बन्धी त्रुटी रहेको आशंका उब्जिएको थियो ।

यसअघि अमेरिकी संघीय उड्डयन प्रशासनले भने उक्त मोडलको विमान उडानमा रोक लगाउनुपर्ने कुनै भरपर्दो कारण नरहेको बताउँदै आएको थियो ।

बोइङ कम्पनीका अधिकारीहरुका अनुसार दुर्घटना स्थलको प्रारम्भिक अनुसन्धान र भूउपग्रहबाट संकलित विवरणका आधारमा पछिल्लो निर्णय लिइएको हो । अनुसन्धानका क्रममा प्राप्त केही प्रमाण इथियोपियन एयरलाइन्स र लायन एयरको विमान दुर्घटनामा साझा समस्याका रुपमा पाइएको कम्पनीले जनाएको छ ।

हाल विश्वमा उक्त मोडलका ३७१ विमान विभिन्न वायुसेवा कम्पनीमा सञ्चालित छन् । पछिल्ला दिनमा विभिन्न मुलुकले ती मोडलका विमान उडानमा रोक लगाएका थिए ।

यस्तै भारतले ‘बोइङ ७३७ म्याक्स’लाई बुधबारदेखि लागू हुनेगरी आफ्नो हवाई क्षेत्रमा प्रवेश गरी अर्को देशमा जान रोक लगाएको छ । भारत सरकारले गरेको नयाँ निर्णयले कुनैपनि बोइङ ७३७ म्याक्सलाई आफ्नो देशभित्र उडान गर्ने र भारतीय हवाईमार्ग भएर उडान भर्न प्रतिबन्ध लगाएको हो ।

हालै इथियोपियामा बोइङ ७३७ म्याक्स दुर्घना भएपछि भारतले यो विमान सुरक्षित नभएको भन्दै यस्तो निर्णय गरेको हो । सो दुर्घटनामा चालकदलका सदस्यसहित विमानमा सवार सबै १५७ जनाको मृत्यु भएको थियो । यसअघि, बेलायत र चीनलगायत ८ राष्ट्रले पनि बोइङ ७३७ म्याक्सलाई आफ्नो देश भएर उडान भर्न रोक लगाइसकेका छन् ।

२०७५ फागुन ३० गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड