इमान्दार संवाददाता
११३ पटक

काठमाडौँ । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त बलात्कार तथा हत्या प्रकरणले नयाँ मोड लिएको छ । आमा दुर्गादेवीले यसअघि प्रमाण नपुगेर छुटेका दिलिपसिंह बिस्टलाई फेरि पक्राउ गर्न आग्रह गरेकी छन् । विष्टले नै आफ्नी छोरीको हत्या गरेको दुर्गादेवीको शंका छ ।

न्यायनिसाफका लागि प्रहरीसँग मुठभेडसमेत गर्दै र आन्दोलनमा दर्बिलो साथ दिँदै आएका स्थानीय मानवअधिकारकर्मीहरुको समेत दूर्गादेवीले आलोचना गर्न थालेकी छिन् । साथै, अनुसन्धानमा लापरवाही गरेको आरोप लागेका एसपी डिल्लीराज विष्टको पक्षमा दूर्गादेवी उभिएकी छिन् ।

सुरुवातमा उनले विष्ट निर्दोष रहेको बताउने गरेकी थिइन् । तर, विष्टले हिरासतमा परेका बेला प्रहरीलाई दिएको साविति वयानको भिडियो हेरेपछि आफू यस्तो निष्कर्षमा पुगेको दूर्गादेवीको तर्क छ ।

उनले बयानको भिडियो आफूलाई कसैले नदेखाएको र केही दिन अगाडि मात्रै भिडियो हेरेको बताएकी छन् । साथै, उनले भिडियोमा विष्टले बताएका घटना विवरण सबै सत्य रहेको दाबी गरेकी छन् । दुर्गादेवी विष्टका विरुद्ध किटानी जाहेरी दिने सोचमा उनी पुगेकी छन् ।

‘दिलिपसिंह बिष्टले प्रहरीसँग अपराध स्वीकारेको सुनेकी थिएँ, तर प्रहरीले दबाव दिएर कबुल गर्न लगायो होला भन्ने लागेको थियो,’ निर्मलाकी आमा दुर्गादेवीले भनिन्, ‘वयानको भिडियो मलाई कसैले देखाएका थिएनन् । केही दिन अगाडि मात्रै भिडियो हेरेँ । भिडियोमा उसले बताएका घटना विवरण सबै सत्य छन् । कसैले सिकाएर वा धम्क्याएर बोल्न लगाएको जस्तो पटक्कै लागेन । उसैले मेरी छोरीको हत्या गरेको जस्तो लाग्न थाल्यो ।’

यसअघि दुर्गादेवीले ८ प्रहरीमाथि जिल्ला अदालतमा दायर भएको मुद्दा बदर गर्न निवेदनसमेत दिइसकेकी छन् । दुर्गाको निवेदनपछि जिल्ला अदालत कञ्चनपुरले निर्मलाको बलात्कारपछि हत्याको घटनामा प्रमाण नष्ट गरेको तथा निर्दोषलाई यातना दिएको अभियोग लागेका ६ जना प्रहरीलाई धरौटीमा छाड्न आदेश दिएको छ ।

न्यायाधीश राजेन्द्रकुमार आचार्यको इजलासले बिहीबार यो आदेश दिएको हो । अदालतका श्रेस्तेदार हरिकृष्ण अवस्थीका अनुसार प्रहरी नायब उपरीक्षक (डीएसपी) ज्ञानबहादुर सेठी, प्रहरी निरीक्षक एकेन्द्र खड्कालाई प्रमाण नष्टमा ५ र यातनामा ४ लाख गरी ९ लाख धरौटी मागिएको छ ।

यस्तै, प्रहरी निरीक्षक जगदीश भट्टलाई ४ लाख, सई हरिसिंह धामीलाई ३ लाख ५० हजार, अर्का सई रामसिंह धामीलाई ३ लाख र प्रहरी जवान चाँदनी साउदलाई २ लाख ५० हजार धरौटी माग गरिएको छ ।

निर्मलाकी आमा दूर्गादेवी र अनुसन्धानका क्रममा पक्राउ परेका दिलिपसिंहका दाजु खड्ग विष्टले दिएको जाहेरीका आधारमा कञ्चनपुरकी तत्कालीन एसपी डिल्लीराज विष्टसहित ८ प्रहरीविरुद्ध मुद्दा दायर भएको थियो । तर, विष्ट र डीएसपी अंगुर जिसी फरार छन् भने ६ जना पक्राउ परेका थिए ।

घटनाको अनुसन्धानमा प्रहरीले लापरवाही गर्नुको साथै प्रमाण नष्ट गरेको सरकारी छानबिन समितिले औंल्याइएको थियो । साथै घटनामा संलग्न भएको आशंकामा पक्राउ परेकाहरुलाई यतना दिएर अपराध स्वीकार गर्न दबाव दिएका थिए ।

प्रहरीले निर्मलाको बलात्कार र हत्याको एक मात्र अभियुक्त रहेको भन्दै भदौ ४ गते पत्रकार सम्मेलन गरी दिलिपसिंह विष्टलाई सार्वजनिक गरेको थियो । प्रहरीसँग वयानमा विष्टले अपराध कबुल पनि गरेका थिए । तर, कञ्चनपुरका स्थानीयवासी र मानवअधिकारकर्मीहरुले तीव्र विरोध गरे । सोझो व्यक्तिलाई फसाएर वास्तविक अपराधीलाई जोगाउन खोजिएको आरोप प्रहरीमाथि लाग्यो ।

साथै विष्टको मानसिक स्वास्थ्यको विषयमा पनि प्रश्न उठेपछि सरकारी वकिलको कार्यालयले स्वास्थ्य जाँच र डीएनए परीक्षणका लागि काठमाडौं पठायो । परीक्षणमा उनको स्वास्थ्य सामान्य देखिएको थियो । तर, बिष्टको डीएनए रिपोर्ट निर्मलाको भजाइनल स्वाबमा रहेको डीएनएसँग मिलेन । त्यसपछि अदालतको आदेशमा विष्टलाई प्रहरीले रिहा गर्न बाध्य भयो ।

विष्टको डीएनए नमिलेको अवस्थामा उनलाई कसरी दोषी भन्न मिल्छ भन्ने प्रश्न गर्दा निर्मला पन्तकी आमा दुर्गादेवी भन्छिन्, ‘किन मिलेन, मलाई थाहा हुने कुरा भएन । तर, डीएनए मिलेन भन्दैमा साविति वयान नै दिइसकेको व्यक्तिलाई निर्दोष ठहर गर्नु हुन्थेन । डीएनए परीक्षणमा केही गडबडी भएको पनि त हुन सक्छ ।’

गत साउन १० गते साथीको घरमा जान्छु भनेर हिँडेकी निर्मला भोलिपल्ट ११ गते नजिकैको उखुबारीमा बलात्कार गरि हत्या गरिएको अवस्थमा भेटिएकी थिइन् । घटना भएको ८ महिना हुँदा पनि हत्यारा र बलात्कारी पक्राउ पर्न सकेको छैन ।

२०७५ फागुन ३० गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड