इमान्दार संवाददाता
१८७ पटक

काठमाडौं  । नेपाल बन्दको दिन देशभर बम बिस्फोटका घटना बढेका छन् । बिहान ठप्प रहेको काठमाडौंमा दिउसो भने बन्दको आंशिक प्रभाव परेको छ । उपत्यकाबाहिरका जिल्लाहरुमा भने बन्दको पूर्ण प्रभाव परेको छ ।  बन्दका क्रममा विभिन्न स्थानमा बम फेला परेका छन्।

यसैबीच नवलपुरको सदरमुकाम कावासोतिमा ठूलो आवाजमा बिस्फोट भएको छ । जिल्ला प्रहरी कार्यालय वासोतिको ठिक अगाडि करिब साढे ११ बजेतिर समयमा बिस्फोट भएको हो । बिस्फोट निकै ठूलो आवाजमा भएको थियो । यद्धपि बम हो या होइन भन्ने विषयमा अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ ।

बिस्फोटपछि बारुदको गन्ध आएकाले सकेट बम हुन सक्ने अनुमान गरिएको प्रहरी नायब उपरीक्षक लिलाराज लामिछानेले बताए । बिस्फोट पछि सुरक्षा सतर्कता थप बलियो बनाईएको छ । बिस्फोटबाट मानबिय तथा भौतिक क्षति भने भएको छैन बिस्फोट भएको स्थानदेखी जिल्ला प्रहरी कार्यलय नवलपुर करिब १०० मिटरको दुरिमा पर्छ ।

उता प्रहरीका अनुसार पोखराका दुई स्थानमा फेला परेको बम नेपाली सेनाले निस्कृय पारेको छ। पोखराको सभागृह चोकमा भेटिएको बम सेनाले निस्कृय पारेको कास्की प्रहरी प्रमुख ओम रानाले बताए। पोखराकै लेखनाथ भण्डारी रंगशाला नजिकै भेटिएको सकेट बम सेनाले निस्कृय पारेको उनले बताए।

गोरखा नगरपालिका–६ भिआइपी टोलमा भेटिएको प्रेसर कुकर बम सेनाले निस्कृय पारेको गोरखा प्रहरीले जनाएको छ। त्यस्तै उता, हेटौडाको औद्योगिक क्षेत्रको मूलगेटमा शंकास्पद वस्तु फेला परेको छ। ३ नम्बर प्रदेश प्रहरी प्रमुख दीपककुमार थापाका अनुसार त्यो शंकास्पद वस्तु डिस्पोज गर्न सेनालाई खबर गरिएको छ।

यसैबीच, मकवानपुर र नवलपरासीमा दुईवटा मागबाहक ट्रकमा तोडफोड भएको छ । विप्लव समूहका कार्यकर्ताले गुडिरहेको ट्रकमा ढुंगा प्रहार गरेका हुन् । मकवानपुरकै थाहा नगरपालिकास्थित शिखरकोट बजारदेखि ४ किलोमिटर उत्तरतर्फ त्रिभुवन राजपथमा ट्रकमा आगजनी भएको छ ।

खुकुरी र बञ्चरोसहित कम्ब्याट पोशाकमा आएका ४–५ जनाले ना ५ ख ७४११ नम्बर ट्रकमा आगजनी गरेको ट्रकका चालकले बताएका छन् । मध्यरातीतिर हेटौंडातर्फ जाँदै गर्दा ४–५ जनाले गाडी रोकेर पेट्रोल छर्केर आगो लगाएका चाललको बताएका छन् । अगजनीबाट ट्रकको इन्जिन र अगाडिको भागमा क्षति पुगेको छ ।

त्यस्तै काठमाडौंसहित रुपन्देही, रौतहट, दाङ, गोरखाका विभिन्न स्थानमा बम फेला परेको प्रहरीले जनाएको छ ।शंकास्पद वस्तु फेला पर्नासाथै प्रहरीले घटनास्थलको घेराबन्दी गर्दै सेनाको बम डिस्पोजल टोली खटिएको छ ।

प्युठानमा नगरपालिका अगाडि बम बिहिबार नै प्युठानको स्वर्गद्वारी नगरपालिकाको कार्यालय अगाडि खतरा लेखेर कागज र प्लास्टिकले बेरेको अवस्थामा बम भेटिएको छ । उक्त बस्तु सर्वसाधरणले देखेपछि प्रहरीलाई खवर गरेका थिए ।

गोरखा बजार क्षेत्रको भिआईपी टोल र १२ किलो भन्ने स्थानमा शक्तिशाली प्रेरकुकर बम फेला परेको छ । फेला परेको बम नेपाली सेनाको टोलीले निष्कृय पारेको छ । सामान्य भएको भन्दै प्रहरीले बम जंगलमा फालिदिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक भोलाबहादुर रावलले दिएको जानकारी दिए ।

उता बाजुरा जिल्लाका दुई स्थानमा शंकास्पद वस्तु फेला परेका छन् । साफे मार्तडी सडकखण्ड अन्तरगत बुढीगंगा नगरपालिका १० मा पर्ने डाब बजार र बल्देमा शंकास्पद वस्तु भेटिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

यसैगरी रुकुम पूर्वको जिल्ला अदालत अगाडि शंकास्पद वस्तु फेला परेको छ । अदालतको २०० मिटर अगाडि पोलिथिनमा पोको पारेको अवस्थामा उक्त शंकास्पद वस्तु फेला परेको प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले जानकारी दिए ।

काठमाडौँको घट्टेकुलो नजिकै कालो झोलामा शंकास्पद बस्तु फेला परेको छ । घटनाको जानकारीलगत्तै नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलमा पुगेर हटाएको छ । बुधबार साँझ घट्टेकुलो नजिकै शंकास्पद बस्तु फेला परेको महानगरीय प्रहरी बृत्त सिंहदरबारका डीएसपी काजीकुमार आचार्यले जानकारी दिए ।

उच्च सुरक्षा सतर्कता : यता, सरकारले  नेकपाको गतिविधिमाथि प्रतिबन्ध लगाएसँगै प्रदेशभर उच्च सुरक्षा सतर्कता बढाएको जनाएको छ । सरकारले हतियार बोकेर हिँडेको फेला पारे गोली हान्न समेत सुरक्षा निकायलाई निर्देशन दिएको बताइएको छ । गृहमन्त्रालले आन्तरिक सर्कुलर तथा सुचना जारी गर्दै ‘हतियारसहित फेला परे तत्काल फायर खोल्नू’ निर्देशन दिएको छ ।

सुचनामा सुरक्षाकर्मीलाई आफ्नो ज्यान, हतियार, कार्यालय, युनिटको सुरक्षा रणनीतिसहित सतर्क रहन पनि भनिएको छ । बन्द अबज्ञा नगर्न र ओली सरकारको ज्यादतीबिरुद्ध लडिरहेको आफ्नो पार्टीलाई साथ दिन नेकपाले सबैलाई अनुरोध गरेको छ । बन्द अवधिमा देशभरको अवस्था र घटेका सबै घटनाको जानकारी दिन हामी निरन्तर अपडेटमा छौं ।

२०७५ फागुन ३० गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड