इमान्दार संवाददाता
४८ पटक

जुम्ला । निरन्तरको हिमपातका कारण जुम्लामा ५ दर्जन बढी भेडाबाख्रा मरेका छन् । निरन्तरको हिमपातले अत्यधिक चिसो बढेपछि जिल्लाको सिंजा गाउँपालिकाको पाटनमा ५१ बढी  भेडा बाख्रा मरेका हुन् ।

चिसोले कठ्यारिएर सिँजा गाउपालिका २ का गोबिचन्द्र तिरूवाका ५१ वटा भेडा मरेका हुन् । घोडिङ्गा पशु ब्यवसायिक, हिमाली भेडापालन ब्यवसायिक आयोजनाको सहयोगमा तिरूवाले भेडा पालन व्यवसाय गदर्दै आएका थिए ।

जम्मा १३५ भेडामध्ये अत्याधिक हिमपातका कारणले ५१ भेडाहरु मरेको व्यवसायी तिरूवाले दुखेसो पोखे । दशकौँ पछि परेको यस्तो भारी हिमपातले आफ्नो रोजिरोटी नै खोसिएको पिडा तिरुवाले सुनाए । ‘एक्कासी भेडा मरेपछि एक छाक टार्न समस्या हुने स्थिति उत्पन्न भएको छ’, उनले भने, अब मरेका भेडा गाउँ ल्याउन समेत हप्तौ लाग्ने भयो ।’

जुम्लाका उच्च भागहरूमा पाँच फिट हिउँ जमेको छ । मरेका ५१ मध्य १० वटाको बिमा गरेको उनले जानकारी दिए । चालू आर्थिक बर्षमा सिञ्जामा चिसोले कम्तिमा ५० लाख जतिको क्षती पुर्याएको पशु बिज्ञ मित्रलाल धितालको अनुमान छ ।

निरन्तरको हिमपातले स्थानीयको दैनिकी कष्टकर बनाउनुका साथै आर्थिक रूपले पनि धेरै क्षति भएको उनको भनाई छ । यो वर्ष सिँजा मात्रै नभएर समग्र जुम्लाका भेडा पालक कृषक र पशु पालक कृषक निकै प्रभावित भएका छन् ।

हिमापत्कै कारण विद्यार्थीको पठनपाठन पनि प्रभावित भएको छ भने हवाईसेवा अवरुद्ध भएको छ । हवाईसेवा अवरुद्ध हुँदा खाद्यान्न तथा दैनिक उपभोग्य सामानको अभाव भएको छ । खासगरी पश्चिमी वायुको न्यून चापीय प्रभावले नेपालको मौसममा आएको परिवर्तनका कारण मुलुकभर वर्षा र हिमपात भएको हो ।

यसैबीच यस वर्षको प्रि-मनसुन सुरु भएको छ । मार्च, अप्रिल र मेसम्म तीन महिना प्रि-मनसुन चल्ने भएकाले देशका पहाडी क्षेत्रको मौसम लगातार प्रभावित भइरहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसमविद् सुवास रिमालले प्रि-मनसुन सुरु भइसकेकाले देशका पहाडी भेगको मौसम प्रभावित बनिरहने बताए । प्रि-मनसुनको प्रवृत्ति दिनमा घाम लाग्ने र अपराहृन तथा साँझ फाट्टफुट्ट वर्षा हुने उनको भनाइ छ । पहाडी भेगमा प्रि-मनसुनको प्रभाव देखिए पनि अन्य भूभागमा भने त्यसको असर पर्ने छैन ।

२०७५ फागुन २१ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड