इमान्दार संवाददाता
३५२ पटक

काठमाडौं । ताप्लेजुङको सिस्नेभीरमा भएको हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको शवलाई हेलिकोप्टरमार्फत काठमाडौं ल्याइसक्दा पनि केही सैनिकहरु सिस्नेभीरमै थिए ।

बुधबार दिउँसो भएको दुर्घटनामा ज्यान गुमाएका ४ जनाको शव सेनाका काबिल उद्धारकर्ताहरुले डोरीको सहायतामा विमानस्थलसम्म ल्याएका थिए । तर, खराब मौसमका कारण थप ३ जनाको शव ल्याउन अर्को दिन नै कुर्नुपर्‍यो ।

घटना भएको दिन साँझ सैनिक जवान र प्रहरी अधिकारी रातभर शव रुँगेरै बसे । बिहान सबैको शव विमानस्थलसम्म ल्याउने वित्तिकै प्रहरी अधिकारीहरु आ–आफ्नो कार्यक्षेत्रतिर लागे । घटनामा ज्यान गुमाएका अधिकांशको शुक्रबार अन्त्येष्टि पनि भइसक्यो ।तर, नेपाली सेनाको

एउटा टोली भने अहिले पनि घटनास्थल वरपर नै घुमेर बसेको छ । आखिर किन त ?सैनिक जवानहरु मन्त्री अधिकारीका अंगरक्षक अर्जुन घिमिरेको साथमा भएको पेस्तोलको खोजीमा छन् ।

हेलिकोप्टरमा केही कागजपत्र पनि भएको बताइएको छ, जुन बाहिर उछिट्टिएको र पूर्णरुपमा नजलेको हुन सक्ने भन्दै सेनाले खोजिरहेको स्रोतको भनाइ छ ।सैनिक उद्धार टोलीका एक अधिकारीका अनुसार अहिले बाक्लो हिमपात भएका कारण पेस्तोलको खोजी सफल भएको छैन ।

‘प्रहरीहरु घटनास्थलबाट गइसकेपछि पनि हामी केही समय बसेका थियौं’, ती सैनिक अधिकारीले भने, ‘तर, एक फिटभन्दा बढी हिउँ परेपछि अहिले फर्किएका छौं । यद्यपि, फेरि जान्छौं ।’

ती अधिकारीहरुका अनुसार दुर्घटनास्थल वरपर यो वर्ष सिजनकै सबैभन्दा बढी हिमपात भएको हो । यही कारणले पेस्तोल फेला पर्न नसकेको सेनाको अनुमान छ ।

जिल्लाको फुङलिङबाट करिब डेढ घन्टा गाडीको यात्राबाट काफ्ले पार्टी भन्ने ठाउँसम्म पुगिन्छ । त्यहाँबाट करिब साढे ३ घन्टा हिँडेपछि दुर्घटनास्थलमा पुगिने उद्धारकर्ताहरुले जनाएका छन् ।

स्तब्ध आफन्त र शुभचिन्तक । रवीन्द्रका बुबा ईन्द्र र आमा लक्ष्मी अधिकारी बिहीबार काठमाडौंबाट फर्किए । उनीहरु फर्किएसँगै आफैंमा पीडावोध गरिरहेका आफन्त–शुभचिन्तक समवेदना दिन जाने–आउने क्रम जारी थियो । एउटा कोठामा विक्षिप्त भएर पल्टिरहेका थिए, बुबा इन्द्र र अर्को कुठामा सुक्कसुक्क गर्दै मन थामिरहेकी थिइन् आमा लक्ष्मी ।

रवीन्द्रका कान्छा छोरा स्वराज सुस्काइरहेकी हजुरआको गाला चुम्छन्, थमथमाउँछन् र बाहिर बरञ्डामा निस्कन्छन् र बाटोतिर आँखा डुलाउँछन् ।बाबु गुमाएका १० वर्षीय बालकका अवोध आँखा बाटोदेखि घरका आँगनमा जम्मा भएका मान्छेहरुमा आँखा डुलाउँछन् ।

उनको मनले सोच्दो हो, ‘पक्कै बुबा पनि त्यही बाटो भएर फर्किँदै हुनुहुन्छ ।’ फेरि दगुर्दै हजुरआमाको स्पर्शमा पुग्छन् र रसाइरहेका आँखा पुछिदिन्छन् । शुक्रबार रवीन्द्रको शव पोखरा ल्याइने भएपछि बुबाआमा, कान्छा छोरा स्वराज र रवीन्द्रका भाइ दीपेन्द्र अघिल्लो दिन बिहीबारै पोखरा आइपुगेपछिको दृश्यले सबैलाई विक्षिप्त बनाउँथ्यो ।

रबिन्द्र पत्नी सक्रिय राजनीतिमा आउने

ताप्लेजुङमा बुधबार भएको हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीकी पत्नि विद्या भट्टराई सक्रिय राजनीतिमा आउँने भएकी छन् ।

राजनीतिक पृष्ठभूमिकी भट्टराईलाई सत्तारुढ नेकपाले सक्रिय राजनीतिमा ल्याउने भएको हो । प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराईकी बहिनी विद्यासँग रवीन्द्रको तत्कालिन माले नकिट अखिलको अध्यक्ष हुँदा विवाह भएको थियो । त्यतिबेला विद्या अखिलकी सचिव थिइन् ।

विवाहपछि विद्याले दुईमध्ये एक जना राजनीतिमा सक्रिय हुने भन्दै श्रीमानलाई राजनीतिमा लाग्न प्रेरित गरेका छन् । रवीन्द्रको सफलतामा विद्याको त्याग र सहयोगको महत्वपूर्ण हात थियो । विद्याका समकक्षी र कतिपय जुनियर विद्यार्थी नेतृहरु समेत सांसद र मन्त्री भइसकेका छन् ।

उनी भने सक्रिय राजनीतिबाट ओझेल परेपछि अध्ययन र प्राज्ञिक कार्यमा सक्रिय भइन् । हाल प्राध्यापनमा सक्रिय भट्टराईलाई नेकपाले रवीन्द्रले गत संसदीय निर्वाचनमा जितेको कास्की–२ बाट उपनिर्वाचनमा उम्मेदवार बनाउने तयारी गरेको छ । ‘उहाँ पार्टीकी नेतृ पनि हुनुहुन्छ’, नेकपाका एक नेताले काठमाण्डुटुडेसँग भने, ‘उपनिर्वाचनमा उम्मेदवार बनाउने कि भनेर नेताहरुका बीचमा अनौपचारिक कुराकानी सुरु भएको छ ।’

पार्टीका धेरै कार्यकर्ता पनि रवीन्द्रले थालेका अधुरो काम पूरा गर्न पनि विद्यालाई सक्रिय राजनीतिमा आउने वातावरण बनाइदिन नेतृत्वलाई आग्रह गर्न थालेका छन् । ‘भर्खरै घटना भएको छ । काजकिरिया पनि सकिएको छैन । यति नै बेला उत्तराधिकारी घोषणा गर्दा राम्रो सन्देश जाँदैन’, ती नेताले भने, ‘सबै कुरा सामान्य हुँदै गएपछि उपयुक्त समयमा पार्टीले निर्णय गर्छ ।’ अधिकारीले कास्की–२ बाट तीनपटक लगातार चुनाव जितेका थिए । उनले यसअघि ०६४ र ०६० को संविधानसभामा लगातार जितेका थिए ।

२०७५ फागुन १८ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड