इमान्दार संवाददाता
७४ पटक

जायश्वर जैसी । हरेक क्षेत्रमा भएको अनावश्यक राजनीतिकरणले हाम्रो देश नेपाल धेरैपछि परेको तीतो यथार्थ हाम्रो बीचमा ताजै छ । राजनैतिक ओतका कारणले जस्तासुकै काला कर्तुतहरू गरे पनि मान्छेहरूले माफी र छुट पाइरहेका छन् ।

शिक्षा, स्वास्थ्य, न्याय, कर्मचारी, सेना-प्रहरीदेखि लिएर सामान्य उपभोक्ता समितिसम्म तीब्र राजनीतिकरणले देशको संरचना नै भताभुङ्ग मात्रै होइन काम नलाग्ने हुन थालिसकेका छन् । हरेक कार्य गर्न राजनीतिलाई आधार बनाइन्छ । आफ्नो राजनैतिक बिचारलाई जसले समर्थन गर्छ त्यसको मात्रै कल्याण र भलो गरिदिने परिपाटीको बिकास भएको छ ।

योग्यता र क्षमाताका आधारमा होइन राजनैतिक बिचारको आधारमा मान्छेहरूको कार्य बिभाजन गरिन्छ । हरेक चिजलाई राजनैतिक चस्माले हेरिन्छ । मान्छेलाई स्वतन्त्र रूपले कुनै पनि कार्यहरूको मूल्यांकन गर्न पनि छुट दिँइदैन । राम्रो नराम्रो जस्तो भए पनि आफ्नो बिचारको छ भने त्यसलाई ठुलो अपराध गरेपनि मुक्त गर्न ज्यान फालेर लाग्ने गलत संस्कार हाम्रो समाजमा व्याप्त छ ।

समाजमा कुनै व्यक्तिले कुनै विषयवस्तुप्रति केही धारणा र अभिव्यक्ति प्रकट गर्यो भने उसले गरेको अभिव्यक्ति ठिक हो या होइन भन्नेतिर नलागी त्यसले गरेको अभिव्यक्ति जसको राजनैतिक बिचारसँग मिल्छ वा मिल्दैन त्योसँग दाँजेर हेरिन्छ अनि उसलाई कसैको जबर्जस्त कुनै एक राजनीतिको बिल्ला भिराइन्छ । अझ भनौं त्यही कुरालाई समातेर एकले अर्कोलाई खुइल्याउने र राजनीति गर्ने हतियार नै बनाइन्छ अनि उसलाई रातारात कसैको कार्यकर्ता बनाइदिने प्रयत्न गरिन्छ ।

भर्खरै मात्र पशुपती शर्माले गाएको ‘लुट्न सके लुट कान्छा, अरु देशमा पाइँदैन नेपालमै हो छुट’ भन्ने गीतमा ठुलो राजनीति भयो । देश नै दुई ध्रुबमा बिभाजन भयो । चोक, पसल, संघ-संस्था, विद्यालय, विश्वविद्यालय, सञ्चार माध्यम, सामाजिक सञ्जाल, संसददेखि लिएर सिंहदरबारसम्म खैलाबैला मच्चियो ।

सत्ता पक्ष र प्रतिपक्षको बीचमा यही गीतलाई लिएर संसदभित्र बहस मात्रै होइन दण्ड र पुरस्कार सम्मको घोषणा गरियो । सत्ता पक्षको युवा संगठनको नाममा त विज्ञप्ति नै जारी गरी पशुपतीलाई बहिष्कारमात्रै होइन उनको कलाकारिताको ‘करिअर’ नै खतम पारिदिने धम्की दिइयो । उता प्रतिपक्षमा रहेको पार्टी काङ्ग्रेसले त्यही गीतलाई सरकारको विरुद्ध राजनैतिक अस्त्रको रूपमा प्रयोग गर्यो ।

सत्ता पक्ष र प्रतिपक्षका दुबै थरी मान्छेहरू त्यही गीतमा भयंकर राजनीति गर्दै मिथ्या कुतर्कले एकले अर्कोलाई फगत आरोप-प्रत्यारोप गरिरहे । शासन सत्तामा परिवर्तन चाहाने सत्ता पक्षका केही मान्छेहरूले भने पशुपतीले गाएको गीतलाई आलोचना र गालीभन्दा पनि अफ्ना महाभूल र गल्तीहरू सुधार्न आफ्ना नेताकार्यकर्तालाई सुझाव दिए । केही मान्छेहरूले उनको गीतमा केही शब्द चयनमा समस्या रहे पनि गीतको सार मूलभूत रूपमा ठिक रहेको निष्कर्ष निकाले । यति हुँदाहुँदै पनि आम मान्छेहरूको बुझाइमा भने पशुपतीको गीत अहिलेको नेपालको वास्तविक यथार्थमा आधारित रहेकोले उक्त गीतप्रति पूर्ण समर्थनको भाव अभिव्यक्त गरे । एउटा स्वतन्त्र कलाकारमाथि भएको यस प्रकारको अभिव्यक्ति स्वतन्त्रतामाथिको प्रतिबन्धलाई धेरैले लोकतान्त्रिक अभ्यासको उपहास तथा सामाजिक अधिनायकवादको उदय हुन थालेको संकेतको रूपमा बुझे ।

पक्कै पनि पशुपति शर्माको गीतले शासन सत्ता र त्यस मातहतका संरचनामा बसेर विकृति, विसंगति र भ्रष्टाचारको अराजकता मच्चाउनेहरूको मथिङ्गलमा महा भुकम्प नै गयो र जानुपर्ने पनि थियो । विशेषतः सत्ता पक्षका कार्यकर्ताहरू डाको छोडेर रुञ्चे स्वर निकाले । पशुपतिले हामीलाई कुकुरसँग तुलना गर्यो, राष्ट्रपतिलाई डेढ अरबको हेलिकप्टर चड्ने भन्यो, हाम्रो सरकार प्रमुखलाई ‘यमराज’ भन्यो र जति लुट्न पाइन्छ लुट भनेर गलत सन्देश प्रवाह गर्यो भनेर शर्माको गीतलाई युट्युभबाट हटाउन वाध्य हुने वातावरणको सिर्जना गरियो ।

साहित्यमा अलङ्कार, र शब्दशक्तिको विशेष महत्त्व रहन्छ । ‘कुकुर’ शब्द लक्षाणिक र उपमायुक्त शब्दको रूपमा बुझ्न सक्नुपर्छ । कुकुरले आफ्नो मालिकले जस्तासुकै काला कर्तुतहरू गरेपनि उसैको बचाउको लागि ज्यान फालेर भुक्छ । आफ्ना नेताहरूको संलग्नता र नेतृत्वमा अरबौँको भ्रष्टाचार हुँदा पनि चुइँक गरेर नबोल्ने तर तिनै नेतालाई गलत गरे है भनेर कसैले भन्यो भने झम्टनुले कुन प्रवृत्तिको संकेत गर्छ ? फेरि शर्माको गीतमा कुनै दल विषेशका कार्यकर्ता भनेर किटान पनि गरिएको छैन ।

आम जनताले ती कार्यकर्तालाई सचेत र परिवर्तनकारी कर्याकर्ताको रूपमा बुझ्ने कि अरु बुझ्ने ? त्यस्तै एक ट्याप्लेट सिटामोल खान नपाएर जनताहरू तड्पिरहेको देशका राष्ट्र प्रमुखले डेढ अरबको हेलिकप्टर चढ्छन् भन्नू कुनै ठुलो अपराध होइन । जनताले बनाएका राष्ट्र प्रमुखले जनताको भावनाअनुरूप कार्य गर्नुपर्छ र देशको क्षमताअनुसारको विलासी जीवन हुनुपर्छ । राष्ट्र प्रमुखको बदनाम र अपमान गर्न खोजियो भन्ने हरूले हिजो राजतन्त्रात्मक व्यवस्थामा राष्ट्र प्रमुखलाई आर्यघाट पुकारी पुकारी गाली गरेको यति छिटो भुल्न मिल्छ ? जुन व्यवस्था भए पनि त्यतिबेला पनि राष्ट्र प्रमुखलाई गाली बेइज्जती गर्नु राष्ट्रको सम्मानको रूपमा बुझिन्थ्यो त ? जनताको भावना विपरीत कार्य गर्ने जो कोहीलाई पनि जनताले खबरदारी गर्ने अधिकार सधै सुरक्षित रहन्छ ।

आफ्नो भए सबै ठिक अरुको भए पुरै बेठीक भन्ने चिन्तनबाट माथि कहिले हो उठ्ने ? यस्तो खालको चिन्तन प्रणालीबाट देश कहिले माथि जान्छ ? त्यसकारण राष्ट्र प्रमुखले जे गरेका छन् त्यही कुरा गीत र साहित्यबाट जनतालाई भन्नु गरिमामय संस्थाको अपमान होइन कि त्यसलाई जनताको तर्फबाट दिएको सचेतनाको रूपमा बुझ्नु नै बुद्धिमत्तापूर्ण र सान्दर्भिक हुन्छ । राष्ट्रपतिको हेलिकप्टरको कुरा मात्रै होइन पशुपतिको गीतले नेपाली जनताको स्थिति र मन्त्रालयदेखि स्थानीय सरकारभित्र रहेका मान्छेहरूले लाखौं करोडौं खर्च गरी गाडी किनेर मोजमस्ती गरिरहेको प्रतिको सङ्केतको रूपमा पनि बुझ्न जरुरी छ । यमराजको शासन भनियो भनेर आपत्ति प्रकट गरियो ।

‘यमराज’लाई व्यञ्जनाको रूपमा बुझियो भने शासन व्यवस्था ठिक नभएको, सिस्टम नभएको शासन पद्धतिमा रहने शासकहरू एकदम भ्रष्टाचारी, घुसखोरी र लोभी पापी भएकोले पशुपतिले यमराजको शासन भनेका हुन सक्छन् । यसलाई अन्यथा नमानी इन्द्रको शासन बनाए हुन्छ । यसलाई सिधा बुझ्नुभन्दा साहित्यक भाषामा बुझेर पाठ सिक्दा ज्यादै राम्रो हुन्छ । ‘जति सक्छौ लुट’ भनेर पशुपतिले गलत सन्देश प्रवाह गर्यो भनेर आरोप लगाइएको छ । यो मिथ्या आरोप मात्रै हो । पशुपतिलाई यो आरोप लगाएर आफ्नो ‘लुटको स्वर्ग’ बचाइ राख्ने प्रपञ्च सिवाय अरु केही होइन ।

पशुपतिले भनेको राज्य संरचना, सरकार र सबै राजनैतिक पार्टीका गलत प्रवृत्ति र सिस्टमलाई हो । उनको गीतका केही शब्दहरूलाई लिएर जसरी सत्ता पक्षका कार्यकर्ताहरू बिरोधमा उत्रेका छन्, यसमा कुनै तुक छैन । गायककारले शिक्षक, डाक्टर, सुब्बा, ठेकेदार, ट्राफिक प्रहरी लगायतका गलत प्रवृत्तिहरूमाथि तितो यथार्थ प्रस्तुत गरेका छन् । देशको वास्तविक चित्र गीत संगीतमार्फत अभिव्यक्त गर्दा एउटा स्वतन्त्र गायककारलाई सत्तापक्षले प्रतिपक्षको कार्यकर्ताको रूपमा विल्ला भिराइदिनु दु:खद पक्ष हो ।

अर्कोतिर प्रतिपक्षमा रहेको कांग्रेसले पशुपतिको गीतमा खुसी मनाउ गर्नुको कुनै अर्थ र तुक पनि छैन । नेपाली कांग्रेसको शासन व्यवस्था नेपाली जनताले राम्रोसँग अनुभूत गरिसकेका छन् । कांग्रेसको पालामा पशुपतिले गीतमा भनेकोभन्दा राम्रो शासन व्यवस्था नेपाली जनताले कहिले प्राप्त गरे र ? कांग्रेसले पशुपतिको गीतलाई सरकारलाई भ्रष्ट सावित गर्न र कमजोर बनाउने अस्त्रको रूपमा प्रयोग गर्न खोजेको बुझिन्छ ।

वाइडबडी खरिदमा कांग्रेस नेता छैनन् र ? भ्रष्टाचारको मुद्दा लागेर जेल गएका कांग्रेसका नेताहरू होइनन् र ? लाउडा, गण्डकी, कोसीमा राष्ट्रघात गरेको कांग्रेसको पालामा होइन र ? सरकारी शिक्षकले आफ्ना छोराछोरी बोर्डिङ पढाएको, सुब्बाले दुई वर्षमै घर ठडाएको, सरकारी कोटाका डाक्टरले आफ्नो निजी क्लिनिकमा बिरामी जाँचेको, ठेकेदारले लापरबाही गरेको, ट्राफिक प्रहरीले सिठी फुक्दा कोहीले पनि नसुनेको लगायतका कुराहरू के बल्ल हुन थालेका हुन् कि कांग्रेसका शासनमा पनि हुन्थे ? त्यसैले पशुपतिको गीतमा कांग्रेसको राजनीति अर्थहीन छ । तर्कहीन छ ।

पहिले कांग्रेसको राजनीतिले गोविन्द केसीलाई ठुलो धक्का दियो । सत्ता पक्षले पशुपतिलाई कांग्रेस भन्दै आरोप लगाइरहेको बेला कांग्रेस सांसदले पुरस्कारको घोषणा गर्नु कदापि राम्रो होइन । कांग्रेसले ऎनामा एकपटक आफ्नो अनुहार हेरे पुग्छ । राज्यका व्यथितीका विरुद्धमा गीत र साहित्य रचना गरेको आरोपमा कृष्ण सेन ‘इच्छुक’ जस्ता साहित्यकारलाई हत्या गरिएको कसको शासनमा हो ? के नेपाली जनतालाई थाहा छैन र ? अवश्य छ । कांग्रेसको राजनीतिबाट पशुपति सचेत रहनुपर्छ । स्वतन्त्र रूपमा यथार्थ कुरा गीतमार्फत बाहिर ल्याउन डराउनु हुँदैन ।

इतिहासदेखि नै राजनीतिले बिग्रेको हाम्रो देशमा अरुको के कुरा यहाँ, लुट र भ्रष्टाचारलाई रोक्ने ठाउँमा बसेका मन्त्री र अक्तियारका मान्छेहरूले त देश लुटेको समाचार आइरहेको समयमा पशुपती शर्माले ‘लुट्न सके लुट कान्छा, अरु देशमा पाइँदैन नेपालमै हो छुट’ भन्ने गीतबाट राज्य संयन्त्रका हरेक ठाउँका गलत प्रवृत्तिमाथिको यथार्थ चित्रण गर्दा समृद्धि र समाजवाद ल्याउछौँ भन्दै नारा लगाउदै हिडेका मान्छेहरूको टाउको दुखाइको विषय बन्नु लज्जास्पद कुरा हो ।

त्यस्तै उक्त गीतलाई आधार बनाएर प्रतिपक्ष (कांग्रेस) ले राजनीति गर्ने अस्त्रको रूपमा प्रयोग गर्नु हास्यास्पद कार्य हो । सत्ता पक्ष भएपनि प्रतिपक्षी भएपनि नेपाली जनताले कुन के हो भन्ने कुरा राम्रोसँग चिनेका छन् । पशुपतिको यो गीतलाई लिएर अनावश्यक राजनीति गर्नु भन्दा देश बनाउने बाटोमा अघि बढ्दा नै राम्रो हुन्छ । मलाई समर्थन गरे राम्रो, मेरो भए राम्रो नत्र नराम्रो भन्ने चिन्तनबाट सत्तापक्ष, प्रतिपक्ष मात्रै होइन अन्य राजनैतिक दलका कार्यकर्ताहरू पनि माथि उठ्न सक्नुपर्छ ।

राजनैतिक कार्यकर्ताहरू यदि सुशासन र पारदर्शी शासन व्यवस्था कायम गर्न राजनीतिमा लगेको हो भने कुशासनका विरुद्धमा खरो उत्रनु पर्छ । आफ्नो नेताले गल्ती गर्यो भने त्यसलाई बचाउन होइन कि त्यसका विरुद्धमा जाइ लाग्न सक्ने आँट हुनुपर्छ । यस्ता गीत संगीतलाई प्रतिबन्ध होइन सकिन्छ भने देशका हरेक ठाउँमा भइरहेको लुटतन्त्रलाई प्रतिबन्ध गर्न सक्नुपर्छ । पशुपतिले गीतमा जे भनेका छन्, त्यो नेपाली मनहरूको आवाज हो । देशको यथार्थ व्यंग्यचित्र हो ।

यसबाट राज्यका प्रत्येक संरचनाभित्र रहेर काम गर्ने सबैले पाठ सिक्न आवश्यक छ । पशुपतिको गीतबाट सत्ता पक्षले दुख मानाउ गर्नु र प्रतिपक्षीले खुसी मनाउ गरेर सुशासनयुक्त राजनीतिको श्रेय आफुले लिन खोज्नुको कुनै तुक छैन । लेखकीय र अभिव्यक्ति स्वतन्त्रता सधैभरी सुरक्षित नै हुनुपर्छ । यो बिषयलाई लिएर तुकविनाको राजनैतिक ध्रुवीकरण हुनुभन्दा पशुपति शर्माले भनेका ठाउँहरूमा सुधार गर्न सके बुद्धिमानी र देशको लागि हितकर हुने छ । धन्यवाद ।

(जैशी गौमुखी माध्यमिक विद्यालय, प्युठानमा कार्यरत शिक्षक हुन् ।)

२०७५ फागुन १० गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड