इमान्दार संवाददाता
९५ पटक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकार नढल्ने दावी गरेका छन् । सुशासन र विकासको क्षेत्रमा धेरै काम गरेर मात्रै आफ्नो नेतृत्वको सरकार बिदा हुने उनले खुलासा गरे  ।

नेपाल प्रहरीद्वारा आयोजित १७८ औं दीक्षान्त समारोहको अवसरमा मंगलबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले सरकार ढाल्ने सपना नदेख्न समेत आग्रह गरे । प्रहरी अधिकृतहरूतर्फ लक्षित गर्दै प्रधानमन्त्रीले भने, ‘कसैलाई नौ–नौ महिनामा सरकार परिवर्तन हुन्छ भन्ने लागेको होला, तर यो सरकार हट्नुभन्दा अगाडि धेरै कुरा थितिमा ल्याउँछ ।’

कार्यक्रम बोल्दै उनले नेपाल प्रहरीलाई दलाली वा चाकडी नगर्न निर्देशन दिएका छन् ।  साथै सरुवा बढुवामा कुनै गुनासो नआउने गरी काम गर्न प्रधानमन्त्री ओलीले प्रहरी अधिकारीहरुलाई सार्वजनिक मञ्चबाटै सचेत गराएका छन् । प्रधानमन्त्री ओलीले भने, ‘प्रहरी भनेको दलाली वा दमन गर्नका लागि होइन, कर्तव्य पालनाका लागि हो ।’

प्रधानमन्त्री ओलीले प्रहरी नेतृत्वलाई कार्यसम्पादन मूल्यांकन र बढुवाका लागि न्यायोचित प्रणाली बनाउन निर्देशन दिए । प्रहरी जवानदेखि उच्च अधिकृत कसैले पनि अब संगठन भेदभावको अनुभूत गर्न नपर्ने उनको भनाइ थियो । प्रधानमन्त्रीले भने, ‘नेपाल सरकारले कोशेली र चाकडीको अपेक्षा गर्दैन ।’

‘राष्ट्रपतिलाई छिमेकी पिरेको आरोप लगाउनु गलत’

प्रधानमन्त्री ओलीले महाराजगञ्जस्थित प्रहरी तालिम केन्द्र सार्ने विषयलाई लिएर राष्ट्रपतिमाथि अनावश्यक लाञ्छना लगाएको बताए । ‘आफूलाई सेलेब्रिटी देखाउन खोज्नेले अनुचित खालका टिप्पणी गरे’, ओलीले भने, ‘त्यस्ता व्यक्तिहरूले राष्ट्रिपतिलाई छिमेकी पिरेको आरोपसमेत लगाए ।’

राष्ट्रपतिको कारणले नभई पर्याप्त स्थान नभएकाले तालिम केन्द्र पनौती स्थानान्तरण गर्न लागिएको प्रधानमन्त्री ओलीको भनाइ छ । ‘राष्ट्रपतिले लखेट्न खोजेसमेत भनियो, यो सही होइन’ ओलीले भने । प्रहरी निरीक्षकको आधारभूत तालिम पूरा गरेका १२ महिला र ८३ पुरुषले पद तथा गोपनीयताको सपथ लिएका थिए ।

प्रधानमन्त्री ओलीले प्रहरी नेतृत्वलाई कार्यसम्पादन मूल्यांकन र बढुवाका लागि न्यायोचित प्रणाली बनाउन निर्देशन दिए । प्रहरी जवानदेखि उच्च अधिकृत कसैले पनि अब संगठन भेदभावको अनुभूत गर्न नपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा गृहमन्त्री रामबहादुर थापाले राजनीतिक प्रभाव र दबाबमा परेर काम नगर्न निर्देशन दिए । उनले सरकारले सुरक्षालाई प्राथमिकता दिएकाले त्यसमा दृढ भएर लाग्न प्रहरी संगठनलाई निर्देशन दिँदै आवश्यक जुनसुकै सहयोग गर्न पनि सरकार तयार रहेको बताए ।

यस्तै गृहमन्त्री रामबहादुर थापाले कमजोर कार्यसम्पादनबाट जोगिन प्रहरीले राजनीतिक दबावको बहाना बनाउन नहुने बताएका छन् । उनले राजनीतिक अभिष्ट पूरा गर्न अपराधलाई अतिरञ्जित गरिएको भन्दै त्यसो नगर्न पनि आग्रह गरे ।

दीक्षान्त समारोहमा बोल्दै उनले नीतिगत तहमा राजनीतिक प्रभाव भए पनि अन्यमा नरहेको जिकिर गरे । ‘प्रहरीले काम गर्न नसक्दा राजनीतिक दबाव र प्रभावलाई बहाना बनाउनु हुन्न’, गृहमन्त्री थापाले भने, ‘नीतिगत तहमा स्वभाविक रूपमा राजनीतिक दबाव छ । तर, अन्यमा प्रहरी नै जिम्मेवार छन् ।’

प्रतिपक्ष दलहरुले प्रहरीका पछिल्ला केही अनुसन्धानप्रति प्रश्न उठाइरहेका बेला गृहमन्त्री थापाले प्रतिपक्षको नाम नलिई त्यसलाई राजनीतिक अभिष्ट पूरा गर्न चालिएको अतिरञ्जित कदमको संज्ञा दिए । अपराधलाई अतिरञ्जित गरिए पनि त्यसमा प्रहरी सचेत हुनुपर्ने गृहमन्त्री थापाको भनाइ छ ।

‘राजनीतिक अभिष्ट पूरा गर्न अपराधलाई अतिरञ्जित गरेर प्रस्तुत गर्ने गरिएको छ’, गृहमन्त्री थापाले भने, ‘यस्तोमा निर्दोष फस्न सक्ने भएकाले सचेत हुन जरुरी छ ।’

२०७५ माघ २९ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड