इमान्दार संवाददाता
१४ पटक

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)का सभापति नैनसिंह महरले माउ पार्टी नेपाली कांग्रेसका सभापति समक्ष राजीनामा दिएका छन् । पार्टीको केन्द्रीय समिति बैठक भैरहेकै समयमा महरले पार्टी सभापति शेरबहादुर देउवालाई राजीनामा पत्र बुझाएका हुन् ।

महरले पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा पत्र पढेर सुनाएका थिए । सिंगो केन्द्रीय कार्यसमिति लागेपछि आफूले राजीनामा दिएको उनले बताएका छन् ।

नेविसंघको १२ औं महाधिवेशन निर्धारित समयमा सम्पन्न गराउन नसकेपछि महर नेतृत्वको कार्यसमिति आलोचित बन्दै आएको थियो । त्यसैले गत २७ पुसमै महामन्त्री सरोज थापासहितका ७ पदाधिकारीहरुले राजीनामा दिएका थिए ।

११ औं महाधिवेशनबाट निर्वाचित महर नेतृत्वको नेविसंघको कार्यसमितिको म्याद भदौ २ गतेसम्म थियो । तर, आन्तरिक विवादका कारण महाधिवेशन हुन नसकेपछि पार्टीले तीन महिनाको समय अवधि थपिदिएको थियो ।

थपिएको समयमा पनि महाधिवेशन हुन नसकेपछि पुनः दुई महिनाको म्याद थपिएको थियो । महाधिवेशन गर्ने सर्तमा पछिल्लो पटक थपिएको दुई महिनाको म्याद माघ २ गते सकिएको छ ।

पाँच महिनाको म्याद थपिएपछि नेविसंघ अध्यक्ष नैनसिंह महरले गत पुस २८ गते महाधिवेशन उदघाटन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेका थिए । तर, पुस २८ गते पनि महाधिवेशन सुरु हुन नसक्ने भएपछि नेविसंघको वर्तमान कार्यसमिति संकटमा परेको थियो ।

यद्यपि नेपाली कांग्रेसले आगामी स्ववियु निर्वाचनसम्म यही कार्यसमितिलाई निरन्तरता दिने भनेको थियो । त्रिभुवन विश्वविद्यालयले आगामी फागुन १४ गते स्ववियु निर्वाचन गर्ने तयारी गरेको छ ।

यसअघि नेविसंघका तीन उपाध्यक्ष, एक महामन्त्री र तीन जना सहमहामन्त्रीहरुले पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर राजीनामा बुझाएका थिए ।

राजीनामा बुझाउनेहरुमा उपाध्यक्षत्रय सञ्जय कुमार यादव, पुष्प शाही र विकास केसी छन् । यसैगरी महामन्त्री सरोज थापा, सहमहामन्त्रीहरु प्रकाश घिमिरे, अच्युत केसी र प्रेम जोशीले पनि राजीनामा दिएका छन् ।

राजीनामा बुझाउन नेविसंघ पदाधिकारीहरु देउवा निवास बुढानिलकण्ठ पुगेका थिए । उनीहरु सबै देउवा निकटकै मानिन्छन् । ७ पदाधिकारीको राजीनामाले नेविसंघ अध्यक्ष नैनसिंह महर अप्ठ्यारोमा परेका थिए ।

२०७५ माघ २८ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड