इमान्दार संवाददाता
२१ पटक

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका बरिष्ठ नेता माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठसहितको २५ जना नेताले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई समर्थन दिन सुटुक्क त्यहिँ जाने कार्यक्रम रद्द स्थगित भएको दाबी बीबीसीले गरेको छ ।

भ्रमण दलमा रहेका राष्ट्रिय जनमोर्चाका एक जना नेताले भ्रमणको लक्ष्य सम्मेलनसहित मदुरोलाई समर्थन जनाउने पनि तयारी रहेको खुलासा गरेका छन् । यस्तो खुलासा उनले बीबीसी नेपाली सेवासँगको कुराकानीमा गरेका थिए ।

नेकपाका सांसद बलराम प्रसाद बाँस्कोटाले केही दिन पहिले नेकपा र राष्ट्रिय जनमोर्चाका नेताहरूलाई भेनेजुयला जानका लागि निम्तो बाँडेको बीबीसीले जनाएको छ । आवश्यक भिसा र टिकटको पनि प्रबन्ध भइसकेको थियो। बाँस्कोटा प्रचण्डलाई निकोलस मदुरोको पक्षमा वक्तव्य जारी गर्न लगाएका भनेर चर्चामा आएका थिए।

बीबीसीले लेखेको छ,‘राष्ट्रिय जनमोर्चाको किसान संगठन अध्यक्ष भैरव रेग्मीका अनुसार मदुरोलाई भेटेर राजनीतिक समर्थन दिने तयारी थियो । उनले भने– सम्मेलन हो तर मुख्य उद्देश्य राजनीतिक भेटघाट र ऐक्यबद्धता जनाउनका लागि जान लागेका हौं ।’

भेनेजुएला प्रकरणमा नेकपाले जारी गरेको विज्ञप्तिका कारण पार्टीभित्र दुई अध्यक्षबीच अहिले जुहारी चलिरहेको छ । खासगरी मदुरोको पक्षमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी हस्तक्षेपको निन्दा गर्दै विज्ञप्ति जारी गरेका थिए भने अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले त्यस प्रकरणमा चिप्लिएको प्रतिक्रिया जनाएका थिए ।

नेता नेपालसहितको टोली जाने विषय चलेको जनाउँदै उनका प्रेस सल्लाहकार विष्णु रिमाललाई उदृत गर्दै बीबीस लेख्छ,‘तर उहाँले नजाने बताउनु भएको छ ।’

यो भ्रमणको नेतृत्व भने विवादीत बनेको प्रचण्डको विज्ञप्तिका खेस्रा तयार पारेको चर्चामा आएका नेता बलराम बास्कोटाले गरेको बताइएको छ । तत्कालका लागि त्यहाँको राजनीतिक समस्याका कारण भ्रमण स्थगित भएको उल्लेख पनि गरिएको छ ।

किन रोकियो कार्यक्रम ?

बीबीसीले लेखेको छ – ‘एक वर्ष अगाडि गठन भएको इन्टरनेशनल एसेम्ब्ली अफ पिपल्स अर्गनाइजेशन अफ मुभमेन्टले गर्न लागेको एउटा अन्तराष्ट्रिय सम्मेलनमा भाग लिन नेताहरू त्यहाँ जाने कार्यक्रम रहेको थियो।’

राष्ट्रपति मदुरो र विपक्षी नेता गुएइदोबीचको संघर्षले विश्वनै विभाजित बनेको छ। हाललाई भ्रमण स्थगित भएको बाँस्कोटाले बताए। उनले भने, “सम्मेलन २२ देखि २७ फेब्रुअरीसम्म हुने कार्यक्रम तय भएको थियो तर परिस्थितिजन्य कारणले अहिले स्थगित भएको छ।”

इन्टरनेशनल कोअर्डिनेसन कमिटीमा नेपालको प्रतिनिधित्व बाँस्कोटाले गरेका छन्। कार्यक्रम भेनेजुएलामा गर्ने कि अर्को देशमा गर्ने भन्ने बारेमा नयाँ निर्णय लिइने बताइएको बीबीसीले उल्लेख गरेको छ।

को को नेता जाँदै थिए ?

उक्त कार्यक्रममा जानका लागि निम्तो पाउने शीर्ष नेताहरूमा माधवकुमार नेपाल र नारायणकाजी श्रेष्ठ रहेका थिए। बाँस्कोटाले उक्त सम्मेलनका लागि निम्तो दिइएका सबैको नाम भने बताउन चाहेनन्। उनले भने, “शीर्ष तहकै नेतृत्वमा नेकपा र जनमोर्चाका २२/२५ जना जाने कुरा थियो तर अब सम्मेलन स्थगित भइसकेकाले नाम भनेर काम छैन।”

सो सूचीमा महिला सङ्गठन र किसान सङ्गठनका नेताहरूको संख्या धेरै रहेको बताइएको छ। उनले सम्मेलन स्थगित भएको बताए पनि सम्मेलनमा जानका लागि निम्तो पाएका राष्ट्रिय जनमोर्चाको किसान सङ्गठनका अध्यक्ष भैरव रेग्मीले भने कार्यक्रममा जानका लागि तयारीमै लागिरहेको बताए।

उनले भने “सम्मेलन हो तर मुख्य उद्देश्य राजनीतिक भेटघाट र ऐक्यबद्धता जनाउनका लागि जान लागेका हौं।” उनीसँगै उनको पार्टीका प्रदेशसभा सदस्य तारा जिसी जाने कार्यक्रम रहेको उनले बताएका थिए।

२०७५ माघ २६ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड