इमान्दार संवाददाता
२० पटक

काठमाडौं । थाईल्याण्डका राजा महा वचिरालङ्कनले मार्च महिनामा प्रधानमन्त्री चयनका लागि हुने चुनाव लड्ने आफ्नी दिदीको निर्णयको भर्त्सना गरेका छन्। थाई दरबारले जारी गरेको एक वक्तव्यमा राजकुमारी उबोनरत महिदोनको कदम देशको शाही परम्परा र संस्कृति विपरीत हुने भन्दै चिन्ता व्यक्त गरिएको छ।

थाई राजाले चिन्ता व्यक्त गरेका कारण राजकुमारी उबोनरतको चुनाव लड्ने योजनामाथि प्रश्न चिह्न लागेको छ। राजकुमारी उबोनरत थाईल्याण्डका विवादित पूर्व प्रधानमन्त्री थाक्सिन सिनावातको दलबाट प्रधानमन्त्रीको उम्मेदवार चयन भएकी हुन्। तर ६७ वर्षीय राजकुमारीको निर्णयले थाई राजपरिवार राजनीतिभन्दा माथि रहने परम्परालाई तोडिदिन सक्छ।

थाईल्याण्डका टेलिभिजन नेटवर्कहरूमा प्रसारित दरबारको वक्तव्यमा भनिएको छ, “राजकुमारी उबोनरतले शाही पदहरू त्याग गरिसकेको भएपनि उनी आफू चाक्री वंशको सदस्य भएको बताउँछिन्। त्यसैले उनी राजनीतिमा सहभागी हुनु अनुपयुक्त हुनेछ।”

थाई राजदरबारको वक्तव्यमा थाई “राजसंस्था राजनैतिक रूपमा तटस्थ रहनु पर्ने” संवैधानिक प्रावधान पनि उल्लेख गरिएको छ। त्यसअघि राजकुमारी उबोनरतले आफ्नो निर्णयको बचाउ गरेकी थिइन्।

सामाजिक सञ्जाल इन्स्टाग्राममा एक सन्देश लेख्दै उनले आफ्ना सबै शाही पद र जिम्मेवारीहरू त्यागिसकेको र आफूले स्वतन्त्र नागरिकको हैसियतमा प्रधानमन्त्री पदको लागि हुने चुनाव लड्ने निर्णय गरेको बताएकी थिइन्।

राजकुमारी उबोनरतले अमेरिकाको म्यासाच्युसेट्स्‌मा आफ्नो अध्ययन पूरा गरेकी थिइन्। उनले सन् १९७२ मा थाई शाही पद त्याग गरेर एक अमेरिकी नागरिकसँग विवाह गरिन्।

सम्बन्ध विच्छेद गरेर सन् २००१ मा थाईल्याण्ड फर्किएपछि राजकुमारी उबोनरत समय समयमा समाजसेवाका अतिरिक्त अभिनय तथा साङ्गीतिक कला कर्ममा पनि सक्रिय रहँदै आएकी छिन्।

राजनीतिको नयाँ मोड कस्तो होला ?

विश्लेषकहरू भन्छन् राजाको हस्तक्षेपका कारण थाई निर्वाचन आयोगले मार्च २४ मा हुने चुनावमा भाग लिन राजकुमारी उबोनरतलाई स्वीकृति नदिने सम्भावना बढेर गएको छ।

ब्याङ्ककमा रहेका बीबीसीका जनाथन हेड भन्छन्, “राजकुमारी चुनावमा होमिएर देशको चुनावी परिणाम विपक्षमा जाने खतरा बढेको थियो। तर अब राजाको हस्तक्षेपपछि राजकुमारीलाई चुनावमा होम्ने विपक्षी दलको निर्णय राजनीतिक त्रुटि जस्तो देखिएको छ।”

राजकुमारीलाई अघि सारेर विपक्षीले सेनालाई सत्ताबाट हटाउने योजना बुनेको हुन सक्छ। तर पछिल्लो शाही कदमले सिनावात नेतृत्वको विपक्षीलाई थप कमजोर बनाउने आकलनहरू भइरहेका छन्। बीबीसी

२०७५ माघ २६ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड