इमान्दार संवाददाता
५३ पटक

काठमाडौं । नेपाली क्रिकेट खेलाडीहरुको मासिक तलब आईसीसीले निकासा गरेको छ । सन् २०१६ देखि रोकिएको तलबबापतको रकम आईसीसीले आज राखेपको खाता रहेको स्टाण्डर्ड चार्टड बैंकमा एकमुष्ट १ करोड २७ लाख ८७ हजार ७ सय ८२ रुपैयाँ पठाएको हो ।

२०१६ देखि नेपाल क्रिकेट संघ क्यान निलम्बनमा परेपछि रोकिएको नेपाली खेलाडीहरुले पछिल्लो समय तलब पाउन सकेका छैनन् । क्यान निलम्बनमा परेपछि प्रत्यक्ष रुपमा आईसीसीले नेपाली क्रिकेटको रेखदेख गर्दै आएको छ ।

खेलाडीको तलब रिलिज गर्नका लागि राखेपले ३ पटकसम्म पहल गरेको थियो । सुरुमा दुई किस्तामा तलब निकासा गर्ने बताए पनि राखेपका सदस्य सचिव केशबकुमार विष्टले थप पहल गरेपछि एकमुष्ट रकम जम्मा भएको प्रेस सल्लाहकार रोहित दाहालले जानकारी दिए ।

तलब वितरणका लागि प्रशिक्षक जगत टमटा र कप्तान पारस खड्कालगायतको सल्लाहमा खेलाडीको नयाँ वर्गीकरण गरेर आईसीसीमा पठाएको थियो । जसमा ए, बी र सी गरी तीन श्रेणीमा सात सात गरी २१ खेलाडी समावेश छन् ।

ए श्रेणीमा कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, वसन्त रेग्मी, सोमपाल कामी, सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरी छन् । बी श्रेणीमा आरिफ शेख, करण केसी, ललित भण्डारी, अनिलकुमार शाह, रोहितकुमार पौडेल, ललितनारायण राजवंशी र शक्ति गौचन छन् ।

सी श्रेणीमा सुवास खकुरेल, सागर पुन, दिलिपनाथ, सुनील धमला, सुशन भारी, किशोर महतो र विनोद भण्डारी रहेका छन् । खेलाडीहरुको तलब निकासा भएकाले अबको एक दुई दिनमा वितरण गरिने पनि राखेपका प्रेस सल्लाहकार दाहालले बताए ।

‘ए’ श्रेणीका खेलाडीले मासिक ३५ हजार रुपैयाँ, ‘बी’ श्रेणीका खेलाडीले मासिक २५ हजार रुपैयाँ र सी श्रेणीका खेलाडीले मासिक १५ हजार रुपैयाँका दरले पछिल्लो दुई वर्षको तलब पाउनेछन् ।

यसअघि सरकारले नेपाली राष्ट्रिय क्रिकेट खेलाडीलाई जनही ५ लाख दिने निर्णय गरिसकेको छ। गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले युएईविरुद्धको टि–२० र एक दिवसीय सिरिज जितेर आएका खेलाडीलाई जनही ५ लाख रुपैयाँ दिएर सम्मान गर्ने निर्णय गरेको युवा तथा खेलकूद मन्त्री जगतबहादुर विश्वकर्माले जानकारी दिए।

मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री विश्वकर्माले खेलाडीलाई खेल्ने उचित वातावरण, पूर्वाधार र पारिश्रमिकका लागि सरकार प्रतिवद्ध रहेको स्पष्ट पारे। उनले खेलेर भविष्य सुनिश्चित गर्न सक्ने अवस्थामा क्रिकेट खेलाडीलाई पुर्‍याउने प्रतिवद्धतासमेत व्यक्त गरे।

२०७५ माघ २६ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड