इमान्दार संवाददाता
४१ पटक

डीबी विष्ट, बझाङ । दश वर्ष यता बन्द रहेको बझाङ सदरमुकामस्थित देवल विमानस्थल कालोपत्रे गर्ने काम सुरु भएको छ । बझाङका नागरिक अभिन्यता, सांसद र स्थानीयको पटक पटकको दबावपछि नागरिक उड्डयन प्राधिकरणले विमानस्थल कालोपत्रेका लागि ठेक्का दिएपछि काम सुरु भएको हो ।

अमर कन्स्ट्रक्सनले बझाङ विमानस्थललाई कालोपत्रे गर्ने जिम्मा पाएको छ । करिब पा“च करोड ५० लाखको लागतमा १८ महिनाभित्र काम सम्पन्न गर्ने गरि गत साउनमा ठेक्का सम्झौता भएको होे । विमानस्थलसम्म गाडी चल्ने सडक निर्माण भइरहेको र माघ हालै कालोपत्रेको काम सुरु भएको निर्माण कम्पनीका प्रमुख देवी न्यौपानेले बताए ।

२०३५ सालमा कच्ची विमानस्थल निर्माण सम्पन्न भएपछि पहिलो पटक तत्कालिन शाही नेपाल वायुसेवा निगमले साप्ताहिक उडान थालेको यो विमानस्थल २०६५ सालसम्म सञ्चालनमा थियो । पछिल्लो समय निगम बाहेकका निजी विमान कम्पनीहरुले पनि बझाङबाट नेपालगंज र धनगढीका लागि उडान भर्ने गरेका थिए । २०६५ सालमा बझाङ सदरमुकामसम्म बस चल्न थालेपछि यो विमानस्थलमा कुनै पनि उडान भएका छैनन् । २०६६ सालमा नेपाल वायुसेवा निगमले बझाङ सदरमुकाममा रहेको आफ्नो कार्यालय समेत बन्द गरेको थियो ।

बढीजसो बझाङ–नेपालगंज उडान संचालन गर्ने विमान कम्पनीहरुले नेपालगंजबाट बझाङ आउने यात्रुको चाप घट्दै गएको कारण उडान बन्द गरेको बताएका थिए । यद्यपि धनगढी–बझाङ उडान संचालन गर्न सके दैनिक दुई–तीनवटासम्म ट्वीनअटर फ्लाइट गर्न सकिने सम्भावना रहेको विमान कम्पनीहरुले बताउँदै आएका छन् । तर धनगढी विमानस्थलमा विमानलाई राती राख्न मिल्ने व्यवस्था नभएको भन्दै उनिहरु नै बझाङमा उडान भर्न आनाकानी गर्दै आएका छन् ।

विमान संचालन हुन छाडेपछि नागरिक उड्डयन प्राधिकरणले विमानस्थलका कर्मचारीलाई अन्तै सरुवा गरेको छ । लामो समयसम्म बेवारिसेजस्तै बनेको विमानस्थल स्थानीयको खेल मैदान र गौचरनमा परिणत भएको थियो ।

विमानस्थलस्थित टावर रहेको भवन स्थानीय केटाकेटीको सौच गर्ने ठाउँमा परिणत भएको छ भने केही वर्ष अघिमात्र निर्माण सम्पन्न भएको उक्त भवनका झ्याल ढोकामा रहेका शिशाहरु पनि फुटेका छन् ।

विमानस्थल कालोपत्रे बन्न लागेपछि यहाँका स्थानीय बासिन्दा खुशी भएका छन् । स्थानीय बासिन्दा उमाशंकर जोशीले विमान संचालनमा आएपछि अकालमा सुत्केरी महिला, दुर्घटनामा परेका ब्यक्तिहरुले ज्यान गुमाउन नपर्ने बताए ।

यता उद्योग बाणिज्य संघका अध्यक्ष दानबहादुर सुर्मेलीले लामो समयदेखि विमानस्थल बन्द भएका कारण जिल्लामा आउने पर्यटकहरु समेत घटेको बताए । जिल्लामा विमान संचालनमा आएपछि जिल्लाको साईपाल हिमाल, खप्तड राष्ट्रिय निकुञ्ज, सुर्मा ताल, कैलाश गुफा, कैलाश मानासरोबर लगायतका दर्जनभन्दा बढी धार्मिक तथा पर्यटकीय स्थलहरुमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढ्ने उनको भनाइ छ ।

वर्षाकोे समयमा विभिन्न ठाउँमा पहिरो गएर राजमार्ग अवरुद्ध हुने गरेका कारण आपतकालिन विरामीहरुले बर्षेनि ज्यान गुमाउने गरेका छन् भने यात्रुहरुले पनि सास्ती भोग्दै आएका छन् । गत वर्ष असारदेखि भदौसम्म तीन महिनाको अवधिमा बझाङलाई अन्य जिल्लासँग जोड्ने जयपृथ्वी राजमार्ग पटक पटक गरी ४१ दिन अवरुद्ध भएको थियो । यस अवधीमा उपचारको लागि धनगढी लैजाँदै गरेका ५ जना बिरामीको बाटैमा मृत्यु भएको थियो ।

२०७५ माघ २४ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड