इमान्दार संवाददाता
१२७ पटक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेपालमा भइदिएको भए सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले भेनेजुएला प्रकरणमा जारी गरेको वक्तव्य जस्तो वक्तव्य नआउने बताएका छन् । बुधबार साँझ जनतासँग प्रधानमन्त्री कार्यक्रममा बोल्दै ओलीले आफू नेपालमा नभएका बेला वक्तव्य आएकाले विवाद आएको बताएका हुन् ।

उनी स्विजरल्याण्डमा भएको बेलामा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जारी गरेको वक्तव्यका कारण नेपाल र अमेरिकाको सम्बन्ध विवादमा आइरहेको सम्बन्धमा प्रधानमन्त्रीले आफ्नो धारणा त्यसरी राखेका हुन् ।

प्रधानमन्त्री ओलीले भने, ‘हाम्रा सुस्पष्ट नीति छन् । त्यसमा ‘स्लिप’ भएकै हो । तर, त्यसैमा अल्झिनु आवश्यक छैन । म भोलिपल्ट आउँदै थिएँ अघिल्लै दिन वक्तव्य नदिइ नहुने कारण परेको थिएन । त्यस्तो जरुरी थिएन । उपयुक्त भाषा पनि थिएन । एकजना साथीले दिएको वक्तव्यमा देशको सम्बन्धको सुरुवात र अन्त्य हुने होइन,’ उनले प्रचण्डको नामै नलिइ भने ।

उनले अमेरिका जस्तो देशले त्यस्तो सानोतिनो कुरामा अल्झिन नहुने उल्लेख गर्दै कहिलेकाहीँ ‘स्लिप’ हुन सक्ने जनाए । प्रधानमन्त्रीले घटनाक्रम कहिलेकाहीँ त्यस्तो हुन सक्ने जनाउँदै त्यसमा युद्धको घोषणा त गरिएको छैन समेत भनेका छन् ।

प्रधानमन्त्रीले भनेका छन्, ‘अमेरिका त्यत्रो ठूलो देश हो । विशाल देश हो । सबल देश हो । सानो चिजलाई छुँदा प्राण नै जान सक्ने ससाना जीवपनि हुन्छन् । विशाल जनावरको टाउकोमा केही बसेमा उसले थाहा पनि पाउँदैन । अलिकति आफ्नो नाम लिएर बोलेको प्रसंगमा अमेरिकालाई चित्त दुखेको होला । हाम्रो जस्तो देशलाई अर्को देशको अंग भन्यो भने त झन् चित्त दुखाउने कुरा होइन र ? त्यसैले साना कुरामा ठूला देशका पनि कुरा ‘स्लिप’ हुन सक्छन् । त्यसैले हाम्रा कुरा स्पष्ट छन् भनेर अझै स्पष्ट पारेका छौं । सम्बन्ध सप्रिएकै छ, सप्रिँदै जानेछ ।’

उनले यसै कुरामा अल्झिराख्नु वाञ्छनीय नभएको समेत बताएका छन् । उनले ठूला देशपनि ‘स्लिप’ हुन सक्ने बताउँदै हालै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाल भारतको भूभाग भनेकोतर्फ संकेत गरेका थिए । प्रधानमन्त्रीले त्यस्ता कुरा आउँदा साना देशको पनि चित्त दुख्ने तर सानाले चाहिँ चित्त दुखाउनै नहुने भन्ने नहुने समेत जनाएका छन् ।

उनले दुई देशबीचको सम्बन्धका बारेमा भयावह रुपमा प्रस्तुत गर्ने काम भइरहेको जनाउँदै त्यस्तो नभएको समेत उल्लेख गरेका छन् । यता प्रचण्डले भने भेनेजुएला प्रकरणमा जारी गरेको विज्ञप्तिमा आफू अडिग रहेको बताएका छन् । पार्टी सचिवालयले समेत विज्ञप्तिको स्प्रिट अनुसार वक्तव्य जारी गरेको भन्दै उनले व्यक्तिको भनाइको अर्थ नहुने टिप्पणी गरे ।

बिहीबारर बिहान भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डले बोली चिप्लिएको या अरू कसैले फसाएको भन्ने कुराको खण्डन गरेका हुन् । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले जनतासँग प्रधानमन्त्री कार्यक्रममा प्रचण्डको शब्द चिप्लिएको बताएका थिए ।

‘हिजो प्रधानमन्त्रीले कुन सन्दर्भमा कसरी भन्नुभयो आफैंले पत्रिका हेरको छैन, प्रमले त्यसो भन्नुभयो जस्तो लाग्दैन,’ प्रचण्डले भने । भेनेजुएला प्रकरणमा आफ्नो वक्तव्य राजनीतिक भएको र स्वतन्त्र सार्वभौम सत्ता सम्पन्न राष्ट्रमा बाहिर कसैबाट हस्तक्षेप नहोस् भन्ने आसय रहेको बताए ।

‘पछि परराष्ट्रबाट जारी वक्तव्य त्यही स्पिरिटमा थियो । प्रधानमन्त्री समेत उपस्थित सचिवालयको बैठकले हस्तक्षेपको विरोधमा वक्तव्य जारी गरिसकेकाले व्यक्तिको भनाइले केही अर्थ राख्दैन,’ प्रचण्डले भने ।

प्रचण्डले वक्तव्यप्रति आफू अडिग रहेको प्रस्ट पारेका छन् । ‘पार्टी र परराष्ट्र मन्त्रालयबाट आएको विज्ञप्तिप्रति अडिग छु, मलाई फसाएर आएको भनिएपछि सचिवालयको तर्फबाट खण्डन भइसकेको छ, पार्टीको तर्फबाट जे वक्तव्य आयो, त्यही नै सही हो ।’

प्रचण्डले नेपालको शान्ति प्रक्रियाका मामिलामा पश्चिमा राष्ट्रहरूको संयुक्त वक्तव्य नेपाल मामिलामा हस्तक्षेपको रूपमा लिएको बताए ।

२०७५ माघ २४ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड