इमान्दार संवाददाता
६७ पटक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीनिकट अखिल (क्रान्तिकारी) ले बिहीबार देशभरका शैक्षिकसंस्था ठप्प पारेको छ । ओली सरकार बिनाकारण आफ्नो पार्टी र सङ्गठनमाथि दमन र ज्यादतीमा उत्रिएको भन्दै क्रान्तिकारीले पूर्वनिर्धारित योजनाअनुसार बिहीबार शैक्षिक हडताल गरेको हो ।

क्रान्तिकारीले आव्हान गरेको शैक्षिक हडतालका कारण उपत्यकासहित देशभरका बिहानी सेवाका स्कुल कलेजहरु बन्द छन् । विशेषगरी क्रान्तिकारीका केन्द्रीय कोषाध्यक्ष नरेन्द्र बिकलाई षडयन्त्रपुर्वक गिरफ्तार गरेर फसाउन खोजिएको भन्दै क्रान्तिकारी आक्रोशित बनेको छ ।

नरेन्द्रलाई बिना हतियारको गोलीसहित गिरफ्तार गरेको भन्दै प्रहरीले षडयन्त्र गरेर फसाउन खोजेको क्रान्तिकारीको बुझाई छ । क्रान्तिकारीले नरेन्द्रलाई तत्काल रिहा गर्न र झुटो मुद्दा खारेज गर्न माग गरेको छ । निर्मला बलात्कार र हत्याकाण्डमा मानसिक असन्तुलन भएकालाई जबर्जस्ती दोषी करार गराएजस्तै बिना हतियारको झोलामा गोली भेटिएको भन्दै षड्यन्त्र गरेर सङ्गठनका कोषाध्यक्ष नरेन्द्र बिकलाई फसाउन खोजिएको क्रान्तिकारीको दावी छ ।

मानवअधिकारका आधारभुत मान्यता समेत च्युत हुनेगरी राज्यले प्रदर्शन गरेको फासिस्ट रबैयाको डटेर सामना गर्न सबैमा अपिल गर्दै क्रान्तिकारीले बन्द अबज्ञा नगर्न चेतावनी समेत दिएको छ । यसअघि बुधबार क्रान्तिकारीले देशभर मसालजुलुस गरेको थियो ।

नरेन्द्र गत बिहीबार साँझ विराटनगरबाट पक्राउ परेका थिए।अखिल क्रान्तिकारी सुनसरीको जिल्ला सम्मेलनमा अथितिको रुपमा सहभागी हुन गएका बिकलाई प्रहरीले बिमानस्थलबाट पक्राउ गरेको थियो । देशभर सङ्गठन सुदृढ तथा बिस्तार अभियानमा रहेको नेकपा र उसको विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी)माथि सरकारले धरपकड र दमन गर्दै आएको छ ।

प्रहरीले नेपाल कम्युनिष्ट पार्टीका ४ जना कार्यकर्तालाई बुधबार गिरफ्तार गरेको छ । नेकपाले संचालन गरिरहेको संगठन सुदृढीकरण तथा विस्तार अभियानमा रहेका उनीहरुलाई धादिङबाट गिरफ्तार गरेको हो ।

उनीहरुलाई अभियानको क्रममा वालपेन्टिङ गदागर्दै गिरफ्तार गरेको युवा संगठन नेपालका उपत्यका इन्चार्ज अनुपले सञ्चारकेन्द्रलाई जानकारी दिएका छन् । अनुपका अनुसार उनीहरुलाई सिद्धलेक गाउँपालिका पुङ्चुङबाट गिरफ्तार गरेको हो ।

गिरफ्तार पर्नेमा युवा संगठन नेपालका केन्द्रीय सदस्य तथा उपत्यका ब्यूरो सदस्य कुवेर घिमिरे, अखिल नेपाल ट्रेड युनियन महासंघ क्रान्तिकारीका धादिङ जिल्ला अध्यक्ष त्रिचन्द्र देवकोटा र अर्का एक कार्यकर्ता रहेको नेकपा धादिङले जनाएको छ ।

पार्टी कामको शिलशिलामा रहेका उनीहरूलाई अपराह्न चार बजे गिरफ्तार गरेपछि नेकपा धादिङले एक प्रेस बिज्ञप्ति जारी गर्दै गिरतार नेता कार्यकर्तालाइ तत्काल रिहा गर्न माग गरेको छ । गिरफ्तार नेता कार्यकर्तालाई रिहा नगरे कडा संघर्षमा उत्रिने नेकपाले चेतावनी दिएको छ ।

यस्तै पार्टीको युवा संगठन नेपाल उपत्यका ब्यूरोले पनि गिरफ्तार नेता कार्यकर्तालाई तुरुन्त रिहा गर्न माग गरेको छ। बुधाबार नै उता अर्घाखाँचीमा अभियानकै क्रममा नेकपाका नेता पूर्ण सिंहसहितको टोलिलाई प्रहरीले गिरफ्तार गरेको अपुष्ट खबर आएको छ ।

नेकपा गुल्मी जिल्ला इन्चार्ज समेत रहेका सिंहसहित जिल्ला सेक्रेटरी खेम खड्का, अर्घाखाँची जनसरकार प्रमुख पिताम्बर पोख्रेल र टुकलाल पुनलगायत अभियान टोलीलाई प्रहरीले गिरफ्तार गरेको बताइएको छ ।

नेकपाका नेताहरूलाई छत्रदेव गाउँपालिका ४ शारदा माविबाट गिरफ्तार गरिएको समाचार बाहिरीएपनि यो समाचार तयारपार्दासम्म अर्घाखाँचीको गिरफ्तारीबारे नेकपाले औपचारिकरुपमा कुनै जानकारी दिएको छैन ।

२०७५ माघ २४ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड