इमान्दार संवाददाता
३२ पटक

काठमाडौं । सत्तारुढ नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले नेपाली राष्ट्रिय क्रिकेट टोलीले विश्वमा नेपालको सम्मान र इज्जत बढाउन सफल भएको भन्दै बधाई तथा शुभकामना दिएका छन् ।

ऐतिहासिक विजय हासिल गरेर फर्किएको भन्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई अध्यक्ष प्रचण्डले मंगलबार विहान खुमलटारस्थित निवासमा भएको भेटमा राष्ट्रिय टीमका खेलाडीलाई हात मिलाएर बधाई दिएका हुन् ।

प्रचण्डले नेपालको ऐतिहासिक जीतले आफूलाई खुसी लागेको र देश समृद्धिको यात्रामा अघि बढेको बेला राष्ट्रिय एकतालाई मजबुत गर्न क्रिकेट खेलमा भएको प्रगतिले ठूलो भुमिका खेलेको उनको भनाई थियो । राज्यले खेल क्षेत्रलाई विशेष महत्व दिएको र चितवनमा बन्ने स्टेडियमबाट क्रिकेट खेलको विकासमा झन योगदान पुग्ने प्रचण्डले बताएका थिए ।

आफ्नो तर्फबाट यो क्षेत्रको विकास र खेलाडिको मनोबल उच्च राख्न सक्दो सहयोग गर्ने समेत उनले विश्वास दिलाएका थिए । प्रचण्डसँग भेटका लागि नेपाली राष्ट्रिय टोलीका खेलाडीहरु खुमलटार पुगेका थिए ।

पहिलो पटक एकदिवसीय र टी-२० सिरिज जितेर सोमबार स्वदेश फर्किएको नेपाली क्रिकेट टोलीको भव्य स्वागत भएको थियो । खेलाडीको स्वागतमा राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना, राष्ट्रिय खेदकुद परिषद (रापेख) उपाध्यक्ष पिताम्बर तिम्सिना, सदस्य सचिव केशव विष्ट लगायत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए । खेलाडीहरुका लागि रातो कार्पेट समेत विछ्याइएको थियो ।

यसैबीच राखेपले क्रिकेट खेलाडीहरुलाई जनही ५ लाख दिन सिफारिस गर्ने भएको छ । सदस्य सचिव विष्टले भने, प्रत्येक खेलाडीलाई ५ लाख दिन भोलि मन्त्रालयमार्फत प्रस्ताव लैजाँदैछु ।’

यसपटक तेस्रो तथा अन्तिम टी-२० यूएईमाथि १४ रनको जित हात पार्दै नेपाललाई टी-२० सिरिज जिलाउने क्रममा नेपाली खेलाडीहरुको प्रदर्शन लोभलाग्दो थियो । कप्तान पारस खड्कासँगै विनोद भण्डारी र सन्दीप जोराले विस्फोटक ब्याटिङ गरेका थिए भने अभिनाश बोहोरा, करण केसी र अन्तिम ओभरमा ललित राजवंशीले उत्कृष्ट बलिङ गरे । तर, धेरैको मन उपकप्तान ज्ञानेन्द्र मल्लले जिते ।

त्यसमा पनि अन्तिम ओभरको पहिलो बलमा ज्ञानेन्द्रले लिएको क्याच लोभलाग्दो थियो । यदि यो बलमा छक्का वा चौका भएको भए खेल नेपालको पक्षमा नआउन पनि सक्थ्यो ।

तर, ज्ञानेन्द्रले डाइभ हान्दै क्याच लिएका थिए । ‘एउटा फिल्डरका रुपमा कति छिटो बलमा पुगौं भन्ने हुन्छ । बाउन्ड्री लाइनमा फिल्ड गरिरहेको छु भने कसरी चौकाछक्का रोक्ने, कसरी क्याच लिने भन्ने हुन्छ’ उनी भन्छन्, ‘त्यो बेला क्रुसल टाइम थियो । त्यो बल बाउन्ड्री वा छक्का हुनु हामीलाई दबाव हुनसक्थ्यो ।’

‘बल देख्न वित्तिकै कति चाँडो पुगौं भन्नेभयो । सकेसम्म क्याच लिने र नभए पनि बाउन्डी रोक्ने सकेेँ भने हाम्रो लागि राम्रो हुन्छ भन्ने सोचेर बल नजिक पुगेको थिए । हात लगाएँ र क्याच नै लिन सफल भएँ’ ज्ञानेन्दले अघि भने । ललित राजवशीको बलमा ज्ञानेन्द्रले लिएको यो क्याचसँगै खेल नेपालको पक्षमा आयो ।

तर, ज्ञानेन्द्र भने त्यो भन्दा पनि साइमन अनवरको क्याचलाई महत्वपूर्ण मान्छन् । जुन उनैले करण केसीको बलमा लिएका थिए । अनवर राम्रो पारी खेलिरहेका थिए र उनले यूएईलाई जिताउन सक्थे । तर, आठौं ओभरको पहिलो बलमा बलमा ज्ञानेन्द्र मल्लले लङ अन बाउण्ड्रीमा एक हातले क्याच लिइदिए ।

उपकप्तान ज्ञानेन्द्र भन्छन्, ‘अन्तिम ओभरको भन्दा साइमन अनवरको क्याच निर्णायक मान्छु ।’ नेपाललाई टी-२० सिरिज दिलाउने त्यो खेलमा उपकप्तान ज्ञानेन्द्रको समग्र फिल्डिङ अविश्वसनीय थियो । त्यसैले त ब्याटिङ प्रशिक्षक उमेश पटवालले खेलपछि करण म्यान अफ दि म्याच भएपनि वास्तविक नायक ज्ञानेन्द्र भएको प्रतिक्रिया दिएका थिए ।

२०७५ माघ २२ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड