इमान्दार संवाददाता
१३६ पटक

काठमाडौं । भेनेजुएलामाथिको अमेरिकी हस्तक्षेप बिरुद्ध प्रचण्डले कडा विज्ञप्ति निकालेपछि कतिपयले नेपाल–अमेरिका सम्बन्ध चिसिएको चर्चा गरे ।

अमेरिका नेपालसँग रिसाएको चर्चा चलिरहेका बेला परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरी एउटै मञ्चमा देखिएका छन् । भेनेजुयलामा अमेरिकी हस्क्षेपका विरुद्ध सत्तारुढ नेकपा र सरकारको विज्ञप्तिले अमेरिका रिसाएको चर्चा चलेका बेला उनीहरुलाई सँगै देखिनुलाई कतिपयले आश्चर्यजनक रुपमा हेरिरहेका छन् ।

परराष्ट्रमन्त्री ज्ञवाली मुख्य अतिथि र राजदूत बेरी विशेष अतिथिका रूपमा नेपाल सरकार, पर्यटन बोर्ड र अमेरिकी दूतावासको आयोजनामा काठमाडौंमा सोमबार आयोजित ‘इंगलिस ल्यांग्वेज एन्ड अपेरेसनल स्किल्स ट्रेनिङ फर टुरिज्म एन्ड इमिग्रेसन अफिसियल्स’ अंग्रेजी भाषा प्रशिक्षण शुभारम्भ कार्यक्रममा उनीहरू सँगै देखिएका हुन् । त्यस अवसरमा उनीहरूले सामूहिक फोटो पनि खिचाए ।

कार्यक्रममा मन्त्री ज्ञवालीले नेपाल पर्यटन वर्ष २०२० लाई लक्षित गरेर कार्यक्रम आयोजना गरिएको र यसले नेपालमा आउने पर्यटकसँग सूचना आदानप्रदान गर्न तथा सत्कार गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए । नेपालमा पर्यटक भित्र्याउनका लागि अमेरिकी सरकारले ठूलो सहयोग गरेको भन्दै मन्त्री ज्ञवालीले अमेरिकाको प्रशंसा गरे ।

राजदूत बेरीले नेपालमा गतवर्ष अमेरिकाबाट ९० हजार पर्यटक आएका र यो संख्या वृद्धि गर्नका लागि अमेरिकाको सहयोग जारी रहने बताएका थिए । बेरीले नेपालमा आउने अमेरिकी पर्यटकको संख्या बढ्दै जानु दुवै देशका लागि राम्रो भएको र यसलाई सौहार्द तरिकाले सघाउने बताए ।

केहीदिन पहिले परराष्ट्र मन्त्रालयले काठमाडौंमा रहेका विदेशी कूटनीतिक नियोगका प्रमुखहरूका लागि राखेको ब्रिफिङमा भने राजदूत बेरी अनुपस्थित थिए । आफु आफ्नो पूर्वनिर्धारित अर्काे कार्यक्रम रहेकाले ब्रिफिङमा सहभागी नभएको उनले बताएका छन् ।

परराष्ट्र स्रोतका अनुसार नेपाल–अमेरिका सम्बन्ध बिग्रिएको भन्ने अनावश्यक हल्ला गरिएको गरिएको छ । त्यसको पुष्टि सोमबारको कार्यक्रमले पनि गरेको परराष्ट्रका एक अधिकारीले बताए ।

यसैबीच नेपाल कम्युनिस्ट पार्टीले भेनेजुएलाको राजनीतिक विषयमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जारी गरेको विज्ञप्तिमा कुनै दुविधा नभएको जनाएको छ ।

सोमबार बसेको सचिवालय बैठकले विदेश नीतिमा नेकपाको कुनै दुविधा, अन्योल नभएको जनाउँदै अध्यक्षको विज्ञप्तिलाई सदर गरेको हो । महासचिव विष्णु पौडेलले जारी गरेको निर्णयको जानकारी सम्बन्धी विज्ञप्तिको भाषा भने शिष्ट भाषामा भनिएको छ,‘हाम्रो पार्टी संयुक्त राष्ट्र संघको पञ्चशीलको सिद्धान्तको मान्यतामा छौं, कुनै पनि मुलुकको सार्वभौमसत्ता त्यहि मुलुकका जनताको निर्णयका आधारमा हुनुपर्छ ।’

२०७५ माघ २२ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड