इमान्दार संवाददाता
१८८ पटक

काठमाडौं । नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकार बीएस राणाको निधन भएको छ । उनको उपचारको क्रममा काठमाण्डौको टिचिङ अस्पतालमा निधन भएको चलचित्र कलाकार संघकी महासचिव सरिता लामिछानेले जानकारी दिइन् । राणाको केही समयदेखि बिरामी थिए ।

राणाको ७८ बर्षको उमेरमा निधन भएको हो । उपचारको क्रममा उनको मुटुमा पनि समस्या देखिएको थियो । उनले अभिनय गरेको पहिलो चलचित्र ‘अन्याय’ हो । वि.सं २०४१ सालमा बनेको यो चलचित्रबाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेका उनले सय भन्दा बढी चलचित्रमा अभिनय गरेका थिए । उनले केही टेलिसिरयलमा पनि अभिनय गरेका थिए ।

उनले अभिनय गरेका चलचित्रहरुमा ‘दक्षिणा, कोसेली, चिनो, दुई थोपा आँशु, नेपाली बाबु, करोडपति, दर्पण छाया २, सेतो बाघ, हवल्दार सुन्तली, काफल पाक्यो, सम्बोधन, साथी म तिम्रो, आई एम सरी, कसले चोर्यो मेरो मन, दासढुंगा, बसन्ती, दाग’ लगायतका थिए । उनको आजै पशुपति आर्यघाटमा दाहासंकार गरिने वुझिएको छ ।

बीएस राणाले जति नेपाली फिल्म खेले, अधिकांशमा उनी सम्पन्न परिवारको बुबाको भूमिकामा देखिए । उनको मौलिक अभिनय थियो, त्यसैले यस्तो भूमिकामा राणा निर्विकल्प जस्तै थिए । सेतो बाघ, वसन्तीजस्ता चलचित्रमा त उनी राजदरबारसँग नै जोडिएका थिए । उनको पहिरन, बोलीचाली हेर्दा र सुन्दा लाग्दैनथ्यो कि, उनको वास्तविक जीवन यति पीडादायी छ ।

बीएस राणाले अभिनय गरेको पछिल्लो चलचित्र दर्पण छाया २ मा उनी धनाढ्य हजुरबुबाको भूमिकामा देखिएका थिए । करोडपति होस् या नेपालीबाबु, बीएस राणाको भूमिका लोभलाग्दो थियो । तर, अन्त्य भने दुखान्त भयो ।

जीवनको अन्तिम कालखण्डमा उनी आर्थिक अभावसँग जुधिरहेका थिए । आर्थिक अभावसँग जुध्दाजुध्दै राणाको ७६ वर्षको उमेरमा शुक्रबार निधन भयो । आज्माको रोगी राणाको महाराजगन्जस्थित शिक्षण अस्पतालमा उपचारको क्रममा शुक्रबार निधन भएको हो ।

अस्पतालमा भेटिएका निर्देशक तुलसी घिमिरे स्तब्ध थिए । चलचित्र ‘अन्याय’मा काम गरेपछि राणा र घिमिरे निकट बनेका थिए । त्यसपछि लगातारसँगै काम गरेका घिमिरे सम्झन्छन् ।

उनका अनुसार कलाकार राणा भोलिबारे उति परवाह गर्दैनथे । ‘उनले आफ्नो भित्री दुःख कहिल्यै देखाएनन्’, घिमिरेले भने, ‘सरल र कसैले भनेको कुरा नकाट्ने खालका थिए ।’

निर्देशक घिमिरेका अनुसार पछिल्लो समय राणा आर्थिक समस्यामा थिए । उनले बाँसबारीमा रहेको घर–जग्गा बेचेका थिए । २२ दिनअघिको भेटमा बीएसले नयाँ चलचित्रबारे चासो राखेको घिमिरेले बताए । उनले भने, ‘आजै यस्तो होला भन्ने त सपनामा पनि सोचिएको थिएन ।’

निर्देशक घिमिरेमार्फत बीएस राणालाई चिनेका बिक्रम कार्कीले उनी माघ ५ गते आफ्नो अफिसमा आएको बताए ।

रोगले च्यापेपछि कार्कीले नै ११ गते शुक्रबार अस्पताल पुर्‍याएका थिए । ‘उहाँको योगदानको अभिलेख पनि होस् र आर्थिक सहयोग पनि जुटोस् भने उहाँको जिवनीमा आधारित डकुमेन्ट्री बनाउन लागेको थिएँ । ‘तर अस्पतालमा निको पारेर फर्काउनै सकिएन ।’

निकटवर्तीहरुका अनुसार रोगले च्याप्दै लगेपछि काम पाउन छाडे । घर चलाउन र उपचार खर्च अभाव भएपछि भएको घर बेचे । पछिल्लो समय कोठा भाडा तिर्नसमेत गाह्रो भएको थियो ।

राणा नरहेको खबर सुनेर शिक्षण अस्पताल पुग्नेमा कलाकार संघकी महासचिव सरिता लामिछाने पनि थिइन् । उनले भनिन्, ‘उहाँ मात्र होइन, केही पनि जेष्ठ नागरिकले यो अवस्थामा मृत्यु झेल्न नपरोस् ।’ कलाकार बीएस राणाको अन्त्येष्टिको सबै खर्च कलाकार संघले ब्यहोर्ने लामिछानेले जानकारी दिइन् ।

२०७५ माघ १९ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड