इमान्दार संवाददाता
६९ पटक

काठमाडौं । मार्जिन कारोबारसम्वन्धी सेवा दिनुअघि ब्रोकर कम्पनीहरुले ग्राहकसँग लिने ब्याजदरबारे नियामक निकाय धितोपत्र बोर्ड र नेप्सेलाई जानकारी गराउनुपर्ने भएको छ।

धितोपत्र बोर्डले एक निर्देशन जारी गर्दै नियामकका अलवा ग्राहकलाई व्याजदरबारेमा राम्ररी जानकारी दिएर मात्रै सेवा थाल्न भनेको छ। ग्राहकसँग सम्झौता गर्नुअघि सम्झौतामा उल्लेख भएका विषयमा ग्राहकलाई स्पष्ट पार्न बोर्डले ब्रोकरहरुलाई भनेको छ। यदी ब्रोकरले तोकेको व्याजदर अनुचित ठहरिएमा हस्तक्षेप गर्न सकिने बोर्डले स्पष्ट पारेको छ।

मुलुकमा तरलताको समस्याले धितोपत्र बजार प्रभावित भएको भन्दै लामो समयदेखि लगानीकर्ताले ब्रोकरमार्फत मार्जिन कारोबारको व्यवस्था गर्नुपर्ने माग गर्दै आएका छन्। सो अनुरुप मुद्रा तथा पुँजी बजार समस्या समाधानका लागि गठित कार्यदलले समेत ब्रोकरमार्फत मार्जिन कारोबार गर्न सुझाएको थियो। यद्यपी अहिलेसम्म कार्यान्वयनमा आउन सकेको छैन।

स्टक एक्सचेञ्जले गत वैशाखमा “मार्जिन कारोवार सुविधा सम्बन्धी कार्यविधि, २०७५” तर्जुमा गरेको छ। सूसूचित नभई मार्जिन कारोवार लिँदा जोखिमपूर्ण हुने भन्दै बोर्डले सचेतनामूलक कार्यक्रम संचालन गर्न नेप्सेलाई निर्देशन दिएको छ। मार्जिन कारोवारको नियमित र सघन रुपमा सुपरीवेक्षण तथा अनुगमन गर्न बोर्डले भनेको छ।

धितोपत्र दलालले ग्राहकलाई उपलब्ध गराउने ऋणको व्याजदर सम्बन्धमा अस्वाभाविक स्थिति आएमा हस्तक्षेप हुने र यस सम्वन्धमा राष्ट्र बैंकलाई समेत जानकारी गराइएको बोर्डले जनाएको छ।

ब्रोकर कम्पनीले दिने मार्जिन कारोबार सेवा के हो ?

कुनै पनि कम्पनीको धितोपत्र खरिद गर्दा निश्चित रकम सापटीका रुपमा ब्रोकर कम्पनीले ग्राहकलाई दिनु नै मार्जिन कारोबार हो। धितोपत्रमा ग्राहकलाई परेको कुल मूल्यमा आधा रकम (सम्झौताअनुसारको) ब्रोकर कम्पनीहरुले निश्चित अवधिसम्मका लागि तिरिदिनेछन्, करिब आधा रकम ग्राहकले तिर्नुपर्ने हुन्छ।

ब्रोकर कम्पनीले तिरिदिएको रकमको ग्राहकले व्याजसहित निश्चित अवधिपछि भुक्तानी गर्न सक्नेछ। यदी ग्राहकले सो रकम नतिरेमा धितोपत्र बेचेर अशुल्ने अधिकार ब्रोकर कम्पनीहरुलाई हुनेछ। आफ्नो रकम अशुलेपछि बाँकी रकम भने सम्बद्ध ग्राहकलाई दिनुपर्दछ।

यस्तो कारोबार प्रणाली जोखिमपूर्ण पनि उत्तिकै हुने गर्दछ। किनेको धितोपत्रको बजार मूल्य झर्दै जाने हो भने एकातर्फ सम्पत्तिको मूल्य झर्ने र अर्कोतर्फ व्याजदरको भार समेत बोक्नुपर्ने भएकाले दोहोरो जोखिम यसले निम्त्याउन सक्ने कतिपयको विश्लेषण छ। यद्यपी अहिले पनि बैंकहरुमार्फत सेयर धितो राखेर कर्जा लिन पाइने व्यवस्था छ।

कतिपयले भने बजारमा तरलताको अभाव हुँदा बैंकहरुमार्फत सेयर धितोमा कर्जा नपाइने समस्या रहेकाले यसको आवश्यकता भएको दावी गर्दै आएका छन्।

‘जोखिम लिन चाहनेले अहिले पनि बैंकबाट ऋण लिएर सेयर किनिरहेका छन्’ एक लगानीकर्ताले भने ‘मार्जिन कारोबार पनि जोखिम लिन चाहनेका लागि हो, जोखिम नचाहनेले मार्जिन कारोबार वा बैंकबाट ऋण लिँदैनन्।’

२०७५ माघ १८ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड