इमान्दार संवाददाता
१२१ पटक

काठमाडौं । दोस्रो संस्करणको हिमालयन हाइड्रो एक्स्पो राजधानीको भृकुटीमन्डपमा सुरु भएको छ । एक्स्पोको शुक्रबार उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेका हुन् । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) र एक्स्पो एन्ड इभेन्ट मेनेजमेन्ट सर्भिसेज प्रालिको संयुक्त आयोजनामा एक्स्पो गरिएको हो ।

एक्स्पोको अवलोकन गर्दै उपराष्ट्रपति पुनले सरकार, निजी क्षेत्र तथा विदेशी लगानीकर्ताहरु जलविद्युत् आयोजनामा लगानी गर्न लालायित भएको भन्दै उचित नीति, कानुन र इच्छाशक्तिको खाँचो रहेको बताए ।

अझैपनि मुलुक बिजुलीमा आत्मनिर्भर हुन नसकेको भन्दै उनले सबैभन्दा पहिले ऊर्जामा आत्मनिर्भर हुनुपर्नेमा जोड दिए । भान्छामा ग्यास नभइ विद्युतीय चुलो बल्नुपर्ने र सडकमा विद्युतीय सवारी गुड्नुपर्ने उपराष्ट्रपतिको भनाइ थियो ।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले जलस्रोतमा निजी क्षेत्रको लगानी भित्र्याउन सहज वातवरणको आवश्यक्ता औंल्याउँदै निजी क्षेत्रको लगानीलेमात्रै पनि देशको समृद्धिको सपना साकार पार्नसक्ने दाबी गरे ।

हाइड्रोपावर क्षेत्रमा भ्याट रिफन्डको व्यवस्था नगरिएकोप्रति गुनासो गर्दै उनले ‘चुरोट तथा मदिरा उद्योगहरुले भ्याट रिफन्ड पाउने तर जलविद्युत् परियोजनाले पाउनुपर्दैन ?’ भनी प्रश्न गरे ।

इप्पानका अध्यक्ष शैलेन्द्र गुरागाइँले सरकारको १५ हजार मेगावाट जलविद्युत् उत्पादन गर्ने लक्ष्यलाई सहयोग गर्ने लक्ष्यका साथ आयोजना गरिएको एक्स्पोले विभिन्न मुलुकका जलविद्युत् क्षेत्रका सरोकारवालालाई एकै छानामुनि भेला गराएको उल्लेख गरे ।

कार्यक्रममा ऊर्जा समस्या समाधानमा रचनात्मक भूमिका निर्वाह गरेको भन्दै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सम्मान गरिएको थियो । सम्मानग्रहण गर्दै घिसिङले विद्युत्को मागलाई ध्यानमा राखेर काम गरिरहेको बताए ।

जलविद्युत् क्षेत्रको महत्वपूर्ण तथा ठूलो मानिएको एक्स्पोको एक लाख बढीले अवलोकन गर्ने अनुमान गरिएको छ । एक्स्पोमा ८५ भन्दा बढी प्रदर्शकहरुले १०० भन्दा बढी स्टलमार्फत् जलविद्युत् क्षेत्रसँग सम्बन्धित उत्पादन, सेवा तथा परामर्श दिनेछन् ।

चीन, भारत, अष्ट्रिया, कोरिया, स्वीडेन, जर्मनी, बुल्गेरिया तथा बेलायतलगायत मुलुकका जलविद्युत् क्षेत्रसँग सम्बन्धित कम्पनीहरु एक्स्पोमा सहभागी भएका जनाइएको छ ।

२०७५ माघ ४ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड