इमान्दार संवाददाता
२३१ पटक

काठमाडौं । केही दिनअघि विभाजित भएको विवेकशील–साझा पार्टीका संयोजक रवीन्द्र मिश्र र नेतृ रञ्जु दर्शना (न्यौपाने) बारे विवादास्पद समाचार प्रकाशित गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले रवीन्द्र र रञ्जुबारे भ्रामक समाचार लेखेको अभियोगमा मुक्त मिडिया प्रालि र नेपाल टक डटकमकका सञ्चालक सिन्धुपाल्चोकको मेलम्ची–३ का २४ वर्षीय श्याम रोकालाई पक्राउ गरेको हो ।

अपारध महाशाखाका प्रमुख एसएसपी धीरजप्रताप सिंहका अनुसार काठमाडौँको शान्तिनगरमा बस्ने रोकालाई बूढानीलकण्ठ नगरपलिका–६ बाट पक्राउ गरि अनुसन्धान अघि बढाइएको छ ।

उनीमाथि विद्युतीय अपराध तथा कसुर अन्तरगत अनुसन्धान सुरु गरिएको सिंहले बताए । ‘न्यौपानेको चरित्र हत्या गर्ने गरी रोकाले अश्लील समाचार सम्प्रेषण गरेको पाइयो’, सिंहले भने, ‘यस किसिमका भ्रमपूर्ण समाचार अरु कसैले पनि सम्प्रेषण नगर्न आग्रह गर्दछौँ ।’

रोकाले विवेकशील–साझा पार्टी विभाजित भएपछि रञ्जुले कार्यालयमै आफूलाई पार्टी संयोजक रवीन्द्र मिश्रले बलात्कार गर्न खोजेको समाचार सम्प्रेषण गरेका थिए । यो समाचार प्रकाशित भएलगत्तै रञ्जुले महाशाखामा साइबर क्राइम र गाली बेइजती अन्तरगत उजुरी दर्ता गराएकी थिइन् ।

यस विषयमा उनले सामाजिक सञ्जालमार्फत समेत जानकारी दिएकी थिइन । उक्त भ्रामक समाचारबारे रन्जुले खण्डन गर्दै भनेकी छिन- ‘साथीहरु, यस लिंकमा राखिएका जानकारी सरासर भ्रमित पार्ने र चरित्र हत्या गर्ने उद्देश्यले लेखिएकोले यसको पछाडि नलाग्न अनुरोध गर्दछु । यस विरुद्ध नेपाल प्रहरीको साइबर क्राइम विभागमा उजुरी दर्ता गरेको कुरा पनि जानकारी दिन चाहन्छु ।’

यसैबीच विवेकशील साझा पार्टीको बैठकले फुटका बारेमा समीक्षा गरेको छ। पूर्वनिर्धारित समयअनुसार सोमबारदेखि आजसम्म पार्टी केन्द्रीय कार्यालय बखुण्डोलमा बसेको केन्द्रीय समिति बैठकका निर्णय सार्वजनिक गर्दै प्रवक्ता डा. सूर्यराज आचार्यले पार्टीका पछिल्लो अवस्थालाई अनपेक्षित र दुखद घटनाका रुपमा मूल्याङ्कन गरिएको जानकारी दिए।

बैठकले पार्टीका संयोजक रवीन्द्र मिश्रद्वारा पूर्ण समीक्षात्मक रिपोर्ट तयार पार्ने निर्णय गरेको छ। पार्टीमा आएको विभाजनले प्रदेश, जिल्ला तथा स्थानीय तहको नेतृत्व र संरचनामा कुनै प्रकारको उल्लेख्य असर नपरेको मूल्याङ्कन बैठकले गरेको उनले जानकारी दिए।

पार्टीका मतदाता, शुभचिन्तक र शुभेच्छुकहरुमा अन्यौलता उत्पन्न भएकाले त्यसलाई चिर्न पार्टीका विभिन्न तहमा विविध कार्यक्रम गर्ने निर्णय बैठकले गरेको छ।

२०७६ फागुनमा पहिलो महाधिवेशन

विवेकशील साझा पार्टीले २०७६ साल फागुन १५ देखि १९ गतेसम्म काठमाडौँमा पहिलो महाधिवेशन गर्ने निर्णय गरेको छ। सो पार्टीले विदेशमा रहेका सबै नेपालीलाई राष्ट्रिय निर्वाचनमा मताधिकारको व्यवस्था गर्न सर्वोच्च अदालतले गरेको फैसलालाई कार्यान्वयनमा ल्याउन दबाबका कार्यक्रम सञ्चालन गरिने निर्णय गरेको छ।

बैठकले प्रदेश नं १ को संयोजकमा अनिल भेटवाललाई चयन गरेको छ। साथै अघिल्लो निर्णयअनुसार सुदूरपश्चिम प्रदेशबाट शैलु श्रेष्ठ, प्रदेश नं ५ बाट सरस्वती पन्थी भुसाल र गण्डकी प्रदेशबाट सुशीला केसी अधिकारीलाई केन्द्रीय समितिमा सामेल गरिएको छ।

‘विवेकशील साझा युवा सङ्गठन’ र ‘विवेकशील साझा महिला सङ्गठन’ गठन गरी दुवै सङ्गठनको संयोजकमा क्रमशः अब्दुस मियाँ र सोभिता परियारलाई जिम्मेवारी दिने निर्णय गरिएको छ।

पार्टीमा देखापरेका पछिल्ला चुनौती र आउँदा दिनमा लिनुपर्ने बाटोबारे यही माघ १२ गते काठमाडौँमा देशभरीका पार्टी प्रतिनिधि सदस्यसहित ‘विवेकशील साझा राष्ट्रिय सन्देश भेला’को आयोजना गर्ने निर्णय गरेको प्रवक्ता आचार्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

२०७५ माघ २ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड