इमान्दार संवाददाता
२९ पटक

दाङ । थारु समुदायको ठूलो पर्व माघी सुरु भएको छ । माघी पर्वलाई थारु समुदायले नयाँ वर्षका रुपमा मनाउने गर्दछन् । यो पर्वका अवसरमा थारु समुदाय गाउँका महतवाको घरमा जम्मा भएर वर्षभरिको योजना बनाउने परम्परा छ ।

माघीको आन्तरिक तयारी एक हप्ता अघिबाट सुरु गरिए पनि माघीको अघिल्लो दिन आज पुस ३० गते मासुको जोहो गरेर औपचारिक रुपमा माघीको सुरुवात गर्ने गरिन्छ । थारु समुदायका मानिस आज रातभर मघौटा र ढुम्रा गीत गाएर नाचगान गर्ने गर्दछन् ।

रातभर ढुम्रा गाएका थारु समुदायका मानिस भोलि बिहान नजिकैको नदी तालमा पुगेर विधि अनुसार स्नान गरि घर फर्किने गर्छन् ।त्यसपछि उनीहरुले छोरी चेलीका लागि निसराउ तयार गर्दछन् । चामल, नुन, उर्द लगायतको एक प्रकारको कोसेलीलाई निसराउ भन्ने चलन छ ।

निसराउ तयारपछि ठूला बडासँग ढोगभेट गरि माघी मनाउने गरिन्छ । थारु महतवा संघ दाङका अध्यक्ष रामप्रसाद चौधरीले माघी पर्व बिशेष गरी दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका थारु समुदायले मनाउने गरेको जानकारी दिए ।

माघीको आगमनसँगै थारु समुदायको बाहुल्यता रहेको दाङलगायतका पश्चिम तराईका जिल्लामा रौनक बढेको छ । थारु समुदायले माघी पर्व एक हप्तासम्म मनाउने गर्दछन् । यस्तै सुदूरपश्चिम प्रदेशले माघीको अवसरमा सार्वजनिक बिदा दिएको छ ।

गण्डकी प्रदेश सरकारले माघे संक्रान्तिका दिन प्रदेशभित्र सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबारको बैठकले बिदा दिने निर्णय गर्दै संघीय सरकारका निकायले पनि कार्यान्वयन गर्ने अपेक्षा गरेको छ ।

क्षेत्री, बाहुन, मगर, थारुलगायत समुदायले मनाउने भएकाले माघे संक्रान्ति अर्थात् माघी पर्वमा बिदाको निर्णय गरिएको सरकारका प्रवक्ता भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले बताए । प्रायः सबै जातजातिले मान्ने पर्व भएकाले सामाजिक एकता र सद्भाव कामय गर्न बिदाको निर्णय गरिएको बस्नेतको भनाइ थियो ।

२०७५ पुष ३० गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड