इमान्दार संवाददाता
६९ पटक

विराटनगर । विराटनगरमा अवैध हुण्डी कारोबारमा संलग्न रहेका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले विशेष सूचनाको आधारमा विराटनगर महानगरपालिका–७ स्थित आस्था नेपाल बहुउद्देश्य सहकारी संस्थाबाट उनीहरुलाई आइतबार पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा विराटनगर–७ का ३२ वर्षीय राजेश हेडा, विराटनगर–११ बस्ने २५ वर्षीय सुमित साह र विराटनगर १२ बस्ने ४१ वर्षीय दीपक कुमार कर्ण रहेका छन्।

पक्राउ परेका व्यक्तिमध्ये राजेश हेडा सोही सहकारी संस्थाको अध्यक्षसमेत रहेको अनुसन्धानबाट खुलेको छ। उनको कार्यकक्षबाट ६० लाख ७ हजार ६ सय बरामद गरिएको छ। हेडाले उक्त सहकारी संस्थाको आडमा हुण्डी कारोबार गर्दै आएको प्रारम्भिक सोधपुछको क्रममा खुलेको छ।

त्यस्तै, उक्त सहकारी संस्थाबाट नै सुमित साहको साथबाट ९ लाख ५० हजार रकम समेतबरामद गरिएको छ। उनले उक्त रकम राजेश हेडाबाट बुझी लान लागेको अवस्थामा बरामद गरिएको प्रहरीले जनाएको छ।

उक्त सहकारी संस्थाको म्यानेजर दिपक कुमार कर्णलाई समेत अनुसन्धानको क्रममा पक्राउ गरिएको छ। पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि राजश्व अनुसन्धान विभाग इटहरी पठाइने प्रहरीले जनाएको छ।

यस्तै उता हेटौडाबाट लागुऔषध कोरेक्स ओसार–पसारमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको ना ३ ख ४२०९ नंको ट्याङ्करलाई खानतलासी गर्ने क्रममा तेल ट्याङ्की र चेसिसकोबीच भागमा रहेको खाली ठाउँमा लुकाइछिपाई राखेको अवस्थामा दुई लिटर लागुऔषध कोरेक्ससहित उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको हो।

पक्राउ पर्नेमा ट्याङ्कर चालक इन्द्रसरोवर गाउँपालिका–५ का अरुण तामाङ, सहचालक सोही ठाउँ बस्ने १५ वर्षीय विजय तामाङ र १५ वर्षीय अर्का किशोर सुवास तामाङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक मधुकुमार थापाले जानकारी दिए। पक्राउ परेका तीनै जनालाई ‘लागुऔषध नियन्त्रण ऐन २०३३’ बमोजिम आवश्यक कारबाही भइरहेको उनले बताए।

२०७५ पुष २९ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड