इमान्दार संवाददाता
७३ पटक

कैलाली । संकटा क्लब धनगढीमा जारी ‘तेस्रो नेपाल आइस अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्डकप’को क्वार्टरफाइनलमा प्रवेश गरको छ ।

शुक्रबार भएको खेलमा गोर्खा ब्वाइज रुपन्देहीलाई २–० ले पराजित गर्दै संकटा अन्तिम आठमा पुगेको हो । धनगढी रंगशालामा संकटालाई जिताउनेक्रममा पहिलो हाफको इन्जुरी समयमा रवि सिलवाल र ८३औं मिनेटमा एलोन म्याक्सवेलले एक/एक गोल गरे ।

शनिबारदेखि प्रतियोगिताको क्वार्टरफाइनल चरणका खेलहरु सुरु हुनेछन् । पहिलो क्वार्टरफाइनलमा शनिबार सशस्त्र प्रहरीको एपीएफ क्लब र मेची नेत्रालय काँकडभिट्टा ट्रेनिङ सेन्टर आमने–सामने हुनेछन् । १२ टोली सहभागी प्रतियोगिताको विजेताले २१ लाख र उपविजेताले १० लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।

यस्तै महिलाको स्वास्थ्य अवस्थाप्रति महिलालाई नै सचेत गराउने उद्देश्यले आयोजना हुँदै आएको पिंकाथन काठमाडौंको तेस्रो संस्करण आगामी फागुन ११ गते हुने भएको छ ।

नेपालकै सबैभन्दा ठूलो महिला दौडमा कीर्तिमानी पाँच हजार महिलाले सहभागिता जनाउने अपेक्षा आयोजकको छ । चार स्पर्धामा प्रतिस्पर्धा हुने उक्त दौडको २१ किलोमिटरमा विजयी हुनेले ५१ हजार, उपविजेताले ३१ हजार तथा तेस्रो हुनेले २१ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

त्यसैगरी, १० किलोमिटर दौडको विजेताले ३१ हजार, उपविजेताले २१ हजार तथा तेस्रो हुनेले ११ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

२१ किलोमिटरको हाफ म्याराथनमा सशस्त्र प्रहरीकी कान्छीमाया कोजुले यसअघिका दुवै संस्करण जितेकी थिइन् । त्यसैगरी, १० किलोमिटरमा सशस्त्रकै सन्तोषी श्रेष्ठ साविक विजेता हुन् ।

बलिउड सुपर मोडल मिलिन्द सोमनको लोकल्याणकारी संस्था युनाइटेड सिस्टर्स फाउन्डेसनले महिलामा हुने स्तन क्यान्सरविरुद्ध जनचेतना जगाउने उद्देश्यले भारतका विभिन्न ८ सहरमा यो दौड गर्दै आएकोमा दुई वर्षदेखि अन्तर्राष्ट्रिय संस्करणकारुपमा काठमाडौंमा गर्न थालिएको हो । यो ‘फ्रेन्चाइज’ पिंकाथनलाई लिजर पोर्ट नेपाल प्रालिले नेपाल भित्र्याएको हो ।

उता झापा–११ पाँचथरको फिदिममा जारी १०औं अन्तर्राष्ट्रिय आमन्त्रण फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा सरस्वती युथ क्लबलाई १–० ले पराजित गर्दै झापा उपाधिनजिक पुगेको हो ।

झापाको जितमा कप्तान कर्ण लिम्बूले खेलको ५३औं मिनेटमा गरेको एकमात्र गोल नै निर्णायक बन्यो । खेलमा उत्कृष्ट प्रदर्शन गरेका झापाका दिलेन लोक्ताम ‘म्यान अफ दी म्याच’ घोषित भए । प्रतियोगिताअन्तर्गत् शनिबार हुने दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लब र रोयल एफसी दार्जिलिङ भिड्नेछन् ।

२०७५ पुष २७ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड