इमान्दार संवाददाता
४८ पटक

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बजेट अभावका कारण विगत १९ दिनदेखि आंशिक बन्द रहेका सरकारी कार्यालय खुलाउने विषयमा डेमोक्रेटिक नेताहरुसँगको वार्ता बीचैमा छोडेर उठेका छन् ।

डेमोक्रेटिक नेता एवं तल्लो सदनकी सभामुख न्यान्सी पेलोसी र चक शुमरले अमेरिका र मेक्सीकोबीच पर्खाल लगाउनका लागि विनियोजन गरिएको बजेटमा सहमती नजनाएपछि राष्ट्रपति ट्रम्पले वार्ता भंग गरेका हुन् ।

राष्ट्रपति ट्रम्पले डेमोक्रेटिक नेताहरुसँग भएको वार्तालाई समय बर्वादीको संज्ञा दिएका छन् । बजेट अभावले सरकारी कार्यालय आंशिक बन्द भएपछि झण्डै ८ लाख कर्मचारीले तलब पाउन सकेका छैनन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पले एक ट्वीट गर्दै डेमोक्रेटिक नेताहरुलाई सीमा सुरक्षाका लागि आफ्नो योजनामा सहयोग गर्न भनेको तर उनीहरुले हुँदैन भनेर जवाफ दिएको बताएका छन् ।

राष्ट्रपति ट्रम्पले आफ्नो चुनावी अभियानदेखिको प्रतिबद्धतामा रहेको सीमा पर्खाल निर्माणका लागि संघीय सरकारका कार्यालयहरु सञ्चालनका लागि तय गरिएको बजेटबाट रकमको व्यवस्था गर्नु पर्ने अडान लिँदै आएका छन् ।

ट्रम्प संघीय सरकारको कार्यसञ्चालन सम्बन्धी बजेटमा ५.७ बिलियन अमेरिकी डलर मेक्सिकोसँगको सीमा क्षेत्रमा बनाउने भनिएको सीमा पर्खालका लागि छुट्याउने अडानमा छन् ।

रिपब्लिकन र डेमोक्रेटिक पार्टी दुवैले लम्बिँदै गएको सरकारी कामकाज ठप्पका लागि एकअर्कालाई दोष लगाइरहेका छन् । संघीय सरकारका कर्मचारीलाई तलब खुवाउन नसक्नु राष्ट्रपति ट्रम्पका लागि समग्र नोक्सानी रहेको सभामुख न्यान्सीले बताएका छन् ।

उता प्रजातान्त्रिक गणतन्त्र कंगोमा सम्पन्न राष्ट्रपतीय निर्वाचनमा विपक्षी उम्मेदवार फेलिक्स् सिसेकेदी विजयी भएका छन् । उनले ३८ दशमलब ५ प्रतिशत मत ल्याएको त्यहांको निर्वाचन आयोगले जनाएको छ । सिसेकेदीले आफ्नो प्राथमिकता गरिबीविरुद्ध लक्षित हुने बताएका छन् ।

उनी मुलुक स्वतन्त्र भएपछि निर्वाचन जित्ने पहिलो विपक्षी नेता बनेका छन् । चुनावी नतिजाको औपचारिक घोषणापछि वर्तमान राष्ट्रपति जोसेफ काबिलाले १८ वर्षपछि सत्ता छाड्दै छैन ।

सन् १९६० मा बेल्जियमबाट स्वतन्त्र भएपछि प्रजातान्त्रिक गणतन्त्र कंगोमा विधिपूर्वक सत्ता हस्तान्तरण गर्ने राष्ट्रपति काबिलाले प्रतिबद्धता जनाएका छन् । तर चुनावमा धांधली भएको भन्दै अरु विपक्षी उम्मेदवारले सहजै चुनावी नतिजा स्वीकार गर्ने अबस्था नभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

२०७५ पुष २६ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड