इमान्दार संवाददाता
२६ पटक

काठमाडौँ । अन्ततः सरकारले निर्धारण गरेको उखुको मूल्य दिन चिनी उद्योगी तयार भएका छन्। चिनी उद्योगी र उखु किसानका प्रतिनिधीबीच बुधबार महोत्तरीको बर्दिबासमा भएको बैठकमा सरकारले तोकेको उखुको समर्थन मूल्य किसानलाई दिन उद्योगी तयार भएका हुन्।

सरकारले एक महिनाअघि नै चालु सिजनको लागि उखुको समर्थन मूल्य प्रतिक्वीन्टल पाँच सय ३६ रुपैयाँ ५६ पैसा तोकेको थियो। यसमा सरकारले दिने अनुदान बापतको ६५ रुपैयाँ २८ पैसा पनि जोडिएको छ। तर, उद्योगीहरुले भने चिनीको मूल्य घटेको बहाना बनाउँदै सरकारले तोकेको मूल्य किसानलाई दिन नसक्ने बताउँदै आएका थिए।

उद्योगीको असहमतीकै करण मंसिर दोश्रो सातादेखि चल्नुपर्ने चिनी उद्योग पुस अन्तिम हुँदा समेत चल्न सकेका छैनन्। यसअघि पटकपटक उद्योगी र किसान प्रतिनिधिबीच उखुको मूल्य तय गर्न भएका बार्ता विना निष्कर्ष टुंगिएका थिए।

बुधबारको वार्तामा भने उद्योगपति किसानलाई सरकारले तोकेको उखुको समर्थन मूल्य दिन तयार भएका वार्तामा सहभागी उखु उत्पादक महासंघका केन्द्रीय अध्यक्ष कपिलमुनी मैनालीले नेपालखबरलाई जानकारी दिए।

‘उद्योगीले किसानलाई अल्मल्याउने काम गरे। ढिलै भए पनि सरकारले तोकेको मूल्य दिन उनीहरु तयार भएका छन्। यसलाई हामीले सकारात्मक रुपमा लिनुपर्छ,’ मैनालीले भने।

आर्थिक वर्ष ०७५/७६ का लागि सरकारले तोकेको उखुको समर्थन मूल्य उद्योगीले स्वीकार गर्ने, उद्योगले उखु खरिद गरेको ४५ दिनभित्र किसानलाई भुक्तानी दिने, सस्तो ब्याजदरमा उद्योगीलाई ऋण दिलाउन किसानले सरकारसँग पहल गर्ने र उत्पादित चिनी खरिदका लागि किसान र उद्योगी मिलेर सरकारसँग पहल गर्ने सम्झौता दुई पक्षबीच भएको छ।

चालु वर्षका लागि उखु खरिदगर्दा उद्योगले चार सय ७१ रुपैयाँ २८ पैसा दिने र सरकारको तर्फबाट ६५ रुपैयाँ २८ पैसा अनुदान गरी प्रतिक्विन्टल पाँच सय ३६ रुपैयाँ ५६ पैसा मूल्य किसानले पाउनेछन्।

चालु सिजनका लागि किसानले सरकारले दिने अनुदानसहित प्रतिक्विन्टल पाँच सय ४५ रुपैयाँ मूल्य माग गरेका थिए। सहमतीसँगै अब दुई दिनभित्र देशैभरीका चिनी उद्योग सञ्चालन हुनेछन्। उद्योग सञ्चालन हुने भएपछि किसान उखु काट्ने तयारीमा जुटेका छन्।

महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपरासी, रुपन्देही, धनुषा, सिरहा, सप्तरी, सुनसरी, दाङ, बाँके, बर्दिया, कञ्चनपुर लगायतका तराईका डेढ दर्जन जिल्लाका किसानले व्यवसायिक रुपमा उखु खेती गर्दै आएका छन्।

२०७५ पुष २६ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड