इमान्दार संवाददाता
५२ पटक

काठमाडौँ । म्यान्चेस्टर सिटीले काराबाओ कपको सेमिफाइनलअन्तर्गत पहिलो लेगमा बुर्टोनलाई भारी गोलअन्तरले पराजित गरेको छ । आफ्नै घरेलु मैदान इतिहाद रंगशालामा भएको खेलमा सिटीले बुर्टोनको पोष्टमा गोलको वर्षा गर्दै ९-० गोलअन्तरले जित हात पारेको हो ।

फराकिलो गोलअन्तरले बुर्टोनलाई पराजित गर्ने क्रममा सिटीका गाब्रियल जेसुसले हृयाट्रिकसँगै चार गोल गरे । त्यस्तै, केभिन डे ब्रुयन, एलेक्जेन्डर जिन्चेन्को, फिल फोडेन, कायल वाल्कर र रियाड महरेजले गोल गरे ।

खेलको पाँचौ मिनेटमा नै ब्रुयनले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । सुरुवातीमै आक्रामक खेल खेल्दै अग्रता बनाएको सिटीका लागि खेलको ३०औं र ३४औं मिनेटमा जेसुसले गोल गर्दा ३७औं मिनेटमा जिन्चेन्कोले गोल गर्दै ४-० गोलको अग्रतामा पुर्‍याएका थिए ।

पहिलो हाफमा ४-० गोलको अग्रता बनाएको सिटीले दोस्रो हाफमा थप पाँच गोल गर्न सफल भयो । खेलको ५७औं मिनेटमा जेसुसले अर्को गोल गर्दै हृयाट्रिक पूरा गरेका थिए । उनको हृयाटि्रकसँगै सिटीले भने ५-० गोलको अग्रता बनाएको थियो ।

६२औं मिनेटमा फोडेनले गोल गर्दा ६५औं मिनेटमा जेसुसले व्यक्तिगत चौथो गोल गर्दै सिटीलाई ७-० गोलको अग्रता दिलाएका थिए । एकपछि अर्को गोल गर्ने क्रममा सिटीका लागि वाल्करले ७०औं र महरेजले ८३औं मिनेटमा गोल गर्दै बुर्टोनमाथि ९-० गोलको जित दिलाए ।

यस्तै रियल मड्रिडले स्पेनिस कोपा डेल रे फुटबलमा लेगानेसलाई पराजित गरेको छ । बुधबार राति आफ्नै घरेलु मैदानमा भएको कोपा डेल रे फुटबलको पहिलो लेगमा रियलले लेगानेसलाई ३-० गोलअन्तरले पराजित गरेको हो ।

रियलको जितमा सर्जियो रामोस, लुकास भाजक्वएज र भिनिसियस जुनियरले गोल गरे । खेलको ४४औं मिनेटमा पेनाल्टीबाट गोल गर्दै रामोसले रियललाई अग्रता दिलाएका थिए । पहिलो हाफसम्म एक गोलले अघि रहेको रियलले दोस्रो हाफमा थप दुई गोल गर्न सफल भयो ।

खेलको ६८औं मिनेटमा भाजक्वएजले गोल गर्दै रियललाई दोब्बर अग्रता दिलाएका थिए । खेलको ७७औं मिनेटमा जुनियरले गोल गर्दै रियललाई ३-० गोलको जित दिलाएका हुन् ।

त्यस्तै, कोपा डेल रेय फुटबलअन्तर्गत नै बुधबार राति भएको खेलमा गेटाफेले रियल भलाडोलिडलाई १-० गोलअन्तरले पराजित गर्दा भिल्लारियल र स्पानियोल २-२ गोल तथा अर्को खेलमा गिरोना र एट्लेटिको मडि्रड १-१ गोलको बराबरीमा रोकिएका छन् ।

२०७५ पुष २६ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड