इमान्दार संवाददाता
११९ पटक

अछाम । जिल्लाको रामारोशन गाउँपालिस्थित मुजाबगरमा पहिलोपटक गाडी पुगेको छ । मंगलबार नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताहरु गाडीसहित मुजाबगर पुगेपछि स्थानीय खुसी भएका छन् । उनिहरुले गाडी चालकसहित नेकपा नेता कार्यकर्तालाई फूलमाला र अबिर लगाएर स्वागत गरेका थिए ।

सङ्गठन विस्तार तथा सुदृढ अभियान लिएर सेती ब्युरोमा बिभिन्न कार्यक्रम गरिरहेको नेकपा आफ्नो अभियान लिएर मुजाबगर पुगेको हो । मुजाबगरमा नेकपाले भब्य जनसभा कार्यक्रम पनि सम्पन्न गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा महाकाली ब्युरो इन्चार्ज रामप्रसाद तिमिल्सिना ‘राप्ति’को प्रमुख आतिथ्यतामा सम्पन्न जनसभामा मुजाबगरका सहिद परिवारहरु सम्मानित भएका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै नेता राप्तिले जनयुद्धको आधारइलाका रामाराेशनबाट ठुलाे सख्यामा सहिदहरुले सहादत प्राप्त गरेको स्मरण गरे ।

‘जनयुद्धमा रामारोशन माओवादीको आधारक्षेत्र थियो । यसले सिङ्गो सेतीमहाकालीलाई आधारक्षेत्रको तेस्रो पिल्लरकोरुपमा आफुलाई खडा गरेको म स्मरण गर्न चाहन्छु’ नेता राप्तिले भने- ‘त्यसबखत रामारोशनले हामीलाई आश्रय दियो, यो  क्षेत्रबाट ठुलो संख्यामा योद्धाहरुले सहादत प्राप्त गर्नुभएको छ। यो उच्चसम्मानजनक र स्मरणलायक ठाउँमा आज हामी पुन: त्यो अधुरो क्रान्ति पुरा गर्ने अठोटका साथ उभिएका छौं ।’

सम्बोधनका क्रममा उनले सबै देशभक्त र परिवर्तनका पक्षधर दाजुभाई दिदीबहिनीहरुलाई अधुरो क्रान्ति पुरा गर्न नेकपाले तय गरेको एकीकृत जनक्रान्तिको यात्रालाई साथ दिन र गोलबन्द हुन् आव्हान समेत गरे ।

नेकपा अछामका सेक्रेटरी केवी बडुवालको अध्यक्षतामा भएको उक्त कार्यक्रमलाई अखिल नेपाल ट्रेडयुनियन महासंघका केन्द्रीय उपाध्यक्ष लोकबहादुर तल्लिमागर, जिल्ला इन्चार्ज दर्शनलगायतका नेताहरुले सम्बोधन गरेका थिए ।

कार्यक्रममा रामारोशन क्षेत्रकी पहिलो महिला सहिद उर्मिला बुढाका परिवारसहित दर्जनबढी सहिद परिवारहरुलाई सम्मान गरिएको नेकपा अछामले जनाएको छ ।

सोहि अवसरमा पहिलोपटक गाडी चलाएर मुजाबगर पुगेका चालक सहदेव सिंहसहित दर्जनौं युवाहरुले पार्टी प्रवेश गरेका थिए । नवप्रवेसीहरुलाई कार्यक्रमका प्रमुख अतिथि नेकपा केन्द्रीय सदस्य तथा महाकाली ब्युरो इन्चार्ज राप्तिले स्वागत गरेका थिए ।

कार्यक्रममा समाना साँस्कृतिक परिवारले आफ्नो २७ औँ कार्यक्रमका रुपमा मुजाबगरमा दमदार प्रस्तुति देखाएको थियो । अभियानका क्रममा २ महिनाअघि सेतीमहाकाली पुगेको सामना साँस्कृतिक परिवारको केन्द्रीय टोलीले बुधबार आफ्नो २८ औँ कार्यक्रमको जिल्लाको चौरपाटीमा गर्न लागेको छ ।

उक्त कार्यक्रम सकेर सामनाकाको टोली त्यहाँबाट फर्किने बताईएको छ ।

२०७५ पुष २५ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड