इमान्दार संवाददाता
८३ पटक

काठमाडौं । अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई बालुवाटार बोलाएर प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्काल राजीनामा दिन चेतावनी दिएका छन् । राजीनामा नदिए बर्खास्त गर्ने बताईएको छ ।

नेकपाका अध्यक्षद्वय ओली र प्रचण्डले राजदूत शेर्पाका विवादास्पद कामबाट सरकारको चर्को आलोचना भएको भन्दै राजदूतलाई राजीनामा दिन निर्देशन दिएका हुन् । शेर्पालाई बर्खास्त भन्दा बुद्धीमानीपूर्वक राजीनामा दिन दुवै अध्यक्षले सुझाव दिएको स्रोतले बतायो ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले राजदूत शेर्पालाई बर्खास्त गरेको खबर एकाएक बाहिर आए पनि त्यसमा सत्यता नभएको सरकारकै मन्त्रीले खुलासा गरिसकेका छन् ।  मानव वेचविखनमा संलग्न रहेको आरोप लागेकी राजदूत शेर्पाविरुद्ध सरकारले छानविन समिति बनाएर अनुसन्धान भइरहेको जनाएको छ ।

परराष्ट्र मन्त्रालयले राजदूत शेर्पालाई काठमाडौं बोलाएर स्पष्टीकरण लिएको छ । उनका पूर्व सवारी चालक एवं भान्छे वाङछु शेर्पाले राजदूत दम्पति मानव वेचविखनमा संलग्न रहेको आरोप लगाएपछि लक्की शेर्पा विवादमा तानिएकी हुन् ।

राजदूत शेर्पाले आफू विरुद्ध लगाइएको आरोप खण्डन गर्दै आएकी छिन् । वाङछुले अष्ट्रेलिया लगिदिने भन्दै राजदूत दम्पतीले पैसा उठाएको, अष्टेलिया नलगेपछि पैसा फिर्ता नदिएको आरोप लगाएका छन् ।

बर्खास्त गरेको समाचार बाहिरिएपछि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाका बारेमा अझै कुनै निर्णय नभएको खुलासा गरेका थिए । सोमबारको मन्त्रिपरिषद् बैठकले राजदूत शेर्पालाई बर्खास्त गरेकाे हल्ला बाहिर आए पनि परराष्ट्रमन्त्रीले यस्तो खुलासा गरेका हुन् ।

मंगलवार विहान एक अनलाइनसँग कुरा गर्दै मन्त्री ज्ञवालीले भने, ‘अनुसन्धान प्रक्रिया जारी छ । परराष्ट्र मन्त्रालयले राजदूत शेर्पालाई वर्खास्त गर्ने बारे कुनै निर्णय गरेको छैन ।’ मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीले राजदूतलाई राजीनामा दिन निर्देशन दिइसकेको भने स्रोतले बतायो । शेर्पाले अटेरी गरेर राजीनामा नदिए तत्काल बर्खास्त गर्ने पनि तयारी सरकारले गरेकाे बुझिएको छ । स्रोतका अनुसार शेर्पा पनि राजीनामा दिने तयारीमा छिन ।

२०७५ पुष २४ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड