इमान्दार संवाददाता
४१ पटक

उत्तर कोरियाली नेता किम जोङ उन मंगलबार बिहान रेल चढेर चीनको राजधानी बेइजिङ पुगेका छन्। समाचार संस्था रोयर्टर्सले मंगलबार बिहान बेइजिङमा भारी सुरक्षाका साथ मोटरकेड देखिएको र यो किमको हुनसक्ने बताएको छ।

यसअघि सोमबार चीन र उत्तर कोरियाका सरकारी सञ्चारमाध्यमले किमले उत्तर कोरियाको भ्रमण गर्न लागेको बताएका थिए। चिनियाँ समाचार संस्था सिन्ह्वाले राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा किमको चीन भ्रमणमा आउने बताएको थियो।

दक्षिण कोरियाका योन्ह्याप समाचार संस्थाले किम चढेको रेल सोमबार राति सवा १० बजे उत्तर कोरियाको सीमा कटेर चीन पुगेको जनाएको छ। संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्ले उत्तर कोरियामाथि लगाएको प्रतिबन्ध हटाउने विषयमा राष्ट्रपति सीसँग वार्ता गर्न किम बेइजिङ पुगेको बताइएको छ।

यसअघि नयाँ वर्षको २०१९ को शुभकामना सन्देशमा नेता किमले उत्तर कोरियामाथि लगाइएको प्रतिबन्ध नहटाए आफूले अर्को बाटो लिने चेतावनी दिएका थिए। किम बिहीबारसम्म चीनमा रहेनछन्। उनको भ्रमण दलमा पत्नी री सोल जुसकित अन्य उच्च अधिकारीहरू सभागी छन्।

यसअघि सन् २०१८ मार्चमा पनि किम रेल चढेर बेइजिङ आएका थिए। त्यो उनको पहिलो विदेश भ्रमण थियो। गत वर्ष नै किमले दक्षिण कोरियाली राष्ट्रपति मुन जाइ इनसँग पटकपटक वार्ता गरेका थिए भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग सिंगापुरमा शिखर वार्ता गरेका थिए।

राष्ट्रपति ट्रम्पसँगको वार्तापछि उत्तर कोरिया आणविक कार्यक्रम परित्याग गर्न सहमत भएको थियो। नयाँ वर्षको सन्देशमा नेता किमले अनआणविकीकरणलाई सफल बनाउन आफ्नो देशमाथि लागेको प्रतिबन्ध हटाउनु पर्ने सन्देश दिएका थिए। किमले यही वर्ष दक्षिण कोरियाको पनि भ्रमण गर्ने बताइएको छ। तर मिति भने टुंगो लागेको छैन।

रेलमा किन यात्रा गर्छन् उत्तर किम  ?

संसारभरिका नेता समय र सुविधाका कारण हवाइजहाज र हेलिकोप्टरमार्फत् यात्रा गरिरहेका बेला किम किन यातायातको पूरानो साधनमा यात्रा गर्छन्? के उनको रेल विशेष छ? अमेरिकी समाचार पत्र न्यूयोर्क टाइम्सका अनुसार किमको शासनजस्तै रेलको चलन पनि हजुरबुवाबाट बुवा हुँदै उनीसम्म आइपुगेको हो।

उत्तर कोरियामा शासन गर्ने किम तेस्रो पुस्ताका नेता हुन्। सन् १९५० को दशकमा दुई कोरिया छुट्टिएपछि उनका हजुरबुबा किम इल सङ शासक बनेका थिए। उनै सङले रेलबाट विदेश जाने चलन ल्याएका हुन्। सन् १९८४मा सङ रेलमै पूर्वी युरोप गएका थिए।

त्यसलाई उनका छोरा किम जोङ इलले पनि निरन्तरता दिए। इलको सन् २०११ मा रेल यात्राकै क्रममा हृदयघात भएर निधन भएको बताइन्छ।तेस्रो पुस्ताका उनले पनि आफ्नो पहिलो विदेश भ्रमण रेलबाटै गरे। इललाई हवाइजहाज यात्रा मन पर्दैनथ्यो। उनी हवाइ यात्रा गर्न डराउँथे।

सन् २००२ मा उनी तीन हप्ता लामो रूस यात्रामा गएका थिए। किमले चढ्ने रेलबारे सबै जानकारी खुपिया एजेन्सीका रिपोर्ट, यसमा चढेका मानिसका सम्झना र मिडियामा आएका समाचारमा आधारित हुन्।

रेलबाट इलले झन्डै दर्जन विदेश भ्रमण गरेका थिए तीमध्ये धेरै पटक उनी चीन आएका थिए। रेलमा संसारका सबैभन्दा महंगा वाइन राखिएको हुन्छ। यहीभित्र बार्बिक्यू पनि गर्न मिल्छ।

मार्चमा बेइजिङ आएको किमका रेलमा २१ डब्बा थिए। ती सबै हरिया रङका थिए। सबैका झ्यालमा कालो शिशा थियो ताकि बाहिरबाट भित्र को बसेको छ भन्ने कसैले नचिनून्। सन् २००९ मा दक्षिण कोरियाका सञ्चारमाध्यमले सार्वजनिक गरेको समाचारअनुसार किमको सुरक्षामा ९० डब्बा हुन्थे।

इल कुनै यात्रामा निस्कँदा एकैपटक तीन रेल दौडन्थे। त्यसमध्ये पहिलोमा सुरक्षा दस्ता हुन्थ्यो। जसले अघिल्लो स्टेशनको सुरक्षा चेक जाँच गर्थ्यो। दोस्रो रेलमा इल हुन्थे। तेस्रोमा थप सुरक्षाकर्मी र अन्य सामग्री हुन्थे।

रेलका हरेक डब्बा बुलेट प्रुफ हुन्छन्। सामान्य रेलको तुलना धेरै तौल हुने भएकाले यसको गति कम हुन्छ। यो रेल प्रतिघन्टा ३७ माइल (झन्डै ६० किलोमिटर) सम्म कुद्छ। यही रेलका लागि उत्तर कोरियामा २० वटा छुट्टै स्टेशन बनाइएको छ।

उत्तर कोरियाली सञ्चारमाध्यमले कहिलेकाहीँ रेलभित्र सवार आफ्ना नेताका तस्बिर पनि सार्वजनिक गर्छ। सन् २०१५ मा किम जोङ उन एक टेबलमा बसेको तस्बिर सार्वजनिक भएको थियो। रेलको त्यो डिब्बा कन्फ्रेन्स हलजस्तो देखिन्थ्यो।

सन् २०११मा उनका बुवा पनि यस्तै गरी बसेको भिडियो सार्वजनिक भएको थियो। इल चढेको रेलको अफिसका लागि प्रयोग गरिने डिब्बालाई अहिले टेबल र कम्युटरसहित प्योङयाङस्थित एक संग्रहालयमा राखिएको छ।

सन् २०११ मा इलसँगै यात्रा गरेका रूसी अधिकारी कोन्स्टान्टिन पुलिकोभ्की११ले रेलमा रसियन, कोरियन, चाइनिज, जापानिज र फ्रेन्च खाना पाइने उल्लेख गरेका छन्।

अल्छी लागेमा इललाई मनोरञ्जन दिने महिलाहरू पनि रेलमै हुन्थे। तिनीहरूलाई लेडी कन्डक्टर भनिन्थ्यो। उनले आफ्ना बुवाजस्तै लेडी कन्डक्टर रेलमा राख्छन् कि राख्दैनन् भन्नेचाहिँ खुलेको छैन।

२०७५ पुष २४ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड