इमान्दार संवाददाता
१५३ पटक

काठमाडौं । अफ्रिकी राष्ट्र ग्याबोनको सेनाले निर्वाचित राष्ट्रपतिलाई हटाएर शासन सत्ता आफ्नो हातमा लिएको छ।

सोमबार बिहान साढे चार बजे सरकारी रेडियोमार्फत् सम्बोधन गर्दै एक सैन्य अधिकारीले देशमा प्रजातन्त्र पुनर्स्थापना गर्न आफूहरूले शासन सत्ता हातमा लिएको बताए। रेडियो सम्बोधनलगत्तै हतियारसहितका सैनिक सरकारी टेलिभिजनमा देखिएका थिए। टेलिभिजनबाट पनि सैनिकले राष्ट्रपति अलि बोंगोलाई अपदस्त गरिएको बताए।

५९ वर्षीय बोंगोलाई गत अक्टोबरमा साउदी अरेबियामा हुँदा हृदयघात भएको थियो। उनी अहिले पनि मोरोक्कोको अस्पतालमा उपचाररत छन्। उनी आफ्ना बुवापछि सन् २००९ मा ग्याबोनको राष्ट्रपति बनेका थिए। र २०१६ मा फेरि राष्ट्रपति निर्वाचित भएका थिए।

सेनाले बोंगोको काममा असन्तुष्टि जनाउँदै शासन सत्ता हातमा लिएको हो। यता मलेसियाका राजा सुल्तान मुहम्मद पाँचौंले राजगद्दी त्याग गरेको राजप्रासाद अधिकारीहरुले आइतबार बताएका छन् ।

यो घोषणासँगै मलेसियाका राजा बिदामा बस्नुको कारणबारे केही सातादेखिको चलिरहेको अडकलबाजी समाप्त भएको छ । मलेसियाली राजाले रुसी पूर्व सुन्दरीसँग विवाह गरेको अनुमान पनि गरिएको छ ।

मुस्लिम–बहुल मलेसियामा सन् १९५७ यता कुनै राजाले राजगद्दी त्याग गरेको यो पहिलो घटना हो । राजप्रासाद कार्यालयको वक्तव्यमा भनिएको छ, ‘महाराजाधिराज सुल्तानले जनवरी ६ तारिखबाट लागू हुनेगरी १५औं राजाका रुपमा गद्दी त्याग गर्नुभएको राजदरबारले जानकारी दिएको छ ।’

तर राजप्रासाद कार्यालयले ४९ वर्षीय राजाले राजगद्दी त्याग गर्नुको कुनै कारण खुलाएको छैन । राजा सुल्तानले सन् २०१६ डिसेम्बरमा राजगद्दी सम्हालेका थिए । उनले गत नोभेम्बरमा औषधि उपचारका लागि भन्दै लामो विदा लिएका थिए ।

उनले विदा लिएलगत्तै केही अनलाइन सञ्चार माध्यममा राजा सुल्तानले रुसकी पूर्व सुन्दरी (मिस मस्को) सँग विवाह गरेको खबर आएको थियो । मलेसियामा संवैधानिक राजतन्त्रात्मक व्यवस्था छ । मलेसियाका नौ वटा राज्यबाट पालैपालो हरेक पाँच वर्षमा नयाँ राजा हुने अनौठो प्रचलन छ ।

यता  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोको सीमामा पर्खाल लगाउने आफ्नो मागमा कुनै सम्झौता नहुने बताएका छन् । मेक्सिकोको सीमामा पर्खाल लगाउनका लागि चाहिने ५ अर्ब ६० करोड डलर संसद्ले विनियोजन गर्नुपर्ने उनको माग छ ।

राष्ट्रिय सुरक्षाका लागि पर्खाल लगाउन आफूले मागेको रकम संसद्ले विनियोजन नगरे राष्ट्रिय आपतकाल लागू गर्ने चेतावनी पनि उनले दोहोर्‍याए । डेमोक्रेटिक पार्टीका सांसदहरु राष्ट्रपतिको मागमा सहमत हुन नसक्दा संसद्बाट पारित विनियोजन विधेयकमा ट्रम्पले हस्ताक्षरसमेत गरेका छैनन् ।

सोही कारण अहिले अमेरिकाको सरकारी काम आंशिक रुपमा ठप्प भएको छ । उनले सरकारी काम वर्षौंसम्म ठप्प पारेर भए पनि पर्खाल लगाउने आफ्नो चाहना पूरा गर्ने बताए । तर डेमोक्रेटिक सांसदहरुले भने राष्ट्रपतिको पर्खाल लगाउने चाहना अनैतिक भएको बताइरहेका छन् ।

राष्ट्रपति ट्रम्पले अब सरकारी काम सुचारु गर्ने या नगर्ने भन्नेमा डेमोक्र्याटहरुमै भरपर्ने बताए । डेमोक्र्याटहरुसँग केही दिन प्रतिक्षा गर्ने र त्यसपछि आवश्यक परे आपतकाल लागू गर्ने उनको भनाइ छ । अमेरिकी कानुनमा राष्ट्रिय आपतकालको अवस्था आएमा राष्ट्रपतिले सैन्य परियोजनाको काम सिधै गर्न सक्ने व्यवस्था छ ।

तर यसका लागि चाहिने बजेट रक्षा मन्त्रालयबाट आउने गर्दछ । जसलाई संसद्ले स्वीकृति गर्नुपर्ने हुन्छ । अमेरिकी काम ठप्प भएको विषयमा पुनः डेमोक्र्याट र रिपक्लिकनका नेताबीच वार्ता हुँदै छ ।

२०७५ पुष २३ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड