इमान्दार संवाददाता
८९ पटक

काठमाडौँ । काठमाडौँमा पानी परेको छ । सोमबार बिहानैदेखि काठमाडौँ उपत्यका वरपर पानी परिरहेको थियो भने बिहान साढे ८ बजेदेखि उपत्यका भित्र पनि हल्का पानी परिरहेको छ ।

यसै पनि पुसको चिसोले सताएको काठमाडौँवासीलाई पानी परेपछि झन् चिसो बढ्न सक्ने पिर परेको छ । चिसो बढ्दै जाँदा काठमाडौँ उपत्यकामा साँझ बिहानको तापक्रम घटेको छ । तर बिहान सबेरैदेखि घाम लाग्ने भएकोले दिउँसो भने त्यति धेरै जाडोको महसुस हुने गरेको छैन ।

पानी परे संगै चन्द्रागिरीमा हिमपात भएको खबर छ । यस्तै उता जाजरकोट, कालिकोट र बाजुरामा पनि हिमपात भएको खबर आएको छ । मौसमबिभागका अनुसार आज देशका पूर्वी तथा मध्य भूभागमा सामान्यदेखि पूर्ण बदली हुने छ ।

यस्तै पश्चिमि क्षेत्रमा पनि आंशिक बदली हुनेछ । देशको पूर्वी तथा मध्य क्षेत्रको उच्च पहाडी भेगका केही स्थानहरुमा हल्का देखि मध्यम खालको हिमपातको सम्भावना रहेको छ ।

बङ्गालको खाडीको दक्षिण–पश्चिमी क्षेत्रमा बनेको चक्रवात ‘फेथाइ’ को प्रभावले नेपालमा मौसम बदली हुनुका साथै केही भू–भागमा वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले आज एक विज्ञप्ति जारी गर्दै चक्रवात उत्तर–उत्तरपश्चिम दिशातर्फ सरिरहेको र यसको आंशिक प्रभावका कारण नेपालमा आज र भोलि देशको पूर्वी र मध्य क्षेत्रमा सामान्यदेखि पूर्णतया बदली भई केही भू–भागमा हल्का वर्षा हुने र उच्च हिमाली भू–भागहरूमा हल्कादेखि मध्यमखालको हिमपात हुने सम्भावना औँल्याएको हो । साथै पश्चिमी क्षेत्रहरूमा आंशिक बदली भई एक/दुई स्थानमा हल्का र क्षणिक वर्षा हुने सम्भावना छ ।

चक्रवात प्रणाली उत्तरपश्चिम हुँदै भारतको आन्ध्र प्रदेशको तटीय क्षेत्रमा आज अपरान्ह्तिर ल्याण्डफल हुने महाशाखले जनाएको छ । महाशाखाका मौसमविद् वरुण पौडेलका अनुसार समुद्री आँधीले जमीनलाई छोएपछि त्यसलाई ल्याण्डफल भनिन्छ । ल्याण्डफलले वर्षा र हावाहुरी ल्याउने गर्दछ ।

२०७५ पुष २३ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड