इमान्दार संवाददाता
८९ पटक

काठमाडौं । वाइडबडी विमान खरिदमा अनियमितताको आरोप लागेका नेपाल वायु सेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई उनकै कार्यकक्षमा कालोमोसो दलियो । मोहन बैद्यले नेतृत्व गरेको नेकपा (क्रान्तिकारी माओवादी)को युवा दस्ताले कालोमोसो दलेको हो ।

उक्त पार्टीले घटनाको जिम्मा समेत लिइसकेको छ । सो पार्टीको युवा संगठन क्रान्तिकारी युवा लिग, नेपाल ३ नं. प्रदेशले नेपाल वायु सेवा निगमका महाप्रबन्धक कंसकारमाथि गरिएको कारबाहीको जिम्मा लिदै वाइडबडी प्रकरणका मुख्य दोषी देखिएकाले उनीमाथि कारबाही गरिएको जनाएको छ ।

लिगको ३ नं. प्रदेशका संयोजक संकल्पले घटना लगत्तै एक वक्तव्य जारी गरी संगठनकै योजनामा निगमभित्र कंसकारकै कक्षमा कालोमसो दली कारबाही गरेको जनाएका छन् । तर यता कारवाहीमा परेका कंसाकारले भने मागे अनुसार चन्दा नदिएपछि आफूमाथि कालोमोसो दलिएको बताएका छन् ।

उनले ‘उनीहरुले मसँग चन्दा मागे, मैले दिन सक्दिन भनेपछि कालोमोसो दलेर भागे ।’ उनले मागे जति आर्थिक सहयोग उपलब्ध नगराएकै कारण कालो मोसो दलेको दाबी गरेका हुन् । तर, मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी माओवादीका बरिष्ठ नेता सिपी गजुरेलले कंसाकारले भ्रष्टाचारीलाई ढाकछोप गर्न बनावटी कुरा गरेको प्रतिक्रिया दिएका छन् ।

‘देशको यति ठूलो भ्रष्टाचार काण्ड बाहिर आएपछि पार्टीका युवाहरुले कारबाही गरेका हुन्, पैसा मागे भन्नु निराधार आरोप हो । कंसाकारले आफ्नो भ्रष्टाचारलाई ढाकछोप गर्न बनावटी कुरा गरेका होलान्,’ उनले भने,‘भ्रष्टाचार विरुद्ध पार्टीले अभियान चलाइरहेको छ यही क्रममा आज युवाहरुले एक्सन लिएका हुन् ।’

उनले मन्त्री नै भ्रष्टाचारमा सामेल भएको सूचना सञ्चारमाध्यममा आउँदा समेत अख्तियार लगायत जिम्मेवार संस्थाहरु मौन बसेको बताए । उनले पार्टी नीति अनुसार नै युवाहरुले कंसारकारमाथि कारबाही गरेको टिप्पणी गरे । कंसाकारले लगाएको आरोपको जवाफमा गजुरेलले पार्टीमाथि अनावश्यक लान्छना नलगाउन चेतावनीसमेत दिएका छन् ।

लेखा समितिले गठन गरेको उपसमितिले वाइडबडी खरिद प्रकृयामा ४ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ भ्रष्टाचार भएको र तत्कालिन पर्यटनमन्त्रीद्वय जिवनबहादुर शाही र जितेन्द्र देवसँगै बहालवाला पर्यटनमन्त्री रवीन्द्र अधिकारीलाई दोषी ठहर गरेको थियो । प्रतिवेदनले नेपाल वायुसेवा निगमका महाप्रवन्धक कंशकार र गृहसचिव प्रेम राईले पनि अनियमितता गरेको प्रतिवेदनमा उल्लेख थियो ।

घटनाको जिम्मा लिदै युवा सङ्गठनले बुँदागत रुपमा जारी गरेको वक्तव्यको पूर्णपाठ यस्तो रहेको छ

“क्रान्तिकारी युवा लिग, नेपाल ३ नंं. प्रदेशको योजनामा आज (२०७५÷०९÷२० गते) नेपाल वायु सेवा निगमका भ्रष्ट महाप्रबन्धक सुगतरत्न कंसकारमाथि उनकै कार्यकक्षमा दिउसो ४ बजे कालोमसो दली कारबाही गरिएको छ । यस कारबाहीबारे हाम्रो संगठनको धारणा सार्वजनिक गर्न हामीले यो वक्तव्य जारी गरेका छौं ।

१ पर्यटन मन्त्रालय तथा नेपाल वायु सेवा निगम समेतको संलग्नतामा खरिद गरिएको दुईवटा वाइडबडी जहाज (ए ३३०–२००) को खरिद प्रक्रियामा राज्य स्रोत, साधनको चरम दुरुपयोग गरी ४ अर्ब ३५ करोडभन्दा बढी अनियमितता भएको र त्यसमा निगमका महाप्रबन्धक कंसकारको मुख्य भूमिका देखिएकोले उनीमाथि कारबाही गरिएको हो ।

२ यतिबेला नेपालमा एकातिर साम्राज्यवादी–विस्तारवादी विदेशी शक्तिकेन्द्रको निर्देशन र समर्थन प्राप्त दलाल प्रतिक्रियावादी शक्ति राज्यसत्ता सञ्चालनको केन्द्रमा छ भने अर्कोतिर लाखौं लाख उत्पीडित सर्वहारा मजदुर किसान जनताको समर्थन र बलिदानको बीचबाट हाम्रो गौरवशाली पार्टी नेकपा (क्रान्तिकारी माओवादी)को नेतृत्वमा वर्तमान दलाल प्रतिक्रियावादी सत्ताको विरुद्धमा नयाँ जनवादी क्रान्तिको अभियानमा भीषण तयारी गर्दै अगाडि बढिरहेको छ ।

३ देशमा जनताले आजसम्म गरेको आन्दोलन, लडेको जनयुद्ध र त्यसको म्याण्डेट विपरीत हत्या, हिंसा, लुट, आतंक, बलात्कार जस्ता जघन्य सामाजिक अपराधका घटनाले स्वतन्त्रतापूर्वक बाँच्न पाउने आम जनताको न्याय प्रदत्त अधिकार विपरीत समाजको शान्ति सुरक्षाको स्थिति थिलथिलो भएको छ भने राष्ट्रघात, जनघात र संस्थागत भ्रष्टाचारले सीमा नाघेको छ । जसको पछिल्लो कडीको रुपमा वाइडबडी जहाज खरिद प्रकरणलाई जोड्न सकिन्छ ।

४ वाइडबडी जहाज खरिद प्रकरणमा जहाजको बोलपत्र मूल्यांकन तथा प्रस्ताव छनौंट, जहाज खरिद प्रक्रिया, खरिद बिक्री सम्झौता र भुक्तानी प्रक्रियामा ४ अर्ब ३५ करोडभन्दा बढी भ्रष्टाचार भएको सार्वजनिक लेखा समितिले गठन गरेको उपसमितिले मंगलबार मात्र प्रतिवेदन सार्वजनिक गरेको छ । जसमा वर्तमान पर्यटनमन्त्री रविन्द्र अधिकारी, पूर्वमन्त्रीद्वय जीवनबहादुर शाही र जितेन्द्र नारायण देवसहित पूर्व सचिव, वहालवाल सचिव र विभिन्न कर्मचारीको नाम सार्वजनिक गरेको छ । यसमा नेपाल वायु सेवा निगमका महानिर्देशक सुगतरत्न कंसकारको मुख्य भूमिका रहेको पनि तथ्यहरुले पुष्टि गरेको छ ।

५ यस पृष्ठभूमिमा भ्रष्ट मन्त्री र कर्मचारीहरुलाई जिम्मेवारीबाट बर्खास्त गरी आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउनु पर्नेमा सरकारले यही १८ गते पूर्व प्रधानन्यायाधिश गोविन्द पराजुलीको संयोजकत्वमा छानविन समिति गठन गरेको छ । सरकारको यो कदम भ्रष्ट मन्त्री र कर्मचारीलाई चोख्याउन गरिएको बद्नियतपूर्ण कार्य हो ।

६ अन्तमा, हाम्रो संगठन देशभित्र र बाहिर छरिएर रहेका आम शोषित पीडित युवाहरुलाई क्रान्तिकारी युवा लिग, नेपालले भ्रष्टाचार, तस्कर, माफियाहरुका विरुद्ध थालेको यो अभियानमा लामबद्ध हुन हार्दिक आव्हान समेत गर्दछ ।”  संकल्प संयोजक

२०७५ पुष २१ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड