इमान्दार संवाददाता
२०५ पटक

काठमाडौं । इन्धनको मूल्य फेरि घटेको छ । नेपााल आयल निगमले बुधबार मध्यरातिबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर २ रुपेयाँ घटाएको हो । अब पेट्रोल लिटरको १०८ रुपैयाँ पर्छ भने डिजेल र मट्टितेल लिटरको ९५ रुपैयाँ पर्छ ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा कमी आएको र अमेरिकी डलरसँग नेपाली मूद्रा पनि केही बलियो भएको कारणले गर्दा मूल्य समायोजन गरिएको आयल निगमले जनाएको छ ।

निगमकाअनुसार पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा नाफा छ भने एलपी ग्यासमा प्रतिसिलिण्डर ८० रुपैयाँ ६९ पैसा घाटा छ । यता २० लाख कर्मचारीको बोनश खोस्ने सरकारी निर्णय विरुद्ध रोजगारदाता र मजदुर युनियन एकजुट भएका छन्।

सरकारले संसदमा पेश गरेको बोनश विधेयकमा कर्मचारी कल्याणकारी कोषको रकम सामाजिक सुरक्षा कोषमा लैजाने निर्णय विरुद्धमा रोजगारदाता र युनियन एकजुट भएका हुन्।

संयुक्त ट्रेड युनियन समन्वय समिति(जेटियुसीसी)ले बुधवार आयोजना गरेको छलफलमा नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्मा,नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा र उपाध्यक्ष चन्द्र ढकालले कल्याणकारी कोषको रकम सामाजिक सुरक्षा कोषमा लैजाने गरि विधेयक ल्याइएकोमा असहमति जनाए।

उनीहरुले कर्मचारी कल्याणकारी कोषको रकम सरकारी कोषमा लैजाने निर्णय भए कर्मचारीको उत्पादकत्व घट्ने जिकिर समेत गरे। महासंघका उपाध्यक्ष ढकालले कर्मचारीले तलब वाहेक बोनश र कल्याणकारी कोषका लागि राम्रो मेहेनत गर्ने बताउँदै यो रकम सरकारी कोषमा गएमा कर्मचारीको उत्पादकत्व समेत घट्ने बताए।

जेटियुसीसीका अध्यक्ष विनोद श्रेष्ठले बोनश विधेयकमा रहेका श्रमिकको हित विपरित राखिएका बुँदा सच्याउन सबै युनियन मिलेर अघि बढ्ने बताए। यता अर्थमन्त्री डा. युवराज खतिवडाले मुद्रा बजार र पूँजी बजारको सुधारका लागि गठन गरेको उच्चस्तरिय समितिले दिएको सुझाव कार्यान्वनका लागि नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेन्ज र सिडिएससीलाई निर्देशन दिएको छ।

बोर्डले वाणिज्य बैंकहरुको सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स प्रदान गर्ने प्रकृया अगाडि बढाउन नेप्सेलाई निर्देशन दिएको हो। त्यस्तै उपत्यका बाहिर कार्यक्षेत्र रहने गरी ब्रोकर लाइसेन्सका लागि पनि प्रकृया अगाडि बढाउन बोर्डले भनेको हो।

नेप्से सूचकमा लाग्ने सर्किट ब्रेकरलाई समसामयिक बनाउनको लागि अन्तर्राष्ट्रियरुपमा भएका अभ्यासलाई अध्ययन गर्दै प्रतिवेदन तयार गरी र त्यसलाई बोडमा पेश गर्न नेप्सेलाई निर्देशन दिएको छ। बजार प्रभावित पार्ने प्रवृत्तिलाई निरुत्साहित पार्नका लागि सूचकांक घट्दा र बढ्दा हुने चलखेलको अन्त्यको लागि अध्ययन गर्न निर्देशन दिएको हो।

धितोपत्र बजारका लगानीकर्ताको हित संरक्षण गर्नको लागि आगामी चैतसम्ममा लगानीकर्ता संरक्षण कोषको कार्यान्वयनमा ल्याउनसमेत बोर्डले निर्देशन दिएको छ। बोर्डले चैतसम्ममा ओटिसी बजारलाई स्वचालित प्रणाली अपनाउने गरि कार्य गर्न पनि भनेको छ।

कर्मचारी सञ्चयकोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष तथा धितोपत्र व्यवसायीहरुलाई बजार निर्माता तथा स्टक डिलरको काम गर्ने अनुमतिको लागि आवश्यक अध्ययन गरी प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ।

बोर्डले सिडिएससीलाई दोस्रो बजारमा हुने कारोबारको भुक्तानीलाई सुनिश्चितता प्रदान गर्न सेटलमेन्ट ग्यारेण्टी फण्ड स्थापना गर्न निर्देशन दिएको छ। नेपाल स्टक एक्सचेन्जले ल्याएको अनलाइन प्रणालीमा हाल कारोबारको राफसाफ टि प्लस थ्रीमा हुँदै आएकोमा टि प्लस वनमा ल्याउनका लागि अध्ययन गरी आवश्यक नियम परिवर्तनको लागि सिफारिस गर्न निर्देशन दिएको हो।

भित्री कारोबार बन्देज नियमावली (इन्साइट ट्रेडिङ)को मस्यौदा बोर्ड बैठकमा प्रस्तुत भई बोर्डबाट कानुन प्रवलीकरण समितिमा पठाई त्यसमा अध्ययन भैरहेकोमा सोलाई यथाशीघ्र स्वीकृतिको लागि अर्थ मन्त्रालयमा पेश गर्न निर्देशन पनि बोर्डले दिएको छ।

२०७५ पुष १८ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड