इमान्दार संवाददाता
११३ पटक

काठमाडौं । संकटा क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उपविजेता बन्न सफल भएको छ । बुधबार प्रतिस्पर्धी थ्रीस्टार क्लबलाई २–१ ले पराजित गर्दै संकटाले एक खेलअघि नै दोस्रो स्थान पक्का गरेको हो ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको १२औं चरणको खेलमा थ्रीस्टारले ३०औं मिनेटमा रन्जन बिष्टको गोलबाट प्रारम्भिक अग्रता लिएपनि खेलाडीहरुले अनुशासन गुमाउँदा अग्रता टिकाइराख्न सकेन । संकटाले दुवै गोल पेनाल्टीमार्फत् गरेको हो । दुवै गोल अमित तामाङले गरेका हुन् ।

जितले उपविजेता संकटाको २८ अंक भएको छ भने पराजित थ्रीस्टार २३ अंकबाट तेस्रो स्थानमै छ । चौथो स्थानको त्रिभुवन आर्मी क्लबको २२ अंक हुँदा तेस्रो स्थानको भिडन्त अन्तिम खेलबाटै टुंगो लाग्नेछ । खेलाडीहरुबीच मैदानमै हानाहान मनाङ–मर्स्याङ्दी क्लबको शतप्रतिशत नजिता कायमै रहेको छ ।

खेलाडीहरुबीच हानाहान

यस्तै आजै भएको अर्को खेलमा कीर्तिमान राख्ने लक्ष्यसहित अगाडि बढेको मनाङले लगातार १२ औं जित निकालेको छ । सशस्त्र प्रहरीको मैदान हलचोकमा भएको खेलमा लिगमा अपराजित एक्लो टिम मनाङले हिमालयन शेर्पाविरुद्ध दुई – एकको जित निकाल्यो । उक्त खेल चलिरहँदा दुवै टीमका खेलाडीबीच हानाहान समेत भएको थियो ।

बारम्बार गोलको प्रयास गरेपनि मनाङले ३६ औं मिनेटमा पुगेर अग्रता बनायो । उसका अफिज ओलाओलेले गोल गर्न सफल भए । तर ४५ औं मिनेटमा शेर्पाले खेल बराबरीमा पुर्यायो । उसका लागि विश्वास श्रेष्ठले गोल गर्न सफल भए ।

पहिलो हाफमा बराबरीमा रोकिएको मनाङले ६४ औं मिनेटमा फेरी अग्रता बनायो । उसका लागि विशाल राइले दिपक राइको पासको सदुपयोग गर्दै गोल गरे । ७० औं मिनेटमा मनाङ र शेर्पा १० खेलाडीमा झरे ।

खेलको ७० औं मिनेटमा खेलाडीहरुबीच मैदानमै मुक्का हानाहान भएपछि रेफ्रीले मनाङका मुहम्मद आसिफ र हिमालयनका विश्वासलाई रातोकार्ड देखाएका थिए ।

जितले च्याम्पियन मनाङको ३६ अंक भएको छ भने हारले हिमालयन शेर्पा १७ अंकबाट सातौं स्थानमै खुम्चिएको छ । जारी लिगका अन्तिम चरणका खेलहरु शनिबारदेखि हुने भएका छन् ।

२०७५ पुष १८ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड