इमान्दार संवाददाता
४० पटक

एजेन्सी । जापानमा दुई अमेरिकी लडाकु विमान आपसमा ठोक्किएर दुर्घटना भएका छन् । तेल भर्ने क्रममा दुई लडाकु विमान एकापसमा ठोक्किएर दुर्घटना भएको हो । लडाकु विमानमा सवार ६ जना सैनिक वेपत्ता छन् ।

वेपत्ता सैनिकहरुको खोजी कार्य जारी छ । यसका लागि चिकित्सकहरुको टोली पनि क्रु मेम्बरहरुसँगै परिचालित छन् । खोजी कार्यका लागि जापानले पनि चार वटा एयरक्राफ्ट र तीन जहाज परिचालन गरेको छ । जापानले पनि खोजी कार्यमा सहयोग गरेको भन्दै अमेरिकी अधिकारीहरुले धन्यवाद दिएका छन् ।

अमेरिकी रक्षा विभागका अनुसार जापानको इवाकुनीस्थित मरिन कर्प्स एयर स्टेशनमा बिहीबार सी–१३० र एफ–१८ लडाकु विमान दुर्घटनामा परेका हुन् । दुर्घटनास्थल समुद्री किनारभन्दा करिब ३ सय किलोमिटर टाढा पर्दछ ।

अमेरिकी अधिकारीहरुका अनुसार दुवै लडाकु जहाजले नियमित तालिमको क्रममा मरिन कर्प्स स्टेशनबाट उडान भरेका थिए । तर, बिहीबार दुर्घटना भयो । दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान जारी छ ।

उता रुसी राष्ट्रपति भ्ल्यादिमिर पुटिनले अमेरिका मध्यमदुरीको परमाणु अस्त्र रोक्ने सम्झौताबाट बाहिरिए आफुहरुले पनि त्यस्ता खाले हतियारको विकास गर्ने चेतावनी दिएका छन् ।

पश्चिमा राष्ट्रहरुको सैनिक गठबन्धन नेटोले रुसले शीतयुद्धकालिन सम्झौता तोडेको आरोप लगाएपछि राष्ट्रपति पुटिनले यस्तो चेतावनी दिएका हुन् ।

अमेरिका र रुसबीच सन् १९८७ मा छोटो र मध्यम दुरीको परमाणु हतियार नबनाउने सम्झौता भएको थियो । राष्ट्रपति पुटिनले आफुहरुमाथि लगाइएको आरोप अमेरिकाले सम्झौताबाट बाहिरिनको लागि गरिएको बाहाना मात्र भएको पनि दाबी गरेका छन् ।

उनले अन्य केही देशले मध्यम दुरीको परमाणु हतियार नबनाउने सम्झौताविपरित हतियार उत्पादन गरिरहेको जिकिरसमेत गरे । राष्ट्रपति पुटिनले अमेरिकी साझेदारहरुमा परिस्थिति धेरै परिवर्तन भएकाले आफुहरुसँग पनि मध्यम दुरीको हतियार हुनुपर्ने ठान्न थालेको बताए ।

यसको सहज प्रतिक्रियास्वरुप रुसले पनि मध्यम दुरीको परमाणु हतियार बनाउने राष्ट्रपति पुटिनको भनाइ छ । यसअघि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले रुसकै कारणले सम्झौताबाट बाहिरिने चेतावनी दिइसकेका छन् ।

२०७५ मंसीर २० गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड