इमान्दार संवाददाता
१४७ पटक

काठमाडौं । कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको घटनामाथि अनुसन्धान गरिरहेको टोलीले एक जना शंकास्पद व्यक्तिलाई काठमाडौंबाट पक्राउ गरेको छ ।

कञ्चनपुरकै एक युवकलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरी स्रोतले बतायो । आज पक्राउ परेका युवक निर्मलाको शव फेला परेको दिन (साउन ११ गते) घरबाट बाहिरिएका थिए ।

लागू औषध र दुर्व्यसनीमा संलग्न रहेका ती युवामाथि प्रहरीले पहिले नै आशंका गरेको खोजीकार्य तिब्र पारेको थियो ।  परिवारका सदस्यले उनी भारत गएको बताएपछि प्रहरीले भारतमा समेत उनको खोजी गरिराखेको थियो ।  तर मंगलवार साँझ ती युवा काठमाडौंमा फेला परेका हुन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले उनलाई पक्राउ गरेको हो ।

अन्य विभिन्न समितिले घटनामाथि अनुसन्धान गर्ने क्रममा उनलाई पनि शंकास्पदको सूचीमा राखेको थियो । प्रहरीले पक्राउ परेका युवाको नाम गोप्य राखेको छ ।

उता घटनाको अनुसन्धान गरिरहेको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का निर्देशक प्रहरी नायब महानिरीक्षक निरज शाहीले भने घटनाको अनुसन्धान जारी रहेकाले शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिने, सोधपुछ गर्ने र छोड्ने क्रम चलिरहेको बताए।

यसअघि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले निर्मला पन्त हत्या प्रकरणमा प्रहरीको गम्भीर त्रुटि भएको बताएका थिए । लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानमा सहभागी हुन मंगलवार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले प्रहरीले नै अपराधी उम्काएको खुलासा गरे ।

‘निर्मला हत्या प्रकरणमा प्रहरीबाटै गम्भीर त्रुटि भएको देखिएको छ’, उनले भने, ‘घटनालगत्तै प्रहरीले प्रमाण जुटाउनुको सट्टा लापरवाही तरिकाले अनुसन्धान गरेर अपराधीलाई उम्काएको देखियो ।’

अझै पनि सरकार नडग्मगाएर अनुसन्धान गरिरहेको उनले दाबी गरेका छन् । सरकारले ढिलो चाँडो जसरी भएपनि अपराधि पत्ता लगाएर कारवाहीको दायरामा ल्याउने मन्त्री ज्ञवालीको तर्क थियो ।

‘सरकारले घटनाको अनुसन्धान गरिरहेको छ,’ उनले भने, ‘ढिलो चाँडो अपराधी पत्ता लगाएर कारवाहीको दायरामा ल्याएर छोड्छौँ ।’ मन्त्री ज्ञवालीले वास्तविक दोषी जहाँ गएपनि सुख नपाउने भन्दै सरकारले कानुनी कटघरामा उभाएरै छोड्ने दाबी गरे ।

निर्मला हत्या प्रकरणमा भिआईपीको कनेक्सनबारे पुष्टि नभएको दाबी गर्दै उनले भ्रमित नपार्न आग्रहसमेत गरे । यदि घटनामा भिआईपीकै कनेक्सन भए कारवाहीको भागेदार हुनुपर्ने उनको भनाई थियो ।

निर्मलाको न्यायका लागि पोस्टर टाँस्दै गरेका युवामाथि झम्टियो प्रहरी, टाँसिएका पोस्टर पनि च्यातेर फालियो

यता सरकारले निकै महत्व दिएको एसिया प्यासिफिक समिट सकिएको छ । पाहुना पनि आफ्ना घर फर्किएका छन् । तर, समिटसँग कुनै सम्बन्ध नरहेको दाङमा प्रहरीले पोस्टर टाँस्ने युवामाथि बल प्रयोग गरेको छ ।

मंगलबार घोराहीको तुलसीपुर चोकमा जम्मा भएका युवाहरूले निर्मलाको तस्बिरअंकित पोस्टर टाँस्न खोजेका थिए । तर, प्रहरीले सीधै हस्तक्षेप गरेपछि धेरैबेर तनाव भएको थियो ।

आक्रोशित युवाहरूले गृहमन्त्री रामबहादुर थापा र आइजिपी सर्वेन्द्र खनालको राजीनामा माग्दै नाराबाजी गरेका थिए । घन्टौँको नाराबाजीपछि युवाहरूले पोस्टर टाँस्न प्रयास गरेका थिए । तर, हुत्तिँदै आएका प्रहरीले पोस्टर टाँस्न अवरोध गरेका थिए । टाँसिएका पोस्टर पनि च्यातेर फालिएका थिए ।

यसरी पोस्टरविरुद्ध प्रहरी देशव्यापी रूपमा कारबाहीमा उत्रिए पनि न्यायको माग गर्दै भइरहेको प्रदर्शन साम्य भएको छैन । निर्मलाको न्यायका लागि लागिरहेका अभियन्ता तथा सर्वसाधारणले सरकारलाई दबाब दिन सवारीसाधन तथा झोलामा निर्मलाको पोस्टर टाँस्ने अभियान सुरु गरेका छन् ।

उनीहरूले सोमबार राजधानीमा सार्वजनिक यातायातका साधनमा पोस्टर टाँसे । निजी सवारीसाधन तथा झोलामा समेत निर्मलाको पोस्टर टाँसेर न्यायका लागि दबाब बढाएका छन् । पोस्टरमा ‘सरकार भेटियो, न्याय भेटिएन’, ‘जस्टिस डिलेड इज जस्टिस डिनाइड’ (ढिलो न्याय दिनू, न्याय नदिनु हो) जस्ता नारा लेखिएका छन् ।

महेन्द्रनगर उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको १० साउनमा बलात्कारपछि हत्या भएको थियो । घटनामा सुरुदेखि पीडितलाई असहयोग गर्नुका साथै कतिपय प्रमाणसमेत नष्ट गरेपछि प्रहरी विवादमा तानिएको थियो । छानबिनका लागि अनेक समिति गठन हुँदा पनि प्रहरीले दोषी पत्ता लगाउन सकेको छैन । त्यसैले, सरकारलाई दबाब दिन आन्दोलन जारी छ ।

२०७५ मंसीर १९ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड