इमान्दार संवाददाता
८७ पटक

काठमाडौं । ट्रक चालकले नियन्त्रण गुमाएपछि ट्रकले ठक्कर दिएर चीनको उत्तरपश्चिममा १५ जनाको मृत्यु भएको छ । चीनको लान्झाउ सहरमा भएको दुर्घटनामा अरु ४४ जना घाइते भएको अधिकारीहरुले जनाएका छन् ।

लान्झाउ सूचना विभागका अनुसार शनिबार राति सो ट्रकले एक्सप्रेस राजमार्गमा रोकिराखेका ३१ ओटा कारलाई ठक्कर दिएको थियो ।
घाइतेमध्ये दश जनाको अवस्था गम्भीर रहेको अधिकारीहरुले जनाएका छन् । प्रहरीले ट्रक चालकलाई पक्राउ गरी घटनाका बारेमा अनुसन्धान सुरु गरिसकेको बताएको छ ।

चीनमा सवारी दुर्घटनाका घटना बारम्बार हुने र बर्सेनि हजारौंको मृत्यु हुने गरेको छ । अधिकारीहरुका अनुसार, सन् २०१५ मा मात्र सडक दुर्घटनामा करिब ५८ हजारको मृत्यु भएको थियो । अधिकांश दुर्घटना ट्राफिक नियमको उल्लङ्घनका कारण हुने गरेको बताइएको छ ।

यसअघि ३ दिनअघि मात्रै उत्तरी चीनको हेबेइ प्रान्तको जाङ्गजीआकुउ शहरमा अवस्थित एक रासायिक कारखानानजिकै भएको विस्फोटमा परी कम्तीमा २२ व्यक्तिको मृत्यु भएको थियो ।

बुधबार बिहान सबेरै भएको यस विस्फोटमा परी २२ व्यक्तिको मृत्यु हुनुको साथै अन्य २२ जना घाइते भएका स्थानीय अधिकारीहरुले जानकारी दिए। स्थानीय समयानुसार बुधबार मध्यराती १२:४० बजे हेबेइ सिङ्गहुआको एक रासायानिक पदार्थ उत्पादन गर्ने कारखाना ‘मिकल इन्ड्रस्टि कोपरेसन लिमिटेड’ नजिकै उक्त बिस्फोट भएको थियो।

यस विस्फोटमा परी ३८ ट्रक र १२ अन्य सवारी साधन ध्वस्त भएको जाङ्गजीकाउ नगरको नगर सरकारका अधिकारीहरुले जानकारी दिएका स्थानीय सञ्चारमाध्यमहरुले बताएका छन्।

यस विस्फोटमा परी घाइते भएकाहरुलाई उपचारार्थ अस्पताल भर्ना गरिएको बताइएको छ। प्रारम्भिक अनुसन्धानअनुसार एक सवारी साधनले बोकेको अति संवेदनशील विस्फोटक पदार्थ कारखानामा प्रवेश गर्ने पर्खाइमा रहेका बेला अकस्मात विस्फोट भएको थियो।

उक्त कारखाना नजिकै भएको विस्फोटबाट कारखानाको भित्र भने कुनै असर गरेको छैन। तर विस्फोटपछि लागेको आगोका कारण त्यसैको वरिपरि रहेका अरु सवारी साधनहरुमा भने आगलागी भएको थियो।

विस्फोट भएपछि सल्किएको आगोबाट सडकमा र पार्किङमा रहेका ३८ ओटा ट्रक र १२ ओटा कार विस्फोट भएका छन्। सो जानकारी जाङजिकाउ नगर सरकारले दिएको छ।

संकटकालीन व्यवस्थापन मन्त्रालयले उद्धार कार्यको लागि एक समूह पठाएको जनाइएको छ। यस विस्फोटमा परेकाहरुको स्थानीय सरकारले पहिचान गरेको र उद्धार कार्यलगयात थप अनुसन्धान जारी रहेको बताइएको छ।

२०७५ मंसीर १५ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड