इमान्दार संवाददाता
५५ पटक

काठमाडाैँ । तालिवान विद्रोही समूहको आक्रमणमा परी अफगानिस्तानको काबुलमा ९ नेपाली घाइते भएका छन्। सुरक्षा गार्ड उपलब्ध गराउने बेलायती संस्था जिफोरएसको कार्यालयमा बुधबार भएको आत्मघाती हमलामा परी त्यहाँ कार्यरत ९ नेपाली घाइते भएका हुन् ।

घाइतेहरूमध्ये तीन जनालाई गोली लागेको छ। उनीहरूसहित ६ जनाको अवस्था गम्भीर छ भने ३ जना सामान्य घाइते भएका छन् । तीन जनामध्ये एकजनालाई पेटमा र अर्कालाई देब्रे तीघ्रामा गोली लागेको बताइएको छ। उनको ओठ पनि काटिएको छ। अर्कालाई कम्मर र घुँडामा गोली लागेको छ।

एकजनाको खुट्टाको तल्लो भाग जलेको छ। दुई जनाको टाउकोमा घाउ भएको छ तीमध्ये एउटा कानमा पनि चोट लागेको छ । एक जनालाई खुट्टामा छर्रा लागेको छ भने दुईजनाको छातीमा चोट लागेको छ। घाइतेमध्ये ६ जनाको बागराम अस्पताल र ३ जनाको नर्थ केएआइए अस्पतालमा उपचार भइरहेको छ।

बुधबार भएको उक्त हमलामा परी एक बेलायती नागरिकसहित कम्तिमा ६ जनाको मृत्यु भएको थियो। यसअघि २०७३ असारमा क्यानडियन दूतावासको सुरक्षामा खटिएका १२ नेपालीको आत्मघाती हमला परी मृत्यु भएको थियो।

२०७५ मंसीर १४ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड