इमान्दार संवाददाता
७७ पटक

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता भीम रावलले कसैको निहित स्वार्थका लागि सरकार र पार्टीको दुरुपयोग नगर्न नेतृत्वलाई चेतावनी दिएका छन् ।

शुक्रबारदेखि काठमाडौंमा सुरु भएको एसिया प्यासिफिक सम्मेलनको ट्वीटरमार्फत सांकेतिक विरोध गर्दै नेता रावलले राष्ट्रिय हित, कुटनीतिक मर्यादा र परिणामको हेक्का राख्न सरकारलाई आग्रह गरेका हुन् ।

नेकपाका प्रभावशाली नेता रावलले सरकार र पार्टी कुनै व्यक्ति र संस्थाको स्वार्थका लागि दुरुपयोग भएको भन्दै सार्वजनिक रुपमै विरोध जनाएका हुन् ।

उनले भनेका छन्, ‘कुनै व्यक्ति र निजी संस्थाको निहित स्वार्थमा सरकार र पार्टीको दुरुपयोग गर्न मिल्दैन । राष्ट्रिय हित र कुटनीतिक मर्यादा र परिणामको हेक्का राख्नु पर्यो । शान्तिको नाममा सम्मेलन गर्नेहरूले यत्रो पैसा कति कहाँबाट आयो जनतालाई भन्नु पर्छ । नभने सरकारले खोजेर भन्नु पर्छ ।’

दक्षिण कोरियाली संस्था युनिभर्सल पिस फेडरेसन (यूपीएफ) को नेपाल च्याप्टरले आयोजना गरेको सम्मेलनलाई केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले उच्च प्राथमिकता दिएको छ । धर्म प्रचारक संस्थाका रुपमा परिचित यूपीएफको नेपाल च्याप्टर अध्यक्ष एकनाथ ढकाल रहेका छन् । उनी नेकपाका नेता पनि हुन् । ढकालकै जोडबलमा सुरुमा सरकार एसिया प्यासिफिक सम्मेलनको सह आयोजक बनेको थियो ।

जसको प्रमख प्रतिपक्षी नेपाली कांग्रेससहित चौतर्फी विरोध भएपछि सरकार सम्मेलनको सह आयोजकबाट हट्दै सहयोगी मात्रै बनेको छ । साथै सम्मेलनमा सहभागी हुन आउने पाहुनाको स्वागतको विषय पनि विवादमा परेको छ ।

कुटनीतिक मर्यादा मिचेर पाहुनाको स्वागतमा गरेको भन्दै आलोचना भइरहेको छ । पाहुनाको स्वागतमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल त्रिभुवन विमानस्थल गएका थिए ।

यसैबीच रावलको ट्वीट बिषयलाई लिएर सत्तारुढ नेकपाभित्र हँगामा सुरु भएको छ । उनको सांकेतिक भनाइलाई बिभिन्न नेताहरुले आ-आफ्नै तरीकाले बुझे पनि ओलीले पछिल्लो समय गर्दै आएको मनपरीबिरुद्ध आवाज उठेको भन्दै धेरैले समर्थन पनि गरेका छन् ।

२०७५ मंसीर १४ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड