इमान्दार संवाददाता
९४ पटक

काठमाडौं । पार्टी पुनर्गठन दिवसको पूर्वसन्ध्यामा नेपाल कम्युनिस्ट पार्टीले काठमाडौंमा दीप प्रज्वलन गरेको छ ।

आफ्नो पार्टीको पाँचौँ पुनर्गठन दिवसको अवसर पारेर नेकपाले भोलि मंसिर ८ गते  काठमाडौंमा बिशाल जनसभाको आयोजना गरेको छ । त्यसको ठिक अघिल्लो साँझ अर्थात् आज नेकपाले भृकुटीमण्डपस्थित प्रदर्शनी मार्गमा दीप प्रज्वलन गरेको हो ।

नेकपाका पाका केन्द्रीय सदस्य मकर गुरुङ, आजद,  बन्धु चन्द लगायतका नेता कार्यकर्ताहरुले संयुक्त रुपमा दीप प्रज्वलन गरेका थिए । साथै ‘नेकपा जिन्दावाद, दलाल संसदीय व्यवस्था मुर्दावाद, भारतीय विस्तारवाद साम्राज्यवाद मुर्दावाद, एकीकृत जनक्रान्ति जिन्दावाद’ भन्दै उनीहरुले नारा समेत लगाएका थिए ।

खासगरी  मङ्सिर ८ काे सन्दर्भलाई लिएर नेकाले साताव्यापी रुपमा विभिन्न कार्यक्रम पनि गरेको छ । २०७१ साल मङ्सिर ८ गतेका दिन मोहन वैद्य ‘किरण’ ले नेतृत्व गरेको तत्कालीन नेपाल कम्युनिस्ट पार्टी—माओवादीका मुख्य नेताहरूलाई ३ बुँदे लिखित असहमतिपत्र बुझाएर नेत्रविक्रम चन्द ‘विप्लव’ को नेतृत्वमा तत्काल नेपाल कम्युनिस्ट पार्टी माओवादी पुनर्गठन गरिएको थियो ।

उक्त पार्टीले नेपाली क्रान्तिको कार्यदिशा माक्र्सवाद—लेनिनवाद—माओवादको मार्गनिर्देशनमा एकीकृत जनक्रान्ति हुने निर्णय पनि गरेको थियो । २०७१ साल पुसमा दाङमा प्रथम राष्ट्रिय सम्मेलन गर्नुका साथै २०७३ फागुनमा आठौँ राष्ट्रिय महाधिवेशन सम्पन्न गरेर नेपाली क्रान्तिका आधारहरू तयार पार्नुका साथै दर्शनमा पनि थप विकास गरेको जनाएको थियो ।

नेकपाले प्रत्येक वर्ष मङ्सिर ८ गते नियमित कार्यक्रम गर्दै आएको छ । साथै विशेष अवसर पारेर ठूलाठूला जनप्रदर्शन पनि गर्दै आएको छ । यिनै कुराहरूलाई ध्यानमा राखेर मङ्सिर ८ गते जनप्रदर्शन र जनसभा गर्न लागेको हो ।

उक्त दिन विशाल जनप्रदर्शन र जनसभा गर्नुका साथै आफ्नो पार्टीका धारणाहरू पनि सार्वजनिक गर्ने बुझिएको छ । भोली नेकपाले काठमाडौँबाहेक अन्य स्थानहरूमा पनि कार्यक्रम गर्ने जनाएको छ ।

२०७५ मंसीर ७ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड