इमान्दार संवाददाता
१२० पटक

लमजुङ। लमजुङको मर्स्याङ्दी गाउँपालिका–६ बाहुनडाँडास्थित ङादी खोलामा निर्माणाधीन ३० मेगावाटको न्यादी जलविद्युत् आयोजनाको हेडरेस सुरुङको ‘ब्रेक थ्रु’ गरिएको छ ।

प्रवर्द्धक न्यादी हाइड्रोपावर कम्पनीका परियोजना व्यवस्थापक उत्तम अमात्यले आयोजनाको ३.८४ किलोमिटर मुख्य सुरुङ खन्ने काम सकिएको बताए । आयोजनामा सुरुङसहित ७२५ मिटर पेनस्टक पाइप राखिनेमा ६८ मिटर खनिएको छ । हाइड्रोमेकानिकल ठेकेदारले पाइप आयोजनास्थलमा ल्याउन शुरु गरेका छन् ।

विद्युतगृहको जग हाल्ने काम सकिएको छ भने बाँध क्षेत्रको सिभिल संरचना निर्माणको २० प्रतिशत काम पूरा भएको छ । बाँध क्षेत्रमा ढलानको काम भइरहेको आयोजनाले जनाएको छ । विद्युतगृहमा दुई पेलटन टर्वाइन राखिने छ भने यसको ३० प्रतिशत काम पूरा भएको छ । सर्ज ट्याङ्कको निर्माणकार्य सकिएको व्यवस्थापक अमात्यले जानकारी दिए ।

विसं २०७३ चैत ३० देखि निर्माण शुरु गरिएको उक्त आयोजना २०७६ चैत २३ ९सन् २०२० अप्रिल ५० मा सक्ने सम्झौता भएको थियो । सम्झौताअनुसार आयोजनाको ५० प्रतिशत काम सकिएको अमात्यले बताउनुभयो । सम्झौता अवधिमै निर्माण सकिने लक्ष्यअनुसार २४सै घण्टा काम भइरहेको आयोजनाले जनाएको छ ।

उक्त आयोजना सम्पन्न गर्न रु ६ अर्ब लागत अनुमान गरिएको छ । आयोजनामा एभरेष्ट बैंकको अगुवाइमा पाँच बैंक (नबिल बैंक, ग्लोबल आइएमई बैंक, हिमालयन बैंक, सनराइज बैंक र जलविद्युत् लगानी तथा विकास कम्पनी)ले ऋण लगानी गरेका छन् ।

आयोजनाले मर्स्याङ्दी गाउँपालिका–३ खुदी टारीकुनासम्म १३२ केभीको साढे पाँच किमी प्रसारणलाइन निर्माण गर्ने कार्य थालेको जनाएको छ । नेपाल विद्युत् प्राधिकरणबाट खुदीको टारीकुनामा निर्माण हुने २२० केभी सवस्टेसन तथा प्रसारणलाइनको निर्माणकार्य गर्न बोलपत्र आह्वान भइसकेको आयोजनाले जनाएको छ ।

२०७५ मंसीर ६ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड