इमान्दार संवाददाता
७७ पटक

नुवाकोट । नुवाकोट जिल्लाका ५ किशोरीलाई बेचबिखनका लागि भारत लैजान लागेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ परेका उनीहरुलाई आइतबार नै मानव बेचबिखन तथा ओसारपसार अभियोग मुद्दामा नुवाकोट जिल्ला अदालतबाट म्याद लिइ अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी प्रमुख वसन्त कुँवरले जानकारी दिए ।

नुवाकोटबाट हराएका ५ किशोरीलाई घरमा बन्धक बनाएको अवस्थामा सुर्खेतको भेरीगङ्गा नगरपालिका–१२ का २३ वर्षका निर्मल विश्वकर्मा र नुवाकोटको लिखु गाउँपालिका–४ चौघडाका २० वर्षका विकास प्याकुरेललाई हिरासतमा राखेर अनुसन्धान गर्न उक्त अदालतले तीन दिनको अनुमति दिएको छ ।

बन्धक बनाइएका किशोरीको बयानका आधारमा नुवाकोटबाट भारततर्फ लैजान सहयोग पुर्याउने प्याकुरेललाई प्रहरीले आइतबार बट्टार बजारबाट नियन्त्रणमा लिएको थियो ।

विश्वकर्मालाई सुर्खेत प्रहरीले गत शुक्रबार बन्धक बनाइएका किशोरीको उद्धारको क्रममा घरबाटै नियन्त्रणमा लिएर कारवाहीको लागि शनिबार नुवाकोट प्रहरीलाई बुझाएको थियो ।

घटनामा संलग्न धेरै व्यक्ति भएकाले तिनको खोजी भइरहेको प्रहरीले जनाएको छ । उद्धार गरिएका १३ देखि १६ वर्ष उमेरका ती किशोरीलाई जिल्ला प्रहरीको महिला तथा बालिका सेवा केन्द्रको आश्रयमा राखिएको छ ।

२०७५ कात्तिक २६ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड