इमान्दार संवाददाता
९५ पटक

एजेन्सी । उज्यालोको पर्व पर्व दीपावली नेपाल र भारत दुवै देशमा धुमधामसँग मनाइयो । दीपावलीको उत्साह अझै पनि मानिसहरुमा घटिसकेको छैन । तर यसैबीच एक तस्बिर केही दिनयता सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । जुन तस्बिरले मानिसको दिल दिमाग हल्लादिन्छ ।

यो तस्बिरलाई भारतको मध्यप्रदेश राज्यको सबैभन्दा ठूलो सहर इन्दौरका ईश्वर शर्मा नामका व्यक्तिले फेसबुकमा सेयर गरेका थिए।

यो तस्बिर इन्दौरकै भनिएको छ । तर भारतीय सञ्चारमाध्यमका अनुसार यो तस्बिर इन्दौरको नहुन पनि सक्छ । भारतीय सञ्चारमाध्यमले यो तस्बिर भोपाल, ग्वालियर, जबलपुर, दिल्ली, कोलकाता या चेन्नई जहाँको पनि हुन सक्ने अनुमान गरेका छन् । ती सहरको हालत लगभग उस्तै हुने भएकाले यो अनुमान गरिएको हो ।

तस्बिरमा के छ ?

तस्बिरमा एक व्यक्ति ढुक्कसँग सडक किनारमै सुतेको देख्न सकिन्छ । उनीसँग उनका दुई बच्चा पनि फोहोर भइसकेको कम्बल ओढेर सुतेको देख्न सकिन्छ । जसमा एक बालिका जसको उमेर ५ देखि ७ वर्ष र अर्का बालक करिब अढाई वर्षका देखिन्छन् ।

सडक किनारमै सुतेका यी व्यक्तिको अगाडि केही सामानको ढाकी राखिएको छ । जसलाई देखेर उनी केही बेच्न त्यहाँ बसेका हुन् भन्ने सजिलै बुझ्न सकिन्छ ।

यीमध्ये केही हातले बुनेका बाँसका डाला पनि छन् । तर त्यहाँको अवस्था हेर्दा दिनभरीमा दुई तीनवटा मात्रै बिकेको अनुमान लगाउन सकिन्छ ।

आफ्ना सन्तान पाल्नका लागि बाँसको डालोले मात्रै नपुगेर यी व्यक्तिले तीनवटा खेलौना साइकल पनि राखेका छन् । तर ती पनि बिकेको देखिन्न । उनले बाँसबाट बनेका डाला नबिके पनि साइकल बिक्ने विश्वासका साथ त्यहाँ राखेका हुन् ।

यो तस्बिरमा पर पृष्ठभूमिमा दीपावलीको उज्यालो प्रष्ट देख्न सकिन्छ । तर वास्तवमा यो दीपावलीको उज्यालो यी व्यक्ति जस्तै हजारौँ लाखौँ मानिसको घरसम्म अझै पुग्न सकेको छैन । आफ्नो घरमा उज्यालो ल्याउन उनी जस्तै लाखौँ मानिस अहिले पनि सडकमै दिन रात बिताउन बाध्य छन् ।

भावुक बनायो

तस्बिरलाई देखेर सामाजिक सञ्जालका कयौँ प्रयोगकर्ता भावुक भएका छन् । उनीहरुले यो तस्बिरले भारतको पुरै समाजको खास तस्बिर देखाएको भन्दै सरकारमाथि ब्य‌ंग्य पनि गरेका छन् ।

‘देशको वास्तविकता यही हो । हामीलाई कसैको प्रवाह नगरी जिउने बानी भएको छ’, सामाजिक सञ्जालमा एकजनाले लेखेका छन् । त्यसैगरी अर्का प्रयोगकर्ताले ‘यस्तो दृश्य देखेपछि किन किन थाहै नपाई आत्मग्लानी हुन थाल्छ । यिनको जिन्दगी अन्धारकारतिर धकेलेर हामीले भने चयनका साथ बाँचिरहेका छौँ ।’ अन्नपुर्ण पोस्टबाट

२०७५ कात्तिक २५ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड