
काठमाडौँ । टोकियो ओलम्पिक २०२० को एएफसी महिला फुटबल छनोट अन्तर्गत आइतबार नेपाल र आयोजक राष्ट्र म्यानमार भिड्दैछन् । म्यानमारको यांगोनस्थित थुवुना रंगशालामा हुने खेल नेपाली समयानुसार साँझ ५:१५ मा सुरु हुनेछ ।
समूहको पहिलो खेलअन्तर्गत बिहीबार नेपाल र भारतको खेल १-१ को बराबरीमा टुंगिएको थियो । त्यसै दिन भएको दोस्रो खेलमा म्यानमारले बंगलादेशलाई ५-० को फराकिलो अन्तरले पराजित गरेको थियो ।
आयोजक म्यानमार यस समूहबाट दावेदार टोलीको रुपमा उभिएको छ । नेपालले म्यानमारविरुद्ध पराजित भएमा दोस्रो चरणमा पुग्ने गणितीय सम्भावना मात्र कायम रहन्छ ।
आइतबार नै अर्को खेलमा भारत र बंगलादेश पनि भिड्नेछन् । अंक तालिकामा म्यानमार शीर्षस्थानमा छ भने नेपाल दोस्रो र भारत तेस्रो स्थानमा छ ।
सन् २०२० मा हुने टोकियो ओलम्पिक छनोटमा १८ देशको सहभागिता छ । सहभागी टिमलाई ४ समूहमा विभाजन गरिएको छ । भिएतानाम र उज्जेकिस्तान वरियताका आधारमा दोस्रो चरणका लागि छनोट भैसकेका छन् ।
हरेक समूहका शीर्ष टोली र अन्य दुई उत्कृष्ट दोस्रो हुने टोली दोस्रो चरणमा प्रवेश गर्नेछन् । दोस्रो चरणका खेलहरु अप्रिलमा हुनेछ । दोस्रो चरणमा छानिएको १२ टोलीलाई फेरि तीन समूहमा विभाजन गरी प्रतिस्पर्धा गराइनेछ ।
दोस्रो चरण छनोटको प्रत्यक तीन समूहका शीर्ष टोली तेस्रो चरणमा प्रवेश गर्नेछन् । तेस्रो चरणमा ८ टिमबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो चरणका तीन विजेतासँगै अष्ट्रेलिया, चीन, थाइल्याण्ड, दक्षिण कोरिया र उत्तर कोरियाले तेस्रो चरणमा प्रतिस्पर्धा गर्नेछन् ।
दुई समूहका उत्कृष्ट दुई टोलीले चौथो चरणमा स्थान बनाउनेछन् । चौथो चरण प्रवेश गर्न सफल चार टोलीलाई दुई समूहमा विभाजन गरी होम एण्ड अवेको आधारमा प्रतिस्पर्धा गराइनेछ । जसबाट विजयी हुने दुई टिम ओलम्पिकका लागि छानिनेछन् ।