इमान्दार संवाददाता
१५२ पटक

काठमाडौं । नेपाल प्रहरीका एसपी डिल्लीराज विष्ट र इन्स्पेक्टर जगदिश भट्ट बर्खास्त भएका छन् । गृह मन्त्रालयले एसपी विष्ट र इन्स्पेक्टर भट्टलाई बर्खास्त गरेको हो ।

उनीहरुलाई निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरणको कार्य प्रभावकारी नगरेको आरोप लागेको थियो । सरकारी छानबिन समितिले प्रहरी लापरवाही भएको रिपोर्ट दिएपछि विष्ट र भट्टलाई स्पष्टीकरण सोधिएको थियो ।

दुबैले स्पष्टिकरणमा लापरवाही नभएको दाबी गरेका थिए तर दोस्रो पटक सोधिएको स्पष्टीकरण भने चित्तबुझ्दो नभएको ठहर गर्दै गृह मन्त्रालयले प्रहरी नियमापलीअनुसार विष्ट र भट्ट दुबैलाई बर्खास्त गर्ने निर्णय गरेको भन्दै विज्ञप्ति जारी गरिएको हो ।

घटनाको तीन महिनापछि गृह मन्त्रालयले अनुसन्धानको जिम्मेवारीमा रहेको प्रहरी अधिकारीकै त्रुटीका कारण घटनाको सत्य तथ्य बाहिर नआएको निष्कर्ष सहित कारबाही गरेको हो । दुवैलाई अयोग्य नहुने गरी बर्खास्त गरिएको गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले बताए ।

कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कार पछि हत्या घटनाको अनुसन्धानमा गम्भीर लापरवाहीको आरोप खेपिरहेका एसपी विष्ट र इन्सपेक्टर भट्टलाई गृह मन्त्रालयले बुधबार दोस्रो पत्र काटेको थियो।

गृह मन्त्रालयले ‘तपाईंलाई कारबाही किन नगर्ने?’ भन्दै मागेको स्पष्टीकरणको लिखित जवाफ एसपी डिल्लीराज विष्ट र इन्सपेक्टर जगदीश भट्टले दिएका थिए।

दुवैले आफूलाई कारबाही गर्नु नपर्नाका कारण सहितको जवाफ प्रहरी प्रधान कार्यालयको सचिवालयमा बुझाएका थिए। तर मन्त्रालयले उनीहरुको जवाफ चित्त बुझ्दो नभएको भन्दै बर्खास्त गर्ने निर्णय गरेको हो ।

कारागार व्यवस्था विभागका महानिर्देशक हरिप्रसाद मैनाली नेतृत्वको उच्चस्तरीय छानविन समितिले उनीहरुले पदीय जिम्मेवारी अनुरुप भूमिका निर्वाह नगरेको र घटनापछिको अनुसन्धानका क्रममा श्रृंखलावद्ध त्रुटी गरेको र प्रमाणहरु नष्ट गरेको भन्दै विभागीय कारबाहीको सिफारिस गरेको थियो।

घटनमा प्रहरीबाट चरम लापरवाही, गैर व्यवसायिक र गैरजिम्मेवारपूर्ण व्यवहार गरी अनुसन्धानमा पालना गर्नुपर्ने सामान्य कानुनी व्यवस्थासमेत पालाना नभएको पाइएको छ ।

साथै बालिका हराएको खबर आएपछि तत्काल खोजतलास नगरेको, बलात्कार तथा हत्यासँग सम्बन्धी प्रमाणहरु भित्री वस्त्र पानीमा चोपल्नु, यौनाङ्ग तथा तिघ्रा पखाल्ने, कपडाहरु हराएको, नेपालमा नभएका मृतकका बाबुको दस्ताखत गराइएको तथा मृतकको शव जनाउन अनावश्यक दबाव दिएको पाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रहरीकै व्यवहार र कार्यशैलीका कारण आम नागरिक र पीडित परिवारका सदस्यहरु प्रहरीको काम कारबाहीप्रति विश्वस्त हुन नसक्ने गरी गम्भीर लापरवाही गरेको ठहर गर्दै प्रहरी हेडक्वार्टरले एसपी विष्ट र इन्स्पेक्टर भट्टलाई सेवाबाट बर्खास्त गर्न सिफारिस गरेको गृह मन्त्रालयले जनाएको छ ।

भदौ १० गते विष्ट र ३१ गते भट्ट निलम्बनमा परेका थिए । मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीद्वारा जारी विज्ञप्तिमा विष्ट र भट्टलाई अब सेवामा राख्न उचित नरहेको पनि उल्लेख गरिएको छ ।

२०७५ कात्तिक ८ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...