इमान्दार संवाददाता
८७७ पटक

काठमाडौं । प्रदेश नं. ३ का भौतिक योजना तथा निर्माण मन्त्री केशव स्थापितले एक जना महिला पत्रकारले यौन प्रस्ताव नमान्दा जागिर खाइदिएको खुलासा भएको छ । तर, घटना हालसालैको नभएर १५ वर्ष अघिको हो ।

काठमाडौं महानगरपालिकाका पूर्व मेयर समेत रहेका स्थापितको यौन प्रस्ताव नमान्दा पत्रकार रश्मिला प्रजापतिको जागिर नै खुस्केको थियो । यो कुरा रश्मिला आफैले सामाजिक संजालमा बताएकी छन् । उनले नेपालीका राजनीतिज्ञ, व्यपारी, कलाकार, मिडिया मालिकबाट महिलामाथि यौन हिंसा भइरहेको बताएकी छन् ।

रश्मिलाले हालै सामाजिक संजालमा आफूमाथि स्थापितले यौन हिंसा गरेको खुलासा गरेकी हुन् । महिलामाथि हुने यौनहिंसा सम्बन्धी अभियान ‘मि टु मुभमेन्ट’मा सहभागिता जनाउदै पत्रकार प्रजापतिले उक्त कुराको खुलासा गरेकी हुन् । हुन त यसअघि यसबारे केही संचारमाध्यमहरुमा लेख नै लेखेकी थिइन् । तर, फेसबुकबाटै मन्त्री स्थापितको चरित्रमाथि प्रश्न उठाउँदै पहिलोपटक लेखेकी हुन् ।

स्थापितले अहिले पनि अन्य महिला पत्रकारहरुलाई यौन शोषण गरिरहेको आफूले थाहा पाएको उनले लेखेकी छन् । केशव स्थापित ‘सेक्सुअल प्रेडेटर’ रहेको आफूले अहिले पनि संसारलाई भन्न चाहेको प्रजापतिले उल्लेख गरेकी छन् ।

यसैबीच  मन्त्री केशव स्थापितले आफूमाथि लागेको १५ वर्ष अगाडिको यौन हिंसाको विषयमा मुख खोलेका छन् । आफूलाई यौन हिंसाको आरोप लगाउन रश्मिला प्रजापतिविरुद्ध मानहानीको मुद्धा लगाउने तयारी गरेको मन्त्री स्थापितले बताएका छन् ।

प्रजापतिलाई यौन हिंसाको आरोप पुष्टी गर्न चुनौती दिँदै मन्त्री स्थापितले कानुनी कारबाहीको बाटो रोज्ने तयारी थालेको बताए । उनले आफू हेटौंडाबाट प्रजापतिविरुद्ध मानहानीको मुद्धा हाल्न काठमाण्डु आएको बताएका छन् । उनले भने, ‘हिंसाको आरोप यो भन्दा अगाडि दुई पटक खेपि सकें । अब उहाँविरुद्ध मानहानीको मुद्धा हाल्ने हो ।’

उनले महिला हुँदैमा जथाभावी बोल्न नहुने भन्दै यसको समाधान कानुनी उपचार मात्र भएको बताएका छन् । प्रजापतिले आफूले यौन प्रस्ताव नमान्दा जागिरबाट निकालिएको बताए पनि स्थापित भने यसको प्रतिवाद गर्छन् ।

उनले १५ वर्षअगाडि आफू मेयर हुँदा करारमा रहेकी प्रजापतिसहित अन्य कर्मचारी पनि निकालिएकाले उक्त आरोप झुटो भएको दाबी गरेका छन् ।

२०७५ कात्तिक ५ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...