इमान्दार संवाददाता
७९ पटक

पर्वत । लामो समयदेखि बिग्रिएका यन्त्र मर्मतपछि मोदी गाउँपालिकामा सञ्चालित मोदीखोला जलविद्युत् आयोजनाबाट क्षमतानुसारको विद्युत् उत्पादन शुरु भएको छ ।

कूल विद्युत् उत्पादन क्षमता १४.८ मेगावाट रहेको आयोजनाबाट अहिले दैनिक १४ दशमलव ८ मेगावाट नै विद्युत् उत्पादन भइरहेको केन्द्रले जनाएको छ ।

यसअघिका वर्षमा वर्षायाममा पनि बढीमा ११ मेगावाटसम्मको आसपासमा विद्युत् उत्पादन हुने गरेकामा यस वर्ष विद्युत्गृहमा प्रयोग भएको पुरानो कुलर हटाएर नयाँ कुलर परिवर्तन गर्ने, समय समयमा सरसफाइ गर्ने र नयाँ यन्त्र फेरेपछि उत्पादन पूर्ण क्षमतामा हुन थालेको जलविद्युत् आयोजना केन्द्रका प्रमुख शिवकुमार शाहले बताए ।

कुनैकुनै बेला घटबढ हुने भए पनि अधिकांश समयमा पूर्ण क्षमतानुसार नै बिजुलै बलेको छ । अर्को वर्ष अर्को कुलर पनि फेर्ने योजना रहेकाे शाहले जानकारी दिए ।

यसपटक केन्द्रीय बोलपत्रानुसार झण्डै रु ३५ लाखको लगानीमा कुलरलगायत अन्य सामान फेरिएको केन्द्र प्रमुख शाहले जानकारी दिए ।

यसअघि कुलेखानी र मध्यमर्स्याङ्दी आयोजनामा गरी १६ वर्ष काम गरेका शाह आफैँले विद्युतगृहकाे सामान्य खालका मर्मत गर्दै आएका छन् ।

एक वर्षअगाडि केन्द्र प्रमुख बनेर अाएका शाहले मोदीखोला जलविद्युत् आयोजनामा आइपर्ने सामान्य मर्मत र सम्भारका लागि अन्य आयोजनाका प्राविधिक बोलाउनुपर्ने बाध्यता हटेको र समस्या आउनासाथ आफैँले नेतृत्व गरेर समाधान गर्ने गरेका कारण पनि विद्युत् उत्पादनमा सुधार अाएकाे उनकाे भनाइ छ ।

मोदीखोला जलविद्युत् आयोजनामा बर्खा याममा दुईवटै युनिटबाट तथा हिउँदमा एउटा मात्र युनिटबाट विद्युत् उत्पादन हुने गरेको छ । मोदीमा पानीको बहाव कम हुँदा झण्डै माघदेखि एउटा मात्र युनिट चल्न सक्ने पानीको क्षमता रहने कारण विद्युत् उत्पादन पनि घट्ने गरेको छ ।

प्रमुख शाहका अनुसार एउटा टर्बाइनबाट तीन मेगावाटभन्दा कम विद्युत् उत्पादन हुने अवस्था आएपछि दुवै टर्बाइनका लागि प्रयोग भएको पानी एउटा मात्र टर्बाइनमा खसालेर विद्युत् उत्पादन गरिएको छ ।

सन् २०००(विसं २०५७ तिर) मा निर्माण भएको यो आयोजना यस क्षेत्रकै पुरानो हो । यसपछि पर्वतमा १० मेगावाट क्षमताको तल्लो मोदीखोला ए सञ्चालनमा आएको छ भने २० मेगावाटको तल्लो मोदीखोलाको निर्माण अन्तिम चरणमा पुगेको छ ।

२०७५ कात्तिक १ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...