इमान्दार संवाददाता
५२ पटक

काठमाडौं । 

हनुमानढोका दरबार क्षेत्रस्थित तलेजु भवानीको मन्दिरमा बिहीबार बिहानैदेखि सर्वसाधारणको घुइँचो लागेको छ। तेह्रौं शताब्दीमा निर्मित मल्लकालीन तलेजु मन्दिर वर्षमा एक पटक प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिन मात्र सर्वसाधारणका लागि खुला गरिन्छ।

बिहान ३ बजेदेखि नै मन्दिरमा घुइँचो लागेको काठमाडौं तलेजु भवानी मन्दिरका मूल नाइके शशीविक्रमध्वज जोशीले जानकारी दिए। उनका अनुसार बिहीबार दिनभर खुला रहने मन्दिरमा करिब एक लाख भक्तजनले दर्शन गर्ने अपेक्षा छ। तलेजु मन्दिरमा अरू ३६४ दिनमा दैनिक नित्य पूजा हुने एक दिन सर्वसाधारणका लागि खोलिन्छ।

हनुमानढोका हेरचाह अड्डाका अनुसार नित्य पूजाका लागि भक्तपुर र ललितपुरमा कर्माचार्य, जोशी तथा राजोपाध्याय पुजारी छन् भने काठमाडौँमा कर्माचार्य र जोशी मात्र छन् ।

छाने शैलीको प्राचीन मन्दिर वर्षमा एक पटक मात्र खुल्ने हुँदा विशेष महत्वका साथ भक्तजनले दर्शन गर्छन्। नेपाली सेना, नेपाल प्रहरी, स्थानीय क्लब, रेडक्रस, स्काउट आदिले भक्तजनको लामदेखि अन्य व्यवस्थापनमा सहयोग गरिरहेका छन्।

नेवार समुदायको इष्टदेवीका रूपमा लिइने तलेजु भवानीको दर्शनका लागि काठमाडौं उपत्यका वरपरबाट थुप्रै दर्शनार्थी आउने गर्छन्।

 

२०७५ कात्तिक १ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड