इमान्दार संवाददाता
१९२ पटक

काठमाडौं । बजार ब्यबस्थापन गरेर नागरिकलाई उपभोग्य बस्तुको सहज आपूर्ति गर्नुपर्ने ठाउँमा मन्त्री चक्रपाणि खनालले तरकारी बजार नै बन्द गर्नुपर्ने विवादास्पद अभिव्यक्ति दिएका छन् ।

बुधबार मन्त्रालयमा पत्रकार सम्मेलन गरेर कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणि खनालले कालिमाटी फलफूल तथा तरकारी बजार बन्द गर्नुपर्ने टिप्पणी गरेका हुन्। बजारमा अत्यधिक अनियमितता रहेको भन्दै उनले त्यसलाई बन्द गरेर अर्को बजार बनाउने योजनामा आफू रहेको बताएका हुन्।

केहि व्यक्तिहरुले स्टल सस्तोमा लिएर अरुलाई महंगो भाडामा लगाई लुट मच्चाउने क्रम रोक्न मन्त्रालयले कालिमाटी फलफुल, तरकारी बजारका ५७ वटा स्टललाई कारबाही गरेको जानकारी दिएका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै मन्त्री खनालले भने- ‘मलाइ त के लागेको छ भने कालिमाटी बजार बन्द नै गर्नुपर्छ । हामीले अनुगमन गर्‍यौं । ५७ वटा खारेज भएको थियो । तर अहिले २५ वटाले स्टे अडर लिएर आइसके । अवस्था यस्तो छ । त्यसकारण बन्द नै गर्नुपर्छ भन्ने लागेको छ । हामीले त्यसको विकल्प पनि खोजेका छौँ ।’

मन्त्री खनालले काठमाडौंमा बिक्रीका लागि राखिएका राँगा र भैंसीका मासुमध्ये ९० प्रतिशत खानलायक नभएको बताएका छन् । पत्रकार सम्मेलनमा उनले पाँचवटा राँगाभैंसीको बधशालामा अनुगमन गर्दा चारवटामा न्युनतम मापदण्ड पनि पूरा गरेको नपाइएकाले बन्द गरेको बताए ।

‘काठमाडौंमा उपलब्ध ९० प्रतिशत रागा र भैंसीका मासु खानलायक छैन । ५ वटामा अनुगमन गर्दा ४ वटा बन्द गरेका छौं, न्युनतम मापदण्ड पनि लागू गरेको पाइएन’ उनले भने । राँगाभैंसीको तुलनामा खसी र कुखुराको मासु केही सफा रहेको मन्त्री खनालले बताए ।

यता मन्त्रीको यो भनाईलाई थप पुष्टी गर्ने गरी कालिमाटी फलफुल तरकारी बजार ठूला व्यापारीहरुका लागि हव केन्द्रका रुपमा स्थापित हुँदै आएको छ, भने बजार विकास समितिले सो बजारलाई व्यवस्थित गर्न लागि छुट्टै नीति नियम बनाएको बताए पनि आफैले बनाएको नीति नियम पालना गराउन सकेको देखिँदैन ।

जसका कारण ठूला व्यापारीलाई मस्ती र साना किसानहरुलाई सास्ती भएको छ । बजारले एक डोको तरकारी वा साग बेच्ने किसानदेखि करोडौंको कारोबार गर्ने व्यापारीहरुलाई समेत विक्रीका लागि स्थान उपलब्ध गराएको भनिएपनि साना किसानहरु अझै पनि मारमा परेका छन् । साना किसानहरुका लागि उपलब्ध गराइएको भनिएको टहरामा पनि ठूला व्यापारीहरुले कब्जा जमाएको देखिन्छ ।

कालीमाटी बजार भित्र तरकारी तथा फलफूल विक्री केन्द्र जसको नाममा भाडामा उपलब्ध गराइएको छ त्यो उसैले व्यापार गर्नुपर्ने भएपनि सो क्षेत्रमा त्यसो भएको देखिँदैन ।

कालीकामाटी बजारमा स्थान ओगट्न केही ठेकेदारहरुको मिलेमतोमा हाल व्यवसाय सञ्चालन गरिरहेकाहरुले अन्त्यन्तै चर्को मूल्य भाडा तिरेर बस्नु पर्ने वाध्यता भएको साना व्यवसायीहरुले बताएका छन् ।

२०७५ असोज २४ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड