इमान्दार संवाददाता
३६४ पटक

काठमाडौं ।

काठमाडौंको मुलपानीस्थित एक जुवा खालमा शुक्रवार राती प्रहरीले छापा मारेर २३ जना जुवाडे पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंबाट डिएसपी होविन्द्र बोगटीको नेत्रृत्वमा खटिएको सादा पोशाकका प्रहरी टोलीले जुवा खालमा छापा हान्दै गरेको अवस्थामा झ्यालबाट हाम्फालेर भाग्ने क्रममा दुई जुवाडेको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कपन बस्ने सरोज घले र सिन्धुपाल्चोकको सिम्पलकाफ्ले–६ स्थायी घर भएका सोम लाल तामाङ रहेका छन् ।

मुलपानीको एक घरमा लामो समयदेखि ‘भीआईपी जुवा अखडा’ चलिरहेको सूचना पाएपछि राती १० बजेतिर सादा पोशाकका प्रहरी त्यहाँ पुग्दा जुवाडेहरु बाहिरी च्यानल गेटमा ताला लगाएर जुवा खेलिरहेका थिए ।

पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोकका दीपक तामाङ, सिन्धुपाल्चोककै ग्यासन लामा, सिन्धुपाल्चोककै नेम दोर्जे तामाङ, सुब्बा शेर्पा, विष्णु श्रेष्ठ, रवि थिङ, मंगले तामाङ, फुर्वा शेर्पा, दोर्जे घिसिङ र काजी तामाङ, हेटौंडाका पवन रानामगर, मकवानपुरकी सर्मिला खड्का, दोलखाका डेण्डु शेर्पा, चावहिलका लाक्पा शेर्पा र सर्लाहीका उमेश लामा रहेका छन् ।

त्यस्तै रामेछापका जकुमार बुढाथोकी, ललितपुरका केशर बहादुर गोले, धादिङका कृष्ण वि.क,  रेशम विश्वकर्मा र कृष्ण बहादुर सुनार, दोलखाका टेण्डु शेर्पा, रामेछापका बुद्ध तामाङ र मकवानपुरका  कुवेर सिंह थिङ रहेका छन् ।

त्यस्तै हुमा गुरुङ लगायत ४ जना महिलाहरुको सक्रियतामा सञ्चातिल उक्त जुवाअड्डाका घरधनी तेण्डु शेर्पालाई जुवा खेलाउन दिए बापत मोटो रकम दिने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रहरीले जुवाडेहरुको मोटरसाइकल र गाडी समेत बरामद गरेको छ । प्रहरीले जुवा खालबाट कौडा, तास, मदिराका बोतलसहित खुकुरी र तरबार समेत बरामद गरेको जानकारी दिएको छ ।

खालबाट ४ लाख ५८ हजार नगद बरामद गरिएको छ । उनिहरुलाई महानगरीय प्रहरी परिसर काठमाण्डुको हिरासतमा राखेर थप अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

२०७५ असोज २१ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड